Friday 13th March 2026

    नेशन्स गट ट्यालेन्ट सिजन २ भव्यताका साथ सम्पन्न    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee

नेपाली कांग्रेसको महामन्त्रीमा नैनसिंह महरको उम्मेदवारी

Monday, March 31, 2025 National Power

काठमाण्डौ  – नेपाली कांग्रेसको १५औं महाधिवेशनका लागि नैनसिंह महरले महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका छन्। भातृसंस्थाहरू हुँदै कांग्रेसका सबै निर्वाचनमा भारी मतले विजयी हुँदै आएका महर अहिले महामन्त्री पदका लागि पनि अब्बल उम्मेदवारका रूपमा देखिएका छन्।

तीस वर्ष लामो नेविसंघको राजनीतिबाट आएका नैनसिंह महर २०७८ सालमा १४ एजेन्डासहित कांग्रेसको केन्द्रीय राजनीतिमा प्रवेश गरे। पार्टीका कतिपय नेताहरूले केन्द्रीय समितिमा लामो समय बिताएर व्यक्तित्व निर्माण गरिरहँदा, महरले छोटो समयमा नै आफ्ना काममार्फत अलग पहिचान बनाउन सफल भएका छन्।

२०७९ सालको निर्वाचनमा काठमाडौं ४ को टिकट पाएका महरले पार्टी नेतृत्वको अनुरोधमा उक्त अवसर अरू नेतालाई सहयोगका लागि सुम्पिए। त्यसबेलादेखि नै महामन्त्री पदका लागि तयारी थालेका उनले हालसम्म ७४ जिल्लाको भ्रमण सकेका छन् भने बाँकी जिल्लाहरूमा पुग्ने तयारी गरिरहेका छन्।

हाल नेपाली कांग्रेसको शिक्षा विभाग प्रमुखका रूपमा रहेका महरले शिक्षा नीति निर्माणमा विशेष भूमिका निर्वाह गरिरहेका छन्। उनले १६५ निर्वाचन क्षेत्र, ६७४३ वडामा करिब १० लाख नागरिकसँग नीति संवाद गर्दै आएका छन्। उनको नेतृत्वमा रहेको शिक्षा विभाग अहिले पार्टीको सबैभन्दा गतिशील र प्रभावशाली विभागका रूपमा स्थापित भएको छ।

डडेलधुरा निवासी महर २०४७ सालमा १६ वर्षको उमेरमा असीग्राम माविको नेविसंघ इकाइ अध्यक्ष भए। २१ वर्षको उमेरमा डडेलधुराको कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हाले। २०५६ सालमा जिल्ला अध्यक्ष बने भने २०५७ मा नेविसंघ केन्द्रीय सदस्य भए। २०६४ मा उपाध्यक्ष निर्वाचित भई २०७३ सालको ११औं महाधिवेशनमा नेविसंघ केन्द्रीय अध्यक्ष बन्न सफल भए। हाल उनी ‘स्कूल अफ डेमोक्रेसी’ का अध्यक्ष पनि हुन्।

१. एक व्यक्ति, एक पद, दुई पटक मात्र २. प्रशिक्षण र मापदण्डका आधारमा क्रियाशीलता ३. सरकार र पार्टी सञ्चालनका लागि थिंक ट्यांकको स्थापना ४. बिपी विचारको समयसापेक्ष कार्यान्वयन ५. व्यवहार, आचरणमा शुद्धता र आर्थिक पारदर्शिता ६. रूपान्तरणका लागि युवा कांग्रेसको स्थापना ७. नेतृत्वको आवधिक कार्ययोजना महाधिवेशनमै ८. लोकतन्त्रको संस्थागत विकास, असल नेतृत्व र कुशल व्यवस्थापन ९. योगदानमा आधारित जिम्मेवारी, मूल्यांकनमा आधारित सम्मान १०. निःशुल्क स्वास्थ्य, शिक्षा, सर्वसुलभ यातायात र सञ्चार, गुणस्तरीय जीवनका आधार ११. लगानीमैत्री वातावरण, उद्यमशीलता र स्वरोजगार, अर्थतन्त्रमा सुधार १२. विविधताको सम्मान, रीतिरिवाज र मौलिकताको पहिचान १३. कानुनी राज्य, मानव अधिकार, सुशासन र सहभागिता १४. राष्ट्रिय स्वार्थ केन्द्रित विदेश नीति

नैनसिंह महर पार्टी नेतृत्वको बैसाखी टेकेर होइन, आफ्नै बलबुतामा नेतृत्व स्थापित गर्ने व्यक्तित्वका रूपमा उदाएका छन्। उनका एजेन्डाहरूले नेपाली कांग्रेसभित्र नयाँ सोच र सुधारको संकेत गरिरहेका छन्। महामन्त्री पदका लागि उनको उम्मेदवारी नेपाली कांग्रेसमा संस्थागत सुधार, पारदर्शिता, र युवा नेतृत्वको प्रवद्र्धन गर्ने दिशामा महत्वपूर्ण हुने अपेक्षा गरिएको छ।