Monday 2nd March 2026

    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट

‘विलोल शब्द वल्लरी’ कवितासंग्रह र तीन गीतका भिडियो विमोचन

Thursday, February 20, 2025 National Power

काठमाडौं- पोखरेलको कवितासंग्रह ‘विलोल शब्द वल्लरी’ र तीन गीतका भिडियो लोकार्पण गरिएको छ । बुधबार काठमाडौंमा एक विशेष समारोहबीच मिलाप मासिकको आयोजनामा उक्त कृतिहरूको लोकार्पण गरिएको हो । स्रष्टा विलोलकी माताश्री धरणी पोखरेलको प्रमुख आतिथ्यतामा भएको समारोहमा बरिष्ठ कलाकार कृष्ण मल्ल, नेपाल चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला, बरिष्ठ कलाकार लय संग्रौला, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)का पूर्व अध्यक्ष राधेश्याम लेकाली, गीतकार संघका अध्यक्ष वसन्त वित्यासी थापा, स्रष्टा पोखरेल र मिलापका सम्पादक कृष्ण भुसालले उक्त कृतिको लोकार्पण गर्नुभएको थियो । कृतिको लोकार्पणसँगै डा.विलोलका शब्द रचना रहेका ‘शहीदको रगतले होली खेल्न दिन्न’, ‘यो देशको माटोले तिमीलाई बोलाई राखेको छ’ दुई राष्ट्रिय भावका गीत र एक आधुनिक गीत ‘चिरा चिरा भो मुटु’को भिडियो प्रदर्शन गरिएको थियो । गीतकार एवं निर्देशक गणेश सुवेदीले सहजीकरण गर्नुभएको उक्त कार्यक्रममा सञ्चारकर्मी स्वस्तिका पन्थीले स्वागत मन्तव्य राख्नुभएको थियो भने शोभना पौडेलले कविता वाचन गर्नुभएको थियो ।

कार्यक्रममा आफ्ना भनाइ राख्दै स्रष्टा विलोलले विदेशमा वस्ता पनि देशमा रहेपनि मन सधै स्वदेशमै रहने गरेको बताउँदै गीत, संगीत, गायन, अभिनयमा आफ्नो रुची रहेकोले सिर्जना आइरहेको बताउनुभयो । लेख्दा लेख्दै थुप्रै कविता लेखेको सुनाउँदै ति सबैलाई क्रमशः पाठकमाझ ल्याउने उद्देश्यले ‘विलोल शब्द वल्लरी’ भाग-१ सार्वजनिक गरिएको जानकारी दिनुभयो । अन्य कृतिपनि क्रमशः आउँदै जाने उहाँले प्रतिवद्धता व्यक्त गर्नुभयो । भावहरू, अनुभवहरू, कथाहरू आफ्नै भाषामा व्यक्त गर्ने चेष्टा गरेको सुनाउनुभयो । ‘यो भान्सले मीठा व्यन्जन पस्कन सकेन होला । तर, पनि मिठो मानेर अलिकति भुटेको करेलो मैले पस्के, घ्यू, चास्नी, कुराउनी, सखर थपेर मिठो बनाउने जिम्मा यहाँहरूको’, उहाँले भन्नुभयो ।

शुभकामना मन्तव्य राख्दै वरिष्ठ कवि महेश प्रसाईंले विलोल आफ्नो बाल्यकालदेखिको साथी रहेको बतउँदै उहाँका कवितामा नेपाली माटोको सुगन्ध रहेको जिकिर गर्नुभयो । यस्तै गीतकार संघका अध्यक्ष वसन्त थापाले गीतकार व्यक्तित्व डा. विलोलको सक्रिय गीत लेखनको प्रशंसा गर्दै संघमा जोडिन आग्रह गर्नुभयो । वरिष्ठ कलाकार लय संग्रौलाले डा. विलोल र आफ्नो सम्बन्ध र सहकार्यको चर्चा गर्दै वर्तमान राजनीतिले निराशा बनाएको चर्चा गर्नुभयो । उहाँले डा. विलोलका सिर्जनाले आशाको सञ्चार गरेको जिकिर गर्नुभयो ।

अनेसासका पूर्व अध्यक्ष राधेश्याम लेकालीले आफू अध्यक्ष हुँदा डा. विलोलसँग केही कार्यक्रममा सहकार्य गरेको चर्चा गर्दै उहाँका रचनामा राष्ट्रप्रेमसँगै समाज र माया प्रेमको अभिव्यक्ति रहेको बताउनुभयो । लेकालीले ‘विलाल शब्द वल्लरी’मा रहेको एक कविता पनि वाचन गर्नुभएको थियो ।

कार्यक्रममा वरिष्ठ कलाकार कृष्ण मल्लले डा. विलोल आफ्नो अत्यन्त पुरानो अभिन्न मित्र, सुख दुःखको साथी रहेको भन्दै उहाँ नेपालमा रहँदा पनि विभिन्न सामाजिक कृयाकलापमा सकृय रहेको चर्चा गर्नुभयो । कलासंस्कृति, साहित्य, चलचित्र र धार्मिक कुरालाई आत्मसाथ गर्दै हिँड्ने डा. पोखरेल विसं. २०४१ सालमा कलाकारहरूले स्थापना गरेको सामाजिक संस्था ‘अभियान’मा महासचिव रहेर उहाँले गरेका कार्यको चर्चा गर्नुभयो । त्यस्तै डा. विलोले प्रशिद्ध टेलिफिल्म ‘टाढाको बस्ती’ तथा ‘चक्रव्युह’मा प्रमुख भूमिका निर्वाह गरेको उहाँले जानकारी गराउनुभयो ।

कार्यक्रमकी प्रमुख अतिथि स्रष्टाकी माता धरणी पोखरेलले आफूले शिक्षण पेशमा रहँदाका अनुभव सुनाउँदै कुनैै पनि सन्ततिका सकुर्मले अभिभावकलाई सुखानुभुति हुने बताउनुभयो ।

कार्यक्रमको समापन गर्दै मिलापका सम्पादक कृष्ण भुसलाले साहित्यिक व्यक्तित्व डा. विलोलका सिर्जनाको चर्चा गर्दै मिलापले गरेका गतिविधिका बारेमा बताउनुभएको थियो । विगत १५ वर्षदेखि निरन्तर मिलाप प्रकाशन गर्दै आएको बताउँदै उहाँले विभिन्न व्यक्तित्वहरूको साथ सहयोगको साथले यसलाई अन्तर्राष्ट्रिय म्यागजिन बनाउन सफल भएको दाबी गर्नुभयो ।

सो अवसरमा डा. विलोलका गीतका भिडियोमा संलग्नका साथै अतिथिलाई मायाको चिनो प्रदान गरिएको थियो । कार्यक्रममा साहित्य, गीत, संगीतका साथै विभिन्न क्षेत्रका विशिष्ठ व्यक्तित्वहरूको बाक्लो उपस्थिति रहेको थियो । कविता संग्रह ‘विलोल शब्द वल्लरी’मा ९२ कविता संग्रहीत छन् । १४८ पेजको यो कृतिलाई जेनीश इन्टरटेन्मेन्ट मिडिया प्रा.लि.ले प्रकाशन गरेको हो ।