Wednesday 22nd April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

नेपाल-अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२५: फिल्मको सूची सार्वजनिक

Tuesday, May 27, 2025 National Power

काठमाण्डौ – मेरिल्याण्डमा आयोजना हुने नेपाल-अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२५ मा प्रदर्शन हुने फिल्मको सूची सार्वजनिक भएको छ । लाइनअपमा बर्लिनको मुख्य प्रतिस्पर्धामा छनोट मीनबहादुर भाम निर्देशित ‘शाम्बाला’देखि दीपक रौनियार निर्देशित ‘राजागञ्ज’ र विनोद पौडेल निर्देशित ‘भूठान’ लगायत छन् । ओपनिङ फिल्मको रुपमा ‘शाम्बाला’ तय छ ।

जुन महिनाको २६ देखि २९ सम्म हुने महोत्सवमा नेपाल, अमेरिका, इरान, मेक्सिको, साउदीसहित १५ देशका कथानक, वृत्तचित्र, छोटा चलचित्र र एनिमेसन गरी ३१ फिल्म प्रदर्शन हुनेछन् । महोत्सवको उद्घाटन र समापन मेरिल्याण्डस्थित एएफआई सिल्भर थियटरमा हुनेछ । ४ दिनसम्म चल्ने महोत्सवका फिल्म भने एएफआई सिल्भर थिएटरका साथै ग्रिनबेल्ट सिनेमा थिएटरमा समेत प्रदर्शन हुने जनाइएको छ ।

महोत्सवमा प्रदर्शनका लागि आवेदन परेका मध्येबाट अमेरिका, नेपाल र दक्षिण अफ्रिकाका फिल्मकर्मीको छनोट समितिले फिल्म छनोट गरेको हो । ओपनिङ फिल्मको रुपमा रहेको ‘शाम्बाला’को स्क्रिनिङ एएफआई सिल्भर थियटरमा जुन २६ मा हुनेछ । क्लोजिङ फिल्मको रुपमा फिल्म ‘राजागञ्ज’ छ । समापन समारोह २९ जुनमा सोही स्थानमा हुनेछ ।

‘भूठान’को रेडकार्पेटसहित स्क्रिनिङ हुनेछ जहाँ निर्देशक, कलाकार, निर्माता तथा निर्माण टोलीका सदस्य पनि हुनेछन् । ग्लोबल पिस फिल्म फेस्टिभल, फ्लोरिडासँगको सहकार्यमा यो वर्ष अमेरिकी निर्देशक स्यामुएल जर्जको ‘लिथियम राइजिङ : द रेस फोर क्रिटिकल मिनिरल’ र निर्देशक ओल्ह बर्लान्दिनोको ‘द वार ट्रायल’ गरि दुई फिल्म प्रदर्शन हुनेछन् ।

सुविना श्रेष्ठ निर्देशित अन्तराष्ट्रिय महोत्सवमा प्रशंसा भएको वृत्तचित्र ‘देवी’ र अन्तर्राष्ट्रिय चर्चित निर्देशक फराह कस्सेम निर्देशित वृत्तचित्र ‘वि आर इनसाइड’ पनि महोत्सवमा प्रदर्शन हुनेछन् । प्रिन्स जर्ज काउन्टीका स्थानीय निर्देशक चका बलामानीको फिल्म ‘अ क्रिष्टमस बोनस’ लगायतका फिल्म डीएमभी–क्लोजअप अन्तर्गत प्रदर्शन हुनेछन् ।

प्रदर्शन गरिएका मध्येबाट उत्कृष्ट फिल्मलाई विभिन्न अवार्डबाट पुरस्कृत गरिनेछ । पुरस्कार छनोटको लागि निर्णायक मण्डलको नाम भने केहि दिनमा सार्वजनिक गरिने आयोजकले जनाएको छ । महोत्सव अवधिमा चलचित्र र संस्कृतिबारे प्यानल छलफलका साथै र चलचित्र निर्माणबारे ‘मास्टर क्लास’ पनि हुनेछ । मेरिल्याण्ड राज्यको पाक्र्स तथा योजना आयोगको सहयोगमा उक्त छलफल हुने जनाइएको छ ।

‘हामीले यो वर्ष पनि यस्ता उत्कृष्ट फिल्म महोत्सवमा ल्याउन पाउँदा हामी अत्यन्त खुसी छौं । यी फिल्मले विभिन्न देशका मानव संस्कृति, संघर्ष, सहअस्तित्व र खुसीको कथाहरूको प्रतिनिधित्व गर्दछन । यो महोत्सव तपाई हामी सबैको हो’ महोत्सव निर्देशक युवाकर राजकर्णिकारले भने । नेपाल-अमेरिका फिल्म सोसाइटीले वर्षेनी फेस्टिभल आयोजना गर्दै आएको छ । सोसाइटीका प्रमुख पूर्णसिंह बराइलीले यसवर्षको संस्करणलाई भव्य तुल्याइने बताए ।