Thursday 30th April 2026

    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न

कोसी टप्पुमा पानी चराको गणना शुरु

१४ जनाको टोलीले चराको गणना गर्ने
Sunday, January 6, 2019 National Power

इनरुवा – चरा र अर्नाका लागि प्रसिद्ध मानिने कोसी टप्पु वन्यजन्तु आरक्षको सीमसार क्षेत्रमा पाइने जलपक्षीको गणना शनिबारबाट शुरु भएको छ । सीमसार क्षेत्रमा पाइने चराको अवस्था पत्ता लगाउन कोसी टप्पु र यस आसपासका इलाकामा जलपक्षी (पानी चरा) को गणना शुरु भएको कोसी पक्षी समाज प्रकाशपुर सुनसरीका संयोजक अनिश तिम्सिनाले बताए ।

कोसी पक्षी समाज, हिमाली प्रकृति, नेपाल पक्षीविद् सङ्घ र कोशी टप्पु वन्यजन्तु आरक्षको अगुवाइमा पानी चराको गणना शुरु भएको हो । प्रत्येक वर्षको अङ्ग्रेजी महीना जनवरीमा गर्ने पानी चरा गणनामा शनिबार पहिलो दिन चतराको सप्तकोसी नदीदेखि कोसी टप्पु वन्यजन्तु आरक्षको उत्तरी सिमाना प्रकाशपुरसम्म गणना गर्ने उनले बताए ।

चराको वास्तविक अवस्था पत्ता लगाई यसको संरक्षणका लागि आगामी रणनीति तयार गर्न सरकारलाई सहयोग गराउने उद्देश्यले चराको गणना शुरु गरेको कोसी पक्षी समाजका सहसचिव सञ्जीव आचार्यले जानकारी दिए । सुनसरीको चतराबाट शुरु गरिएको चरा गणना कोसी टप्पु आसपासका क्षेत्रमा पाँच दिनसम्म चल्ने बताइएको छ ।

कोसी टप्पु आसपासका क्षेत्रमा चराको काम गर्दै आएका दुई समूहमा गरी जम्मा १४ जनाको टोलीले चराको गणना गर्ने कोसी पक्षी समाज प्रकाशपुर सुनसरीका संयोजक तथा चरा गणना समूहका संयोजक तिम्सिनाले बताए । चरा गणनाका लागि गणना टोलीले डुङ्गा, जिप सफारी, क्यामरा, दूरवीन, टेलिस्कोपलगायतका यन्त्र प्रयोग गरेर गणना गर्ने छ । कोसी टप्पुमा विगत सात वर्षदेखि पानी चरा गणना गरिँदै आएको छ ।

कोसी टप्पुमा पछिल्लो तथ्याङ्कअनुसार ५२६ प्रजातिको चरा रहेकामा सन् २०१८ मा गरिएको गणनाअनुसार ५६ प्रजातिका पानी चरा पाइएको गणना टोलीका संंयोजक तिम्सिनाले बताए ।