Sunday 26th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

पाँचथर हत्याकाण्ड : संसदमा मागियो गृहमन्त्रीसँग जवाफ

Tuesday, May 21, 2019 National Power

काठमाडौं– प्रतिनिधिसभाका सांसदले पाँचथरमा सोमबार राति भएको घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कडा कारवाही गर्न माग गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा शून्य समयमा सांसद पुष्पा भुसालले सो घटनामा हत्या भएका निर्दोष नागरिकप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै घटनाका सम्बन्धमा छानबिन गरी दोषीलाई कानूनी कठघरामा ल्याउन सरकारको ध्यानाकर्षण गराइन् ।

उनले घटनामा बाँच्न सफल भएकी बालिकाको उचित उपचारको प्रबन्ध गर्न पनि आग्रह गरिन् । पाँचथरमा सोमबार राति भएको सो घटनामा अपरिचित समूहले दुई परिवारका नौ जनाको हत्या गरेको थियो । सांसद देवेन्द्रराज कँडेलले गृहमन्त्रीले सो घटनाका बारेमा सार्वजनिक रुपमा जवाफ दिनुपर्ने बताए । सांसद टेकबहादुर बस्नेतले सल्यानमा गत वैशाख २७ देखि यही जेठ ४ गतेसम्म लागेको वन डढेलोबाट तीन जनाको निधन भएको र ठूलो धनमालको क्षति भएको जानकारी दिँदै सो घटनामा निधन भएकाहरुको परिवारलाई राहत, घाइतेको उपचार र क्षतिपूर्ति भएकाको उचित व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराए ।

सांसद दिलेन्द्रप्रसाद बडूले एक महिनामा तरकारीको मूल्य दोब्बर भएको र बिचौलियाको बिगबिगी बढेको उल्लेख गर्दै यसलाई नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराए । सांसद देवप्रसाद गुरुङले पोखरामा नेपालसहित विभिन्न देशका सेना सम्मिलित सैनिक अभ्यास भइरहेको छ भन्दै यसले शक्ति राष्ट्रहरुको टकराव भइरहेको विश्व परिवेशमा कस्तो प्रभाव पर्छ भनी प्रश्न गरे ।

सांसद नमिताकुमारी चौधरीले सर्लाहीमा आगो लगाएर महिलाको हत्या भएको घटनाका सम्बन्धमा ध्यानाकर्षण गराउँदै मृतकका परिवारलाई उचित क्षतिपूर्ति र दोषीलाई कारवाहीको माग गरिन् । सांसद नरमाया ढकालले स्थानीय तहमा कर्मचारीको कमीका कारण काम गर्न चुनौती देखिएको छ भन्दै त्यसको उचित व्यवस्था गर्न माग गरिन् । सांसद नारदमुनि रानाले थारू समुदायमा बढी देखिएको सिकलसेल रोगको उपचारको उचित व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराए । सांसद नारायणप्रसाद मरासिनीले स्याङ्जामा सिद्धार्थ राजमार्ग क्षेत्रमा केही जनताले लालपूर्जा धितो राखेर ऋण लिन नपाएको भन्दै सरकारको ध्यानाकर्षण गराए ।

सांसद बालकृष्ण खाणले पेशागत हकहितको माग गर्दै आन्दोलनरत नर्स र अस्थायी शिक्षकको माग सुनुवाइ गर्न सरकारको ध्यानाकर्षण गराए । सांसद पार्वती डिसी चौधरीले पनि नर्सहरु पेशागत हकहितका लागि शान्तिपूर्ण आन्दोलनमा रहेको बेला प्रहरीबाट हस्तक्षेप भएको छ भन्दै नर्सका उचित मागको सुनुवाइ गर्न आग्रह गरिन् ।

सांसद पदमनारायण चौधरीले स्थानीय सरकारका कामकारवाहीप्रति निगरानीको आवश्यकता औंल्याए । सांसद पार्वतीकुमारी विशुङ्खेले दैलेखमा असिना र हावाहुरीबाट कृषि क्षेत्रमा भएको क्षतिपूर्तिप्रति ध्यानाकर्षण गराउँदै किसानलाई उचित राहतको व्यवस्था गर्न माग गरिन् । सांसद प्रमोद साहले सङ्घीयतानुसार बजेटको बाँडफाँट नभएको टिप्पणी गर्दै प्रदेशमा कर्मचारीको अभाव रहेको गुनासो गरे ।