Thursday 20th March 2025

    आजदेखि आठौं संस्करणको निफ महोत्सव    हिमवत्खण्ड कला-साहित्य-संस्कृति सम्मेलन २०८१ भव्य रूपमा सम्पन्न    निफ महोत्सवमा सहभागी हुन ५० बढी अन्तराष्ट्रिय चलचित्रकर्मीहरु नेपाल आउने क्रम सुरु    एपिक अवार्डमा शोभा पाण्डे, सुष्मा शाही ठकुरी र अमृत खाती उत्कृष्ट    होली पर्वको अवसरमा KTMडाउनटाउनको म्युजिक भिडियो सार्वजनिक

हिमवत्खण्ड कला-साहित्य-संस्कृति सम्मेलन २०८१ भव्य रूपमा सम्पन्न

Thursday, March 20, 2025 National Power

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले हिमवत्खण्डमा रहेका मानिसहरूको जेनेटिक मेमोरीको अध्ययन, अनुसन्धान हुनुपर्ने बताउनुभयो । हिमवत्खण्ड कला-साहित्य-संस्कृति सम्मिलन २०८१ को समापन समारोहमा प्रधानमन्त्री ओलीले पुर्खाहरूको ज्ञान विशद् रहेको उल्लेख गर्दै ती विद्वान पुर्खाको जीन र जिनेटिक मेमोरी अहिलेका मानिसमा भएकोले तिनको अध्ययन हुनुपर्ने बताउनुभएको हो ।

‘मलाई पुनर्जन्ममा विश्वास छैन तर एउटा बीजबाट अर्काे रुख पैदा हुने खालको पुनर्जन्ममा मलाई विश्वास छ’, उहाँले भन्नुभयोे, ‘एउटा ठुलो वृक्षको बीज सानो हुन्छ । त्यसबाट ठूलो वृक्ष पैदा हुन्छ । हाम्रो संस्कृति, ज्ञानको बीज सानो थियो, सानैबाट अहिले विशाल शाखा प्रशाखा, सुन्दर फुलहरू फुलेका छन् । असाधारण योगदान हाम्रा पूर्वजले गर्नुभएको हो । हाम्रा पुर्खाले एउटा लहरा समातेर माथि जाने गरी तयार पारेको ज्ञान हामीमा पनि छ । त्यस्ता अनेकन ज्ञान, विज्ञान हाम्रो जेनेटिक मेमोरीमा छ । त्यसलाई बाहिर ल्याउन खोज अनुसन्धान हुनुपर्छ ।’

अन्य देशका मानिसले आफ्नो परम्परागत ज्ञानको खोज, अनुसन्धान गरी पेटेन्ट राइट बनाउन थालेको उल्लेख गर्दै नेपालले पनि यो काम गर्न ढिला भइसकेको उहाँले सुनाउनुभयो । विविधतामा एकता कायम गर्दै राष्ट्रिय एकता गर्दै जाने राष्ट्रिय आवश्यकता रहेको समेत उहाँले बताउनुभयो । त्यस्तै नेपाली भाषालाई समृद्ध बनाउन आगन्तुक भाषाका शब्दलाई पनि सुहाउँदो किसिमले आफ्नो भाषा समृद्ध हुने गरी अँगाल्नुपर्नेमा उहाँले जोड दिनुभयो । उहाँले भन्नुभयो, ‘शब्दहरू पनि बुहारी जस्तै हो । हाम्रो बनेर आएपछि आगन्तुक भाषाका शब्दलाई ससम्मान स्वीकार्नु पर्छ । त्यसलाई हामीले बहिष्कार गर्न सक्दैनौँ । सजिलो गरी बुझ्ने खालले आफ्नोपन झल्किने गरी अँगाल्नु पर्छ ।’

बरिष्ठ कवि, मुन्धुमविद् तथा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति बैरागी काइँलाले नेपालभित्र होस् या नेपालबाहिर रहेका नेपालीलाई एकसूत्रमा बाँधेको नेपाली भाषाले नै रहेको बताउनुभयो । घरमा मातृभाषामा बोले पनि सम्पर्क भाषाको रुपमा नेपाली भाषाको प्रयोग गरिरहेको समेत उहाँले बताउनुभयो । उहाँका अनुसार हाम्रा लोकगाथा, लोकज्ञानको खोजी गर्न यस किसिमको सम्मेलनको आवश्यक थियो । बैरागी काइँलाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘साहित्यमैत्री’को संज्ञा दिनुभयो । उहाँले भन्नुभयोे, ‘यस्तो साहित्य लेख्ने प्रधानमन्त्री हामी कलाकार, साहित्यकारहरूले पाएका छौँ, यो हाम्रो भाग्यको कुरा हो ।’

काशी हिन्दु विश्वविद्यालय वाराणसी, भारतका भारतीय भाषा विभागका अध्यक्ष तथा आचार्य प्रा.डा. दिवाकर प्रधानले काशी र नेपालको पुरानो सम्बन्ध रहेको बताउनुभयो । उहाँका अनुसार विश्वका विभिन्न स्थानमा बसोबास गर्ने मानिसलाई नेपाली भाषा र संस्कृतिले बाँधेको हुन्छ, त्यस्तै काशी विश्वविद्यालयले भाषा शुद्धिकरण गर्ने र नेपाली भाषाको मौलिकता विकसित हुन दिनका लागि काम गरिरहेको समेत उहाँले बताउनुभयो । ‘हामीले यतिविघ्न शब्द भुलिसकेछौँ, आफ्नो भुलेर अर्काको ल्याउने गरिरहेका छौँ’, उहाँले भन्नुभयो, ‘यसलाई जोगाउन सबै नेपालीहरू सँगसँगै जाऊँ, वैमन्स्यता नगरौँ ।’

मदन भण्डारी कला-साहित्य प्रतिष्ठानका अध्यक्ष डा. विजय सुब्बाले हिमवत्खण्ड कला साहित्य संस्कृति मञ्च गठन गरेको सुनाउनुभयो । जसमा नेपाल लगायत भारत, चीन, बंगलादेश, भुटान, म्यानमार, थाइल्याण्डका पनि प्रतिनिधि समेटिने उहाँले बताउनुभयो । सम्मिलनलाई राजनीतिक पार्टीको काम भनेर लान्छना लगाइएको उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘हामी सबै विचारमा संलग्नहरूको साझा बुँदा लोकसंस्कृतिमा हामीले छलफल गर्‍यौ । एउटा कुवा बनायौँ । यसबाट सिँचाइ गर्ने प्रयत्न गर्नेछौँ ।’

सांस्कृतिक अतिक्रमणको चपेटामा परिरहेको संस्कृतिलाई जगेर्ना गर्न यो सम्मिलनले महत्वपूर्ण योगदान दिएको नेपाल टेलिभिजनका पूर्व महाप्रबन्धक तथा सार्वजनिक सेवा प्रशारण संस्थाका बोर्ड अफ डाइरेक्टर्स फूलमान बलले बताउनुभयो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यक्रममा कविता वाचनसमेत गर्नुभएको थियो । ओलीले कार्यक्रममा बस्दै गर्दा लेखेकोे कविता सुनाउनुभएको हो । हिमवत्खण्डको महिमाको वर्णन गर्दै उहाँले ‘अञ्जुलीभित्र सजाएर राखेको नेपाल’ कविता वाचन गर्नुभएको थियो । हिमवत्खण्ड अगाडि बढ्ने बाटो खोजिरहेको भाव उहाँले कवितामा उतार्नुभएको थियो । प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘कविता चाहिँ लेखेको होइन, यसभित्र कविता चाहिँ छ । अलि खोज्नुपर्छ ।’

कार्यक्रममा कवि साहित्यकार श्रवण मुकारुङले ‘मेखबहादुरको खुकुरीले मान्छे काट्दैन’, मोमिला जोशीले ‘मात्र एउटा हाँगा काटे पनि…….’, भारतस्थित असमका रुमी लस्कर बोराले ‘तिम्रा लागि’, बेलायतका रक्ष राईले डायस्पोरिक कविता ‘छोरोलाई चिठ्ठी’, बिना थिङले ‘आगोको ठेगाना’, दार्जिलिङका विजय वान्तवा कैलाशी ‘बा’, रत्नावली शर्माले छन्द कविता, बुढानीलकण्ठ नगरपालिकाका उपमेयर अनिता लामाले ‘ओ अटककुमार’ शीर्षकको कविता वाचन गर्नुभएको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पाँच वर्षअघि चन्द्रागिरीमा लेखेको कविता दिनेश डिसीले कार्यक्रममा वाचन गर्नुभएको थियो ।
कार्यक्रममा प्राध्यापक केशव सुवेदीले ‘काठमाडौँ घोषणापत्र’ प्रस्तुत गर्नुभयो । उहाँले हिमवत्खण्डको ज्ञान, विज्ञान र परम्परालाई विस्तार गर्दै लैजाने, सहअस्तित्व कायम गर्ने, हिंसा रोक्न आह्वान गर्ने, मानवीय मूल्य प्रवद्र्धन अभियान जारी राख्ने, हिमवत्खण्डमा रहेको दर्शन, साहित्य, चिन्तन, संस्कृतिको उत्खनन्, जगेर्ना गर्ने, वनविनास, भूक्षय, बाढीलगायत प्रकोप रोकथाम गर्न प्रयास गर्ने, नेपाली भाषाको मौलिकतालाई कायम राखी मानकीकरण गर्न प्रयास गर्ने लगायत १७ बुँदा घोषणा गर्नुभएको थियो ।

बुढानीलकण्ठ नगरपालिकाका मेयर मिठाराम अधिकारीले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा प्रधानमन्त्रीले मुख्य प्रायोजकहरूलाई मायाको चिनो प्रदान गर्नुभएको थियो । समापनअघि ‘संस्कृति र समृद्धि’ विषयमा परिसंसाद कार्यक्रम भएको थियो । कार्यक्रममा बुढानीलकण्ठ नगरपालिकाका मेयर मिठाराम अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा उपमेयर अनिता लामा, संस्कृतिविद् मल्ल के सुन्दर र नेपाल पर्यटन बोर्डका प्रवन्धक सूर्य थपलियाले समृद्धिका लागि संस्कृतिको भूमिका बारे विचार व्यक्त गर्नुभएको थियो । परिसंवादको सहजीकरण बिना थिङले गर्नुभएको थियो ।

यसैगरी ‘सञ्चारमाध्यममा भाषा’ विषयक परिसंवाद कार्यक्रम समेत भएको थियो । उक्त कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्व प्राज्ञपरिषद् सदस्य प्रा.डा. हेमनाथ पौडेल, सार्वजनिक सेवा प्रसारण नेपालका बोर्ड अफ डाइरेक्टर्स फूलमान वल, अन्नपूर्ण पोष्ट दैनिकका प्रधानसम्पादक अखड भण्डारी र सहप्राध्यापक डा. गीता त्रिपाठीले बहस गर्नुभएको थियो । उक्त कार्यक्रमको सहजीकरण मोहराज शर्माले गर्नुभएको थियो ।

चैत १ गते राष्ट्रिय सभा गृहमा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा समुद्घाटन भएको कार्यक्रमको पहिलो दिनको दोस्रो सत्रमा नेपालका लोकसंस्कृति, दोस्रो दिन बिहान नेपालबाहिर नेपाली लोकसंस्कृति र साँझ सांस्कृतिक उत्सव भएका थिए भने तेस्रो दिन बिहान नेपालबाहिरका नेपाली लोकसंस्कृति अर्को सत्रमा हिमवत्खण्डको महिमा र संस्कृति विषयमा गोष्ठी गभएको थियो । तीन दिनसमम चलेको सम्मिलनमा भारत, चीन, बंगलादेश, भुटान, म्यानमार, थाइल्यान्ड, चीनको तिब्बत, हङकङ र बेलायतका स्रष्टा-अन्वेषकहरूको सहभागिता थियो ।