Sunday 26th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

नवलपुरमा ट्रकमा पेट्रोल बम प्रहार, चालक घाइते

Monday, May 27, 2019 National Power

नवलपुर – पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपुरमा एक ट्रक र एक जिपमा पेट्रोल बम प्रहार भएको छ । पेट्रोल बम प्रहारबाट ट्रक चालक घाइतेसमेत भएका छन् । सोमबार बिहान २ बजेतिर मध्यबिन्दु नगरपालिका–११ दाउन्नेमा लु २ ख १०८ नम्बरको सिमेन्ट लोड गरेको ट्रकमा विप्लव समूहका कार्यकर्ताले पेट्रोल बम हानेको डन्डा प्रहरीले जनाएको छ ।

पेट्रोल बम प्रहारबाट ट्रक अनियन्त्रित भइ सडकबाट अन्दाजी ५ मिटर तल खसेर आगो लागेको थियो । घटनामा ट्रक चालक तनहुँको ब्यास नगरपालिका ४ बस्ने ३३ वर्षीय अमर विक घाइते भएका छन् । उनको ढाड र अनुहार जलेको छ । उनको स्थानीय मनकामना पोलिक्लिनिकमा उपचार भइरहेको छ । सहचालकको अवस्था भने सामान्य छ ।

घटनाबारे जानकारी पाएलगत्तै प्रहरी नायव निरीक्षक जनक बुढा नेतृत्वको टोलीले बिहान करिब ३ बजेतिर ट्रकमा लागेको आगो निभाएको थियो । घटनास्थल डण्डा प्रहरी चौकीबाट करिब १ किलोमिटर पूर्व पर्दछ । यसैगरी कावासोती नगरपालिका–१६ पत्थरखोला पुल नजिकै गुडिरहेको बा ३ च ९३ नम्बरको जिपमा पनि पेट्रोल बम प्रहार भएको छ । सोमबार बिहान करिब साढे ३ बजेतिर खाली जिपमा विप्लव समूहका कार्यकर्ताले पेट्रोल बम प्रहार गरेको प्रहरीले जनाएको छ । पेट्रोल बम प्रहारबाट जिपमा राखिएको त्रिपाल पूर्णरुपमा जलेको छ ।

यसैगरी नवलपुरकै बुलिङटार गाउँपालिका अध्यक्षको घर नजिक सिलिण्डर विष्फोट गराउने प्रयास असफल भएको छ । गाउँपालिका अध्यक्ष शशीकिरण बास्ताकोटीको घरभन्दा करिब ३०० मिटर पूर्व श्रीधर गिरीको खेतमा सिलिण्डर विष्फोट गराउने प्रयास गरिएको थियो ।

खेतमा मोटरसाइकलको टायर र दाउरा बालेर सिलिण्डर बिष्फोट गराउन खोजिएको तर सिलिण्डरको क्यापबाट ग्यास लिक भएर नपड्किएको प्रहरीले जनाएको छ । सिलिण्डर पड्काउने प्रयास कसले गरेको भन्ने खुलेको छैन । तर, यसमा पनि विप्लव समूहकै संलग्नता रहेको प्रहरीको अनुमान छ । बन्दका कारण पूर्वपश्चिम राजमार्गमा सवारी साधन चलेका छैनन् । नवलपुरका मुख्य बजार क्षेत्र पनि सुनसान छन् ।