काठमाण्डौ- नेपाली नारीहरुको महान पर्व हरितालिका तीज नजिकिंदै गर्दा तीज सँग सम्बन्धित गीतका भिडियोहरु पनि सार्वजनिक भईरहेका छन् । कतिपय तीज गीत द्विअर्थी, अमर्यादित र छाडा भएको, त्यस्ता गीतले विकृति फैलाएको र समाजलाई अश्लिलतातर्फ धकेलिरहेको भन्ने आवाज संस्थागत एवं व्यक्तिगत रुपमा समेत उठिरहेको बेला विशुद्ध मनोरञ्जनात्मक, पारिवारिक, सामाजिक तथा हाँस्य प्रधान तीज गीत ‘भाँडा बजाउने’ को भिडियो बजारमा आएको छ ।
लोकप्रिय सङ्गीतकार गायक नरहरि प्रेमी र पछिल्लो समयकी चर्चित गायिका दिपिका बयम्बूको स्वर रहेको यो गीत पुष्पा पौडेलले रचना गरेकी हुन् । सङ्गीत उदियमान सङ्गीतकार अनिल श्रेष्ठको र सङ्गीत संयोजन तथा मिक्सिङ तथा माष्टरिङ कृष्ण बाजुरालीको रहेको छ । गीतको रेकर्डिङ कार्य ‘म्युजिक एरा’ स्टुडियोमा भएको हो ।
बहुआयामिक छवि बनाएका सङ्गीतकार गायक नरहरि प्रेमीले गायनका साथै अभिनय पनि आफैंले गर्न भ्याएका छन् । यस गीतको भिडियोमा जसमा उनलाई गीतकार पुष्पा पौडेलले साथ दिएकी छिन् । हाँस्य रसको मिठासले भरिपूर्ण यो म्युजिक भिडियो निकै मनोरञ्जक पनि छ । गायक तथा संगीतकार नरहरि प्रेमीको अभिनय दक्षतासंग धेरैजसो दर्शक परिचित नै छन् , तथापि यो ‘भाँडा बजाउने’ गीतको भिडियो हेरिरहँदा नरहरि कुनै चलचित्रमा हाँस्य पात्रको रुपमा अभिनय गरिरहेको जस्तो लाग्छ । त्यसो त पुष्पा पौडेलको अभिनय पनि कम छैन । दुबै कलकारहरुको अभिनय सशक्त र सन्तुलित रहको छ । म्युजिक भिडियोको निर्देशक राजकुमार हुन् । उनको निर्देशकीय भूमिकाको विशेष र अहम् महत्व रहेको कुरा सहजै अड्कल काट्न सकिन्छ । निर्देशन संगसंगै सम्पादनमा पनि खरो उत्रिएका छन् राजकुमार ।
तीज आउन अझै केही समय बाँकी भएता पनि यो ‘भाँडा बजाउने’ गीत सुन्दा र हेर्दा तीज हाम्रो घर दैलोमै आईपुगेको हो कि जस्तै छनक पाइन्छ । भिडियो सुन्दर देखिनुमा क्यामेरा पर्सन खेम थापाको र मेकअप आर्टिष्ट बिमला सापकोटाको कला कौशलको महत्वलाई पनि नजरअन्दाज गर्न मिल्दैन । यो तीज गीत र भिडियो श्रुति सङ्गीत विद्यालयको प्रस्तुति रहेको छ ।