Thursday 20th March 2025

    आजदेखि आठौं संस्करणको निफ महोत्सव    हिमवत्खण्ड कला-साहित्य-संस्कृति सम्मेलन २०८१ भव्य रूपमा सम्पन्न    निफ महोत्सवमा सहभागी हुन ५० बढी अन्तराष्ट्रिय चलचित्रकर्मीहरु नेपाल आउने क्रम सुरु    एपिक अवार्डमा शोभा पाण्डे, सुष्मा शाही ठकुरी र अमृत खाती उत्कृष्ट    होली पर्वको अवसरमा KTMडाउनटाउनको म्युजिक भिडियो सार्वजनिक

बैरागी काइँला नागरिक अभिनन्दन ग्रन्थ लोकार्पण तथा प्रतिभा सम्मान र पुरस्कार अर्पण

Monday, February 17, 2025 National Power

काठमडौं- नेपाल प्रज्ञा-प्रतिष्ठानका पूर्वकुलपति, वरिष्ठ कवि तथा मुन्धुमविद् बैरागी काइँलासम्बन्धी ग्रन्थ लोकार्पण गरिएको छ । नेपाली प्रतिभा प्रतिष्ठान बेलायतले हालै राजधानीमा एक कार्यक्रम आयोजना गरी ‘बैरागी काइँला नागरिक अभिनन्दन ग्रन्थ’ लोकार्पण गरेको हो । ग्रन्थको लोकार्पण काइँलासहित डा. गोविन्दराज भट्टराई, डा. अभि सुवेदी, राससका महाप्रवन्धक सिद्धराज राई, समाजसेवी मकरध्वज वनेमलगायतले लोकार्पण गर्नुभएको थियो । प्रतिष्ठानद्वारा दुई वर्षअघि धरानमा काइँलालाई नागरिक अभिनन्दन गरेको थियो ।

समारोहमा नेपाली भाषा-साहित्य र कलामा उल्लेखनीय योगदान पुर्‍याउने दुई सर्जकलाई सम्मान र पुरस्कार अर्पण गरिएको थियो । ताप्लेजुङ निवासी राजेश्वर थापालाई प्रतिभा सम्मान र सिक्किम निवासी सन्ध्या सिङजाङगो सुब्बालाई प्रतिभा पुरस्कार अर्पण गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि बैरागी काइँलाले थापालाई माला, टोपी, सम्मानपत्रसहित ५० हजार नगद रुपैयाँ र कार्यक्रमका सभापति टंक वनेमले दोसल्ला ओढाएर सम्मान थापालाई गर्नुभएको थियो । सुब्बालाई सम्मानपत्रसहित एक लाख नगद रुपैयाँसहित पुरस्कार प्रदान गरिएको थियो ।

काइँलाले सम्मानित र पुरस्कृत सर्जकहरूलाई शुभकामना दिँदै पुरस्कृत सर्जक सुब्बाको उपनाम ‘सिङजाङगो’को बारेमा चर्चा गर्नुभयो । ‘नेपालीमा धसिङघरे अर्थ लाग्ने भए पनि लिम्बु भाषामा सिङजाङगोको अर्थ मगमगाइरहने फूल हो । छोटो समयमै लेखनमार्फत सुब्बा मगमगाइरहनुभएको छ’, उहाँले भन्नुभयो ।

दुई वर्षअघि धरानमा प्रतिष्ठानबाट आफू अभिनन्दित हुँदाको स्मरण गर्दै उहाँले भन्नुभयो, ‘नागरिक अभिनन्दनको निम्ति म योग्य थिएँ कि थिइनँ, उहाँहरूले योग्य सम्झेर सम्मान दिनुभयो । यसको निम्ति आभारी छु । हिसाब गर्दा पनि कविताको संख्या तीस जति होला । उमेर धेरै भए पनि काम त्यति धेरै गरेको छैन जस्तो लाग्छ ।’ उहाँले तेस्रो आयामको कुरा उठाउँदै भन्नुभयो, ‘कविता लेख्दा गाली खाइयो, तर जसको आलोचना हुन्छ ऊ स्थापित हुँदो रहेछ । अहिले पनि केही नेताहरू आलोचित हुँदै स्थापित हुँदैछन । हाम्रो तेस्रो आयामलाई स्थापित गर्न समालोचक अभि सुवेदीको ठूलो हात छ ।’
समालोचक डा. अभि सुवेदीले काइँला र तेस्रो आयामेली चिन्तनको बारेमा चर्चा गर्नुभएको थियो ।

समालोचक प्राडा. गोविन्दराज भट्टराईले बैरागी काइँलालाई मुन्धुम र साहित्यका लागि पूर्वको मुक्कुमलुङ भएको बताउनुभयो । उहाँले अङ्ग्रेजीमा अनुवाद गरिएको काइँलाका १५ ओटा कवितको पाण्डुलिपि प्रतिभा प्रतिष्ठानका अध्यक्ष वनेमलाई हस्तान्तरण गर्नुभएको थियो । प्रतिष्ठानका संस्थापक अध्यक्ष वरिष्ठ कवि, कथाकार तथा चिन्तक रक्ष राईले संस्थाका गतिविधिमाथि प्रकाश पार्नुभएको थियो । बैरागी काइला नागरिक अभिनन्दन ग्रन्थका एक सम्पादक प्रदीप मेन्याङबोले काइँलाका बारेमा लेख्न जो कोहीले आँट नगर्ने बताउँदै ग्रन्थ तयार गर्न धेरै दुःख गरेको बताउनुभयो ।

पुरस्कृत सर्जक सुब्बाले काइँलाबाट सम्मान पाउँदा खुसी व्यक्त गर्दै प्रतिष्ठानप्रति आभार व्यक्त गर्नुभयो । उहाँले काइँलाबाट एघार वटा मुन्धुमको पुस्तक अनुवाद गर्ने अनुमति पाएको बताउनुभयो । सम्मानित सर्जक थापाले प्रतिष्ठानप्रति आभार व्यक्त गर्दै आफूले कहिल्यै सम्मानको अपेक्षा नगरी लेखेको बताउनुभयो । उहाँले लेखक तथा अनुसन्धानकर्ताहरूको दुःख सुनाउँदै ताप्लेजुङका लिम्बूहरूको बारेमा किताब लेखिरहेको जानकारी दिनुभयो ।

कार्यक्रमका सभापति टंक वनेमले बेलायत बसेर पनि नेपाली भाषा, कला र संस्कृतिलाई जोगाउन सर्जकहरूलाई प्रोत्साहन दिइरहेको बताउनुभयो । जिविकोपार्जनका लागि नेपालीहरू जुन जुन देश पुगेपनि नेपाली भाषा कला संस्कृति भुल्न नसक्ने बताउनुभयो । कार्यक्रमको सहजीकरण प्राज्ञ शशी लुमुम्बूले गर्नुभएको थियो ।