काठमाण्डौ- भोली भाद्र २० गतेबाट प्रदर्शन हुने भनिएको चलचित्र चिट्ठीको प्रदर्शन निर्माण कम्पनीले हाललाई स्थगन गरेको छ । चलचित्र चिट्ठीको प्रदर्शनका लागी उपयुक्त शो र समय प्रदान नगरेको भन्दै हाललाई शोहरु स्थगन गरिएको निर्माताहरुले जनाएका छन् । निर्देशक माधब राज खरेलले दर्शकहरुसँग क्षमा माग्दै भनेका छन् “हामीले वाचा गरे अनुरुप यहाँहरु सामु चलचित्रलाई प्रदर्शन गर्न असमर्थ भयौं । हामी अत्यन्तै दुःखी छौं र यहाँहरुको असुविधाका लागि हृदयदेखि क्षमा पनि चाहन्छौं ।”
कलाकार, निर्माण कम्पनी तथा बितरक शोहरु रोक्नु पर्दा दुःखी भएका छन् । पछिल्लो समय नेपाली चलचित्रहरुलाई शोहरु कमदिने गरेको पाईएको छ ।
निर्माण कम्पनीले निकालेको प्रेस बिज्ञप्ती यस प्रकार रहेको छ ।
मितिः २०८२ भाद्र १९
आदरणिय दर्शक महानुभावहरु,
चलचित्र प्रदर्शकज्यूहरु, शुभेच्छुक एवम् सञ्चारकर्मी साथीहरु ।
विषयः प्रदर्शन स्थगन गरिएको सम्बन्धमा ।
उपरोक्त सम्बन्धमा, यस कम्पनीद्धारा निर्मित एवम् कुवेर सिने डिष्ट्रिव्युसनद्धारा बितरित मिति २०८२ भाद्र २० गते देखी प्रदर्शनमा आउन लागेको चलचित्र चिट्ठीको प्रदर्शन हाललाई स्थगन गरिएको ब्यहोरा जानकारी गराउन चाहान्छौ ।
हाम्रो अथक मेहनत र सपना बोकेको चलचित्र “चिट्ठी” को प्रदर्शन भोलि अर्थात् भाद्र २० गतेदेखि देशव्यापी रूपमा रिलिज गर्ने योजना हामीले बनाएका थियौ । तर, अत्यन्तै दुःखका साथ सूचित गर्न चाहन्छौं कि यस चलचित्रको निर्धारित शोहरू समयमा प्राप्त गर्न सकिएनन्, कतिपय हलहरूले शो नै नदिएको वा दिँदा पनि अफ–टाइम मात्र दिएको अवस्थाले गर्दा हामी बाध्य भएर चलचित्रको तत्कालीन प्रदर्शन स्थगित गर्ने निर्णय गर्नुपरेको छ । हामी सबै कलाकार, प्राविधिक, निर्माता–निर्देशकको टिम दिनरात खटेर यो चलचित्रलाई तपाईंहरूसम्म ल्याउने सपना बोकेका थियौं । तर, यथार्थपरक परिस्थितिले हाम्रो त्यो सपना केही समयका लागि रोकिएको मात्र हो ।
हामीलाई थाहा छ, धेरै दर्शकले ‘चिट्ठी’ हेर्ने उत्साह देखाउनुभएको थियो । तपाईंहरूको त्यही माया र साथले हामीलाई अझ बलियो बनाएको छ । आगामी दिनमा नयाँ मितिसहित अझ प्रभावकारी रूपमा प्रदर्शनमा ल्याउने छौं भन्ने दृढ विश्वास दिलाउन चाहन्छौ ।
हामीले अथक प्रयास गर्दा गर्दै पनि चलचित्र चिट्ठीको प्रदर्शनका लागी उपयुक्त शो र समय प्रदान नगर्नु शो स्थगन गर्नुको प्रमुख कारण रहेको छ । हामी आदरणिय दर्शकहरुसँग क्षमा चाहान्छौ कि हामीले वाचा गरे अनुरुप यहाँहरु सामु चलचित्रलाई प्रदर्शन गर्न असमर्थ भयौं । हामी अत्यन्तै दुःखी छौं र यहाँहरुको असुविधाका लागि हृदयदेखि क्षमा पनि चाहन्छौं ।
हाल सम्म तपाईंहरूले दिनुभएको साथ, माया र धैर्यको लागि हार्दिक धन्यवाद व्यक्त गर्दछौं ।