समिर लामा/ काठमाण्डौ– गैरआवासीय नेपाली संघ (एनआरएनए) पोर्चुगलको हालै सम्पन्न निर्वाचनले सुजन लामा मोक्तानलाई २०२५-२०२७ कार्यकालका लागि अध्यक्ष पदमा निर्वाचित गर्दै नयाँ नेतृत्वको सुरुवात गरेको छ । पेशाले पर्यटन व्यवसायी तथा अन्तर्राष्ट्रिय अनुभवले भरिपूर्ण मोक्तानको विजयले एनआरएनए पोर्चुगलमा नयाँ ऊर्जा, स्वच्छ दृष्टिकोण र युवामुखी नेतृत्वको संकेत दिएको छ ।
त्रिभुवन विश्वविद्यालयबाट व्यवसाय व्यवस्थापनमा स्नातकोत्तर गरेका मोक्तानले भारत, दुबई, अष्ट्रिया र जर्मनीमा पर्यटन व्यवस्थापन तथा ग्लोबल डेस्टिनेसन सस्टेनेबिलिटी सम्बन्धी उच्चस्तरीय तालिम लिएका छन् । नेपालमै सात वर्ष पर्यटन, कर्पोरेट र बैंकिङ क्षेत्रसँग जोडिएर काम गरिसकेका उनी पछिल्लो दशकदेखि पोर्चुगलको लिस्बनमा पर्यटन तथा सामाजिक अभियन्ताका रूपमा सक्रिय छन् । आफ्नो कार्यकालमा नेपाल–पोर्चुगल सम्बन्ध सुदृढ गर्ने योजना राखेको भन्दै मोक्तानले भने“ “एनआरएनए एउटा नाफारहित संस्था हो । त्यसलाई विवादमुक्त, पारदर्शी र नेपाली डायस्पोराको साझा थलो बनाउने हाम्रो उद्देश्य हो,” मोक्तानको अध्यक्षीय कार्ययोजना नेपाल र पोर्चुगलबीचको सम्बन्धलाई सांस्कृतिक, सामाजिक र आर्थिक क्षेत्रमा फैलाउने दिशामा केन्द्रित छ ।
विशेषगरी, पोर्चुगलको पर्यटकीय बजारबाट नेपालमा गुणस्तरीय टुर प्याकेजमार्फत पर्यटक पठाउने, नेपाली दूतावास र पोर्चुगिज संस्थाहरूसँग सहकार्य गरी संयुक्त कार्यक्रम गर्ने, सामाजिक मनोपरामर्श (काउन्सेलिङ) कार्यक्रममार्फत नेपाली समुदायमा एकता, समझदारी र समावेशी सोचको विस्तार गर्ने, युवाहरूलाई शिक्षा र रोजगारीको क्षेत्रमा वैधानिक मार्गदर्शन प्रदान गर्ने, र गैरराजनीतिक, सफा छविका अभियन्ताहरूलाई एनआरएन अभियानमा जोड्ने प्रतिबद्धता उनले व्यक्त गरेका छन् ।
मोक्तानले संस्थाभित्र गुटबन्दी, स्वार्थ र सत्ता मोहका कारण संस्थाको प्रतिष्ठामा आँच पुगेको स्वीकार गर्दै अब समय व्यक्तिगत फाइदा होइन, साझा भविष्य मा केन्द्रित हुनुपर्नेमा जोड दिएका छन् । साथै संस्था सधैं हाम्रो घरजस्तो हुनेछैन । त्यसैले आज गरिने कामहरू पारदर्शी, उत्तरदायी र दीर्घकालीन सोचले गरिनुपर्ने बताए । सुजन लामा मोक्तान एचएलसी संयोजक डा. शेष घलेद्वारा मान्यता प्राप्त अधिवेशनबाट अध्यक्षमा निर्वाचित भएका हुन् । यसलाई एनआरएनए पोर्चुगलको पहिलो वैधानिक निर्वाचनका रूपमा समेत चिनिएको छ ।
मोक्तानले अब एनआरएनएको नाममा हुने कुनै पनि अनियमितता, मानव तस्करी, वा स्वार्थपूर्तिको खेल अब स्वीकार्य नहुने भन्दै एक दशक लामो अन्तर्राष्ट्रिय अनुभव र नेपालको गाउँदेखि अन्तर्राष्ट्रिय मञ्चसम्मको समझ राख्ने आफ्नोे प्रमुख लक्ष्य रहेको भन्दैे नेपाललाई विश्वको एक प्रमुख पर्यटन गन्तव्य बनाउने तर्फ विशेष जोड दिने समेत बताएका छन् । उनले एनआरएनए पोर्चुगलमार्फत “नेपाल भ्रमण वर्षको पुनःघोषणा” गर्ने सन्देशसहित विभिन्न संवाद, प्रदर्शन र अवार्ड कार्यक्रमहरू आयोजना गर्ने तयारी पनि गरिरहेका छन् । एनआरएनए पोर्चुगलमा सुजन लामा मोक्तानको आगमनले युवा नेतृत्वको सम्भावना, प्रस्ट दृष्टिकोण र संस्थागत सुधारको अपेक्षा बोकेको देखिन्छ ।