Saturday 2nd May 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

सरकार र डाक्टर केसीबीच भएको सम्झौता कार्यान्वयन गर्न खबरदारी गरौं : अर्याल

Saturday, July 28, 2018 National Power

काठमाण्डौ –  गोविन्द केसीका तर्फबाट वार्ता टोलीको सदस्य रहेका अधिवक्ता ओमप्रकाश अर्यालले सरकार र गोविन्द केसीबीच भएको सहमति कार्यान्वयन गराउन खबरदारी गरिरहनुपर्ने बताएका छन् । उनले भने,‘डाक्टर केसी भनेको बलिरहेको दियो हो । हामीले त्यो दियोमा तेल थप्दै जानुपर्छ । उहाँसँग सरकारले गरेका सम्झौताहरु कार्यान्वयन गराउन हामीले खबरदारी गरिरहनुपर्छ।’


पत्रकार ऋषि धमलाले गोविन्द केसीको अनशनको विषयमा मिडियाको तर्फबाट व्यापक सकारात्मक भूमिका निर्वाह गरेको भन्दै अर्यालले गोविन्द केसीको तर्फबाट बधाई एवम् धन्यवाद ज्ञापन गरेका थिए ।

उनले भने,‘ऋषिजीले डाक्टरसापको अनशनको विषयलाई मिडियाको माध्यमबाट समाजमा बहसको विषय बनाईदिनुभयो। सत्य प्रकाश पारिदिनुभयो । जसका कारण समस्याको समाधान टाढा भएन । म वार्ता टोली र डाक्टर केसीको तर्फबाट ऋषिजीलाई धन्यवाद भन्न चाहन्छु । अब सम्झौता कार्यान्वयन गराउनपनि उहाँले यस्तै खालको भूमिका निर्वाह गर्नुपर्छ।’

डाक्टर केसीको अनशनलाई उदाहरणीय कामको संज्ञा दिँदै उनले भने,‘सत्याग्रहको उद्देश्य भनेको नै शरिरलाई पीडा हुन्छ तर आत्मा खुशी हुन्छ । सत्याग्रही कसैको डर वा प्रलोभनमा पर्दैन, डाक्टर केसीले त्यही बाटो समात्नुभयो।’ उनले वर्तमान शिक्षामन्त्री गिरिराजमणि पोखरेलको नैतिकता संकटमा परेको गुनासो पोखे । उनले भने,‘शिक्षामन्त्री यो पटक चुक्नुभयो, उहाको बोलीमा क्रुरता देखिन्थ्यो ।’

स्वयम् प्रधानमन्त्री केपी शर्मा ओलीले स्वार्थ समूहको घेराबाट बाहिर आएर केदारभक्त माथेमा र स्वतन्त्र समूहको कुरा सुनेको बताउँदै अर्यालले भने,‘प्रधानमन्त्रीले आँफैले पहल लिनुभयो र सहमति भयो । यो खुशीको कुरा हो । अब सम्झौता कार्यान्वयन हुनुपर्छ । हामी सबैको जित भएको छ ।’