Saturday 18th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

१५ सदस्यीय कार्यसमिति चयन गर्दै राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानको दोस्रो वार्षिक साधारणसभा सम्पन्न

Monday, July 7, 2025 National Power

काठमाण्डौ- राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानको दोस्रो वार्षिक साधारणसभाले १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ। राजेन्द्र बजगाईको अध्यक्षता एवं विशिष्ट गीतकार राजेन्द्र थापाको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त साधारणसभाबाट नारायण थापा अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् भने दीपक शर्मा वरिष्ठ उपाध्यक्षमा निर्विरोध निर्वाचित भएका छन्।

त्यस्तै, सुजाता के.सी. उपाध्यक्षमा सहमतिमा चयन हुनु भएको छ भने सनम कठायत महासचिव पदमा निर्विरोध निर्वाचित हुनु भएको छ। रिता के.सी. सचिवमा सहमतिका आधारमा चयन हुनु भएको हो। बेनिश पौडेल महिला सचिव र प्रतिक्षा काफ्ले कोषाध्यक्षमा निर्विरोध निर्वाचित भएका छन्। अन्य निर्वाचित सदस्यहरूमा मनोज परियार, वीरेन्द्र सिंह भाट, कोपिला शिवाकोटी, पार्वती बम, गीता पाण्डे, सुभाष तिम्सिना, प्रमोद डि.जी. र प्रज्वल राज भट्ट रहेका छन्। १७ सदस्यीय कार्यसमितिमा बाँकी रहेका २ सदस्य नयाँ कार्यसमितिबाट चयन गरिनेछ।

कार्यक्रम अनामनगरस्थित किम्ची रेस्टुरेन्टको सभाहलमा भव्य रूपमा सम्पन्न भएको थियो, जसमा संस्थाका संस्थापक सल्लाहकार राजु सिंह, डा.टिका भण्डारी, चलचित्र निर्देशक माधव राज खरेल, संगीतकार संघका अध्यक्ष अष्ट लामा, गीतकार डा.ओमकृष्ण प्रसाईं, बी.बी. थापा, राजेन्द्र लुईटेल लगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा नवनिर्वाचित अध्यक्ष नारायण थापाले गीत–संगीतमा देखिएको विकृति र विसङ्गतिलाई नियन्त्रण गर्न कटिबद्ध भएर लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। त्यसैगरी, महासचिव सनम कठायतले पछिल्लो समय कलाकर्मीहरूमा देखिएको नैराश्यताको अन्त्य गर्न केही रचनात्मक कार्यक्रमहरूको थालनी गर्ने, श्रष्टाहरूको स्वास्थ्यलाई प्राथमिकतामा राखी सिङ्गो कलाकर्मी वर्गको हित हुने कार्यक्रमहरू सुरु गर्ने तथा स्वास्थ्य बीमा लगायतका सामाजिक कार्यहरूमा संस्था क्रियाशील रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।

प्रतिष्ठानका संस्थापक तथा निवर्तमान अध्यक्ष राजेन्द्र बजगाईले नवनिर्वाचित कार्यसमितिले प्रतिष्ठानको गौरव बढाउने विविध प्रभावकारी तथा रचनात्मक कार्यहरू गर्नेमा पूर्ण आशावादी रहेको बताउनुभयो। साथै, सम्पूर्ण नवनिर्वाचित पदाधिकारीहरूले आ–आफ्नो तहबाट समर्पित भएर श्रष्टामुखी कार्यहरू गर्दै जाने दृढ प्रतिवद्धता व्यक्त गर्नुभएको छ।