Friday 24th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

नेपाल चलचित्र कलाकार संघको वार्षिक पुरस्कार: वरिष्ठ कलाकारहरू सम्मानित हुने

Wednesday, March 5, 2025 National Power

काठमाडौं – नेपाल चलचित्र कलाकार संघले हालै सम्पन्न कार्यकारिणी समितिको बैठकमार्फत कलाकारहरूलाई प्रदान गरिने वार्षिक पुरस्कार तथा सम्मानको घोषणा गरेको छ।

संघका अध्यक्ष मोहन निरौलाद्वारा जारी विज्ञप्तिमा नेपाल चलचित्र कलाकार संघले लामो समयदेखि अभिनय क्षेत्रमा योगदान पु¥याएका कलाकारहरूको सम्मानस्वरूप ‘नेपाल चलचित्र कलाकार संघ पुरस्कार’ प्रदान गर्दै आएको जानकारी दिइएको छ। वि.सं. २०५५ मा श्रीमती बसुन्धरा भुसालको अध्यक्षतामा स्थापना भएको उक्त पुरस्कार यस वर्ष निम्न व्यक्तित्वहरूलाई प्रदान गरिने निर्णय भएको छ।

यस वर्ष वि.सं. २०७८ को नेपाल चलचित्र कलाकार संघ पुरस्कार,  पाँच दशकदेखि अभिनयमा सक्रिय चरित्र अभिनेता श्री मुकुन्द किसोर भट्टराई, वि.सं. २०७९ को नेपाल चलचित्र कलाकार संघ पुरस्कार, चार दशकदेखि अभिनय क्षेत्रमा क्रियाशील चरित्र अभिनेता श्री लय संग्रौला र वि.सं. २०८० को नेपाल चलचित्र कलाकार संघ पुरस्कार, चार दशकदेखि अभिनयमा संलग्न अभिनेता श्री पुरण जोशी सम्मानित हुने भएका छन् ।

त्यस्तै, संघका संस्थापक संयोजक स्व. शान्ती मास्केको स्मृतिमा वि.सं. २०६८ मा श्री रमेश बुढाथोकीको अध्यक्षतामा स्थापित ‘स्व. शान्ती मास्के स्मृति पुरस्कार’ यस वर्ष वरिष्ठ अभिनेत्री श्री गौरी मल्ललाई प्रदान गरिनेछ, जसले चार दशकदेखि अभिनयमा महत्वपूर्ण योगदान दिँदै आउनुभएको छ।

नेपाल चलचित्र कलाकार संघ पुरस्कारको राशी रु. ७५,००० रहेको छ। यस पुरस्कारबाट विगतमा नीर शाह, बसुन्धरा भुसाल, भुवन चन्द, शिव श्रेष्ठ, मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, रमेश बुढाथोकी, रविन्द्र खड्का, लक्ष्मी गिरी, शर्मिला मल्ल, हरिहर शर्मा, शकुन्तला शर्मा लगायत विशिष्ट कलाकारहरू पुरस्कृत भइसकेका छन्। त्यस्तै, स्व. शान्ती मास्के स्मृति पुरस्कारको राशी रु. ५६,००० रहेको छ, जसअन्तर्गत यसअघि मदनदास श्रेष्ठ, आर.पी. पन्त, मिथिला शर्मा बोहरा लगायत विशिष्ट कलाकारहरू पुरस्कृत भइसकेका छन्।

यस वर्षदेखि संघले दिवंगत कलाकार गोपाल राउतको स्मृतिमा ‘स्व. गोपाल राउत स्मृति पुरस्कार’ पनि प्रदान गर्ने निर्णय गरेको छ। अमेरिकामा रहनुभएका कलाकार लक्ष्मी शर्माले संघलाई प्रदान गरेको रु. ३ लाखको अक्षयकोषबाट प्राप्त व्याजबाट प्रत्येक वर्ष रु. १०,००० पुरस्कारस्वरूप प्रदान गरिनेछ। यस वर्ष यो पुरस्कार चार दशकदेखि अभिनयमा सक्रिय कलाकार श्री रामकाजी घिमिरेलाई प्रदान गरिनेछ।

त्यस्तै, संघले प्रत्येक वर्ष प्रदान गर्दै आएको विशेष सम्मान यसपटक डा. रुपक घिमिरे, अभिनेता धिरेन शाक्य, सञ्चारकर्मी कृष्ण भट्टराई, कलाकार गीता अधिकारी, अभिनेत्री अनु शाह र एयरसेल ट्राभललाई प्रदान गरिने निर्णय गरेको छ। यी सबै पुरस्कार तथा सम्मान चैत ४ गते आयोजना हुने नेपाल चलचित्र कलाकार संघको वार्षिक साधारण सभामा प्रदान गरिनेछ।