Friday 1st May 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

वीरगञ्जलाई पानीले डुबायो, सरकारी हाकिम भन्छन्– डुब्नु स्वाभाविक

Monday, July 2, 2018 National Power

१८ असार, वीरगञ्ज – रातिदेखि भइरहेको अविरल वर्षाका कारण आर्थिक राजधानी वीरगञ्जको विभिन्न स्थान डुबानमा परेका छन् । वीरगञ्जको श्रीपुर, पानीट्यांकी, जिल्ला प्रशासन कार्यालय पर्सा परिसर, नगवा, रामगढवा लगायतका क्षेत्रहरु डुबानमा परेका हुन् । वीरगञ्जको मुख्य बजार आदर्शनगर क्षेत्र, कृष्ण अस्पताल, नारायणी अस्पताल आसपासका क्षेत्रमा समेत पानीको निकास रोकिएका कारण सर्वसाधारणले सास्ती ब्यहोरेका छन् ।

वर्षाको पानी नालाबाट राम्रोसँग निकास नभएपछि कतिपयको घर तथा पसलहरुमा पनि पानी पसेको छ । घर तथा पसलबाट निस्कने फोहोरहरु जथाभावी सडक र नालामा नै फाल्ने गरिएको कारण नाला जाम भएर वर्षेनी पानी पर्नेवित्तिकै वीरगञ्जका अधिकांश सडकहरु तालमा परिणत हुने गरेका छन् ।

नगर क्षेत्रमा एकीकृत मझौला सहरी वातारण सुधार परियोजना अन्तर्गत नाला निर्माणको काम सम्पन्न भइसकेका ठाउँमा समेत पानीको निकास नभएको गुनासो नगरबासीले गरेका छन् । वर्षेनी नगर क्षेत्र डुबानमा पर्ने गरेको भएपनि समस्या समाधानका लागि महानगरपालिकाले ठोस योजना ल्याउन नसकेको नगरबासीको गुनासो छ । सडकमा पानी जमेका कारण विशेषगरी पैदल स्कुल जाने स–साना बालबालिकाहरु समस्यामा परेका छन् ।

वीरगञ्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डा। भिष्म कुमार भुषालले भने समथर भू–भाग भएका कारण पानी जम्ने समस्या देखिएको बताए । ‘समथर जमिन छ, पानी पर्दै गएपछि नदीको बहाव बढ्छ, स्वाभाविक रुपमा केही समय पानी त जम्छ नै,’ उनले भने, ‘बिहानैदेखि सरसफाई कर्मचारीहरुलाई फोहोरले जाम भएको नाला खोल्न लगाइएको छ । आवश्यक उपककरणहरु समेत तयारी अवस्थामा राख्न भनिएको छ ।’

सरसफाई शाखाका सरफुद्धिन मियाँले कतिपय स्थानमा फोहोरले नाला जाम भएका कारण पानीको निकास नभएको तर फोहोर हटाइदिएपछि पानीको निकास भएको जानकारी दिए । ‘आदर्शनगर क्षेत्रमा पनि परियोजनाले पानीको निकासका लागि राखेको प्वालहरुमा फोहोर जमेको थियो, हामीले गएर फोहोर हटाइदिएपछि पानीको निकास सुरु भएको छ । वीरगञ्जको मुख्य सडकका विभिन्न स्थानमा पनि त्यस्तै समस्या देखियो,’ उनले भने । पानी निरन्तर परिरहेकाले केही समय पानी जम्नु स्वाभाविक भएको उनको भनाइ छ ।