काठमाडौं- चलचित्र विकास बोर्डमा आयोजित तीन दिने महिला चलचित्र महोत्सव सम्पन्न भएको छ । बोर्ड अन्तर्गतको महिला चलचित्रकर्मी सशक्तीकरण समितिले फेस्टिभल आयोजना गरेको थियो । तेस्रो तथा अन्तिम दिन विहीबार सामाजिक संस्था माइती नेपालकी अध्यक्ष अनुराधा कोइराला प्रमुख अतिथिको रुपमा सहभागि हुनुभएको थियो । महोत्सवको उद्घाटन काठमाडौं महानगरकी उपप्रमुख सुनिता डंगोलले गर्नुभएको थियो ।
महोत्सवमा ऐतिहासिक नेपाली चलचित्र ‘सिन्दूर’ प्रदर्शन गरिएको थियो । यो चलचित्रका कलाकारको मुहारचित्र ललितकलाका विद्यार्थीले तयार पारेका थिए । महोत्सवको दोस्रो दिन पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्मा प्रमुख अतिथि हुनुहुन्थ्यो । सो दिनमा महिलाले महिलाको विषयमा निर्माण गरेका लघु चलचित्र देखाइएको थियो । सो अवसरमा निर्देशक र कलाकार रेखा थापा, स्वस्तिमा खड्कासँग छलफल गरिएको थियो ।
विहीबार महिलाप्रधान नाटक ‘दृश्य परिदृश्य’ मञ्चन गरिएको थियो । घरेलु चलचित्रको विकासमा योगदान पुर्याएबापत सात जना महिला स्रष्टालाई सम्मान अर्पण गरिएको छ । अभिनेत्रीहरू करिश्मा मानन्धर, रश्मी भट्ट, सरिता साह, पशुपति राई, थिन्ले ल्हामो, पत्रकार गीता अधिकारी र मेकअप कलाकार शोभा श्रेष्ठलाई सम्मान अर्पण गरिएको हो ।
समापन समारोहमा नेपाली फिल्म उद्योगका वरिष्ठ तथा चर्चित कलाकार, निर्देशक, संगीतकार, निर्माता, तथा पत्रकारहरूको उल्लेखनीय उपस्थिति थियो । कार्यक्रममा बसुन्धरा भुसाल, भुवन चन्द, चैत्यदेवी, शम्भुजीत बासकोटा, दीपकराज गिरी, दिपाश्री निरौला, जीतु नेपाल, राजभाई सुवाल, मोहन निरौला, निर्मल शर्मा, जनकदीप पराजुली, रविन्द्र खड्का, सुचित्रा श्रेष्ठ, रक्षार्सिह राणा, प्रदीप खड्का, केकी अधिकारी, यम बराल, सविन श्रेष्ठ, अनु शाह, विद्या कार्की लगायतका व्यक्तित्वहरूको उपस्थिति थियो ।
महिला सशक्तिकरण समितिको यो पहलले नेपाली चलचित्र क्षेत्रमा महिलाको योगदानलाई सम्मान गर्दै आगामी दिनहरूमा थप सशक्तिकरणका कार्यक्रमहरू आवश्यक रहेको सन्देश प्रवाह गरेको छ । महोत्सवमा उपस्थित चलचित्रकर्मी तथा अतिथिहरूले कार्यक्रमको प्रशंसा गर्दै यसको निरन्तरताको कामना गरेका थिए । महिला चलचित्रकर्मी सशक्तिकरण समितिको संयोजकमा केकी अधिकारी र सदस्यहरूमा सञ्चारकर्मी गीता अधिकारी चलचित्रकर्मी स्वस्तिमा खड्का, नम्रता खरेल, सरस्वती घिमिरे, दुर्गा परियार, कल्पना आचार्य र निर्मला चौलागाईं हुनुहुन्छ ।