Friday 1st May 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

५० वर्ष अघिको कथा सानो पर्दामा

Friday, April 13, 2018 National Power

काठमाडौं – अविरल बग्दछ ईन्द्रावती, मौन आकाश, सहयात्री, कोरस लगायतका हिट टेलिसिरियल बनाएका निर्देशक बद्रि अधिकारीले निर्देशन गरेको टेलिचलचित्र मानव नयाँ बर्षको छेको पारेर बैशाख १ गतेबाट प्रसारणमा आउने भएको छ । सामाजिक कथामा निर्माण गरिएको टेलिचलचित्र मानव जनता टेलिभिजनमा हरेक शनिवार राति ८ः४५ बजे प्रसारणमा आउन लागेको हो । मदन पुरस्कार प्राप्त वरिष्ठ साहित्यकार मोदनाथ प्रश्रितको महाकाव्य मानवमा आधारित भएर निर्देशक अधिकारीले मेगा टेलिचित्रका रुपमा मानव निर्माण गरेका हुन् । टेलिचलचित्र मानवलाई जनता टेलिभिजनले नै निर्माण गरेको हो ।

झण्डै आधा दर्जन फिल्म निर्देशन गरिसकेका बद्रि अधिकारीले मानवलाई सामाजिक भावनामा बनाइएको बताए । उनले अहिलेको परिवर्तित समयमा पनि ग्रामीण भेगमा मात्र नभएर शहरमा समेत अझै छुवाछुत, भेदभाव र जातीय दमनका अवशेष यथावत रहेको दाबी गरे । उनले भने–मानव–मानवबीच विद्यमान उत्पीडनको कथा टेलिश्रृंखला मानवमा रहेको छ । एक मानवले अर्को मानवलाई दिएको मानवीय पीडा माथिको यथार्थ मानव मार्फत देखाएका छौं ।

निर्देशक अधिकारीका अनुसार टेलिश्रृंखला मानवले पाँच दशक अघिको नेपाल र सामाजिक अवस्थालाई चित्रण गरिनेछ । अझै अवशेषमा रहेको पश्चिम नेपालको ग्रामीण भेगको रुढीवादी, छुवाछुतको कथा मानवमा देखाइएको उनले जानकारी दिए ।  आम मानिसहरुको जीवनशैलीमा परिवर्तन आएपनि सोंच भने पुरातन रहेकोले मानव अहिलेको परिवेशमा पनि उत्तिकै सान्दर्भिक रहेको निर्देशक अधिकारीले बताए ।  यस्तै टेलिभिजनका महाप्रबन्धक लक्ष्मण हुमागाइले पछिल्लो समयमा हाँस्य चलचित्र र व्यापारका नाममा बनाइएका मसलाप्रधान चलचित्र हेरिरहेका दर्शकहरुको लागि मानव फरक स्वाद हुने बताएका छन् । टेलिश्रृंखला मानव आम दर्शककालागि नेपाली सामाजिक ईतिहासको एउटा अध्यायको रुपमा समेत रहने बताए । सामाजिक उत्तरदायित्वबोध गर्दै गुणात्मक र सार्थक टेलिश्रृंखलाको उदाहरण स्वरुप टेलिभिजनकै लगानीमा मानव निर्माण गरिएको महाप्रबन्धक हुमागाइँले बताए ।

५५ भागको टेलिश्रृंखला मानवमा सुशील पोखरेल, अस्मिता बस्नेत, श्याम खड्का, शारदा अधिकारी, लक्ष्मण विक्रम बस्नेत, अञ्जान शर्मा, अर्जुन न्यौपाने, आना देउजा, शिशिर शिवाकोटी, उमा बाँनिया, कमल बोहरा र किशोर कोईराला लगायतका कलाकारहरुको अभिनय रहेको छ । मोदनाथ प्रश्रितको महाकाव्यमाथि निर्माण गरिएको मानवको लेखन निर्देशक अधिकारी आफैंले गरेका हुन् भने सागर खड्का र विरेन्द्र भट्टले खिचेका छन् । दीपेन्द्र दोङ तामाङ कार्यकारी निर्माता हुन् । यस्तै प्रमुख सहायक निर्देशक किशोर कोईराला, सम्पादन हरि सिलवाल, संगीत शिलाबहादुर मोक्तान, गीत राजेन्द्र थापा, स्वर दीप श्रेष्ठ र शारदा अधिकारीको रहेको छ ।