Tuesday 18th March 2025

    निफ महोत्सवमा सहभागी हुन ५० बढी अन्तराष्ट्रिय चलचित्रकर्मीहरु नेपाल आउने क्रम सुरु    पाँचौं संस्करणको एपिक अवार्डमा वसुन्धरा भुसाललाई दीर्घ साधना सम्मान अर्पण    होली पर्वको अवसरमा KTMडाउनटाउनको म्युजिक भिडियो सार्वजनिक    एनआरएनए: उद्देश्यविहीन दौडधूपले संस्थालाई सङ्कटमा धकेल्दै    ललितपुरस्थित अनल ज्योति स्कूलको वार्षिक कार्यक्रम भव्य रूपमा सम्पन्न

कर्णाली टिमको उत्कृष्ट प्रस्तुति, युवा मैत्री लोक दोहोरी प्रतियोगिताको उपाधि हात पार्यो

Saturday, February 8, 2025 National Power

काठमाडौं – राष्ट्रिय युवा मैत्री लोक दोहोरी प्रतियोगिता २०८१ मा कर्णाली कलाकार समूहले प्रथम स्थान हासिल गर्दै नगद १ लाख रुपैयाँ पुरस्कार जितेको छ। उक्त प्रतियोगितामा कर्णाली टिमका तारा थापा र सुमन खड्काले उत्कृष्ट प्रस्तुति दिँदै उपाधि हात पारेका हुन् ।
देशमा विकराल बन्दै गएको बेरोजगारी, युवा पलायनले निम्त्याएको समस्या, सम्भावना र समृद्धिका विषयलाई कला–संस्कृतिमार्फत उजागर गर्ने उद्देश्यले लोक दोहोरी प्रतियोगिता आयोजना गरिएको थियो । दुई दिनसम्म सञ्चालन भएको उक्त प्रतियोगितामा देशभरका विभिन्न स्थानबाट १२ प्रतियोगी समूहले सहभागिता जनाएका थिए। समूहहरूको नाम कोशी, सगरमाथा, बागमती, जनकपुर, नारायणी, गण्डकी, लुम्बिनी, धौलागिरी, राप्ती, भेरी, कर्णाली र सेती–काली राखिएको थियो, जुन तत्कालीन अञ्चलहरूको नामबाट नामकरण गरिएका थिए ।

सरकारी स्तरबाट आयोजना गरिएको यो ठुलो धनराशिको लोक दोहोरी प्रतियोगितामा लोकप्रिय गायक चन्द्र शर्माको संयोजकत्वमा ११ सदस्यीय निर्णायक समिति गठन गरिएको थियो। समितिमा बद्री पराजुली, सीता थापा, सरोज विरही कार्की, वैकुण्ठ महत, रिदम कँडेल, बबिता श्रेष्ठ मलेकु, कृष्ण काफ्ले, पदम रोकाया, सीमा थापा र शान्ति कुमारी शाही रहेका थिए ।

राष्ट्रिय युवा परिषद् कला साहित्य सञ्जालको आयोजना तथा सांस्कृतिक समाज नेपालको सहकार्यमा भएको दुई दिने प्रतियोगितामा पृतम पोखरेल र सबिता परियार (जनकपुर)ले दोस्रो स्थान हासिल गर्दै नगद ३० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे। त्यस्तै, नारायणी टिमका घनश्याम परियार र जमुना विश्वकर्मा तथा राप्ती टिमका प्रकाश दुरा र आशा केसी तृतीय स्थान प्राप्त गर्न सफल भए । प्रतियोगितामा सविन आचार्य उत्कृष्ट गायक बन्न सफल भए भने टेकराज भण्डारी र पार्वती आले ले अनुशासित गायक÷गायिकाको उपाधि हात पारेका थिए । त्यसै गरि निशान वि.क, जमुना सुनारले नव गायक÷गायिकाको उपाधि प्राप्त गरेका थिए ।

कार्यक्रमको उद्घाटन सत्रमा वरिष्ठ लोक गायक बमबहादुर कार्की र वरिष्ठ लोक गायिका चन्द्रकला साहलाई विशिष्ट सम्मान अर्पण गरिएको थियो । दुई दिनसम्म सञ्चालन भएको प्रतियोगितामा बाध्यबादक कलाकारहरू पवन शाही ठकुरी, विलग गुरुङ, गेम थापा मगर, मिलन विक, प्रविन मगर, हुकुम चन्द ठकुरी रहेका थिए भने प्रदीप बराइली, रोम श्रेष्ठ, सुमित्रा क्षेत्री र राम माया थापा मगर सहयोगी कलाकारको रूपमा सहभागी रहेका थिए ।

प्रतियोगिताको उद्घाटन २५ गते राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले गरेका थिए भने समापन युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीको उपस्थितिमा सम्पन्न भएको थियो । समापन समारोहमा मन्त्री चौधरीले राष्ट्रिय युवा परिषद् कला साहित्य सञ्जालले अहिलेसम्मकै सबैभन्दा राम्रो र सृजनशील कार्यक्रम आयोजना गरेको बताए। उनले यस्ता कार्यक्रमहरूबाट कला र संस्कृतिको संरक्षण गर्न सकिने धारणा व्यक्त गरे ।

कार्यक्रममा राष्ट्रिय युवा परिषद्का प्रशासकीय प्रमुख चन्दा थापा, उपसचिव कर्ण बहादुर कुंवर, संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्राज्ञ चेतन सापकोटा, चलचित्र निर्देशक तथा कला साहित्य सञ्जालका सल्लाहकार माधव राज खरेल, कर्णाली कलाकार समाजका महेन्द्र बहादुर शाही, राष्ट्रिय युवा परिषद्का बोर्ड सदस्य विनोद शाही, नारायण गिरी, मञ्जु गौतम, शारदा लामा, आयुशा कँडेल, मनजली चौधरी, रजनी कुमारी, कमला बैद्य, द्रोपता शाही, ललिता शाह, सविता कार्की, रानी कुमारी मल्लिक, प्रेम कुमारी ओली, रमेश कुमार भट्टराई लगायत विभिन्न संघ–संस्थाका प्रतिनिधि, कलाकार, पत्रकार तथा समाजसेवीहरूको उपस्थिति रहेको थियो ।

सांस्कृतिक समाज नेपालका अध्यक्ष समेत रहेका राष्ट्रिय युवा परिषद् अन्तर्गत कला साहित्य सञ्जालका अध्यक्ष रामप्रसाद अवस्थीले संस्कृतिको माध्यमबाट समृद्धिको सन्देश दिन प्रतियोगिता सफल भएको बताए । कार्यक्रमको संयोजन सुस्मा शाही ठकुरीले गरेकी थिइन् भने सञ्चालन विष्णुमाया पौडेल र अमृत खातीले गरेका थिए ।