Thursday 30th April 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

काठमाडौंको तापक्रम शून्यमा झर्‍यो, बुधबार पानी पर्ने सम्भावना

Monday, December 31, 2018 National Power

काठमाडौं – काठमाडौं उपत्यकाको न्युनतम तापक्रम शून्यमा झरेको छ । मौसम पूर्वानुमान महाशाखाले सोमबार बिहान ८ः४५ मा गरेको रेकर्डअनुसार काठमाडौं उपत्यकाको तापक्रम ०.५ डिग्री सेल्सियस छ । तापक्रम घट्ने क्रम जारी रहने भएकाले चिसो अझै बढ्ने अनुमान मौसमविदको छ ।

मौसमविद् समिर श्रेष्ठ प्राकृतिक कारणसँगै जम्मु कास्मिरबाट नेपालतर्फ बहेको चिसो वायुले तापक्रम घटेको बताउँछन् । ‘हिउँद महिना चिसो हुनु प्राकृतिक कारण नै हो’, श्रेष्ठले भने, ‘तर देशभरी चिसो हृवात्तै बढ्नुमा जम्मु काश्मिरबाट नेपालतर्फ बहेको चिसो वायु बढी जिम्मेवार छ ।’  उनले यसबाहेकका सहायक कारणले पनि चिसो बढाइरहेको बताए ।

काठमाडौं उपत्यकाको तापक्रम निरन्तर ओरालो लागे पनि यस वर्ष माइनसमा झर्ने सम्भावना नरहेको मौसमविदको भनाइ छ । मौसमविद् श्रेष्ठ तापक्रम कतिसम्म पुग्छ भनेर अनुमान गर्न कठिन भए पनि यस वर्ष माइनसमै जाने सम्भावना कम रहेको बताउँछन् । ‘तापक्रम कतिसम्म पुग्छ भनेर अनुमान गर्न त सकिन्न । तर, विगतको इतिहास र यस वर्षको मौसम नियाल्दा काठमाडौंको तापक्रम माइनसमै झर्ने सम्भावना कम देखिन्छ,’ उनले भने ।

यसैबीच, मंगलबार र बुधबार देशका केही स्थानमा पानी पर्न सक्ने अनुमान मौसमविदहरुले गरेका छन् ।मंगलबार पहाडी भेगमा आंशिकदेखि सामान्य बदली भई विशेषतः पश्चिमी पहाडी भूभागको एक-दुई स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको मौसमविद श्रेष्ठले बताए ।बुधबार दिउँसो देशको पश्चिम तथा मध्य क्षेत्रका केही स्थानहरुमा हल्का वर्षा हुने र उच्च हिमाली भूभागका केही स्थानहरुमा हल्का हिमपात पनि हुने सम्भावना छ ।यसैगरी बुधबार राति देशका अधिकांश स्थानहरुमा आंशिकदेखि सामान्य बदली रही केही स्थानहरुमा हल्का वर्षा हुने मौसमविदको पूर्वानुमान छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार, अहिले देशकै सबैभन्दा बढी चिसो जुम्लामा छ । सोमबार बिहान ८ः४५ मा गरिएको रेकर्डअनुसार जुम्लाको न्यूनतम तापक्रम माइनस ५ डिग्री मापन भएको छ । दिउँसोको समयमा भने यहाँको तापक्रम बढ्ने गरेको छ । महाशाखाले दिउँसो यहाँको अधिकतम तापक्रम १४।४ पुग्ने प्रक्षेपण गरेको छ ।काठमाडौं र दिपायलमा पनि चिसोको मात्रा करिब करिब उस्तै छ । दिपायलको न्युनतम तापक्रम १।५ डिग्री सेल्सियस छ । सुर्खेत सदरमुकाम वीरेन्द्रनगरको न्यूनतम तापक्रम २।८ छ ।

देशका धेरैजसो क्षेत्रको न्युनतम ताक्रम ४ र ५ डिग्री सेल्सियसको बीचमा छ । ओखलढुंगामा ७ र धनकुटामा भने ६।६ डिग्री सेल्सियस छ ।विगत वर्षहरुमा तराई तथा मधेसमा पुस शुरु भएदेखि नै शीतलहर चल्ने गरेको थियो । यसकै कारण कैयनको ज्यानसमेत जाने गरेको थियो ।मौसम पूर्वानुमान महाशाखाका अनुसार, तराई तथा मधेसमा यस वर्ष शीतलहर अझै सुरु भइसकेको छैन । बाक्लो हुस्सु लागे पनि शीतलहर भइनसकेको मौसमविद् श्रेष्ठको भनाइ छ ।