Monday 27th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

क्यालिफोर्नियामा आयोजित राहदानी कन्सुलर सेवा शिविरबाट नेपाली लाभान्वित

Saturday, February 1, 2025 National Power

क्यालिफोर्निया, अमेरिका – नेपाली राजदूतावास, वासिङटन डिसीको आयोजनामा क्यालिफोर्नियाको सान फ्रान्सिस्कोमा सञ्चालन गरिएको राहदानी तथा कन्सुलर सेवा शिविरबाट १ हजार ५ सय १५ जना नेपाली प्रत्यक्षरूपमा लाभान्वित भएका छन् ।

दूतावासका अनुसार शिविरमार्फत १ हजार ५ सय ६ जनाले राहदानी सेवा प्राप्त गरेका छन् भने ९ जनाले अधिकृत वारेसनामा (Power of Attorney) सेवा लिएका छन् । पाँच दिन सञ्चालन गर्ने भनिएको शिविर सेवाग्राहीको अत्यधिक चापका कारण तीन दिन थप गरियो दूतावासले जनाएको छ ।

नेपाली समुदायको सक्रिय सहभागिता
राहदानी कन्सुलर सेवा शिविरमा क्यालिफोर्नियाका विभिन्न शहरहरूमा बसोबास गर्ने नेपाली समुदायका साथै अन्य राज्यहरूबाट पनि नेपालीहरू सेवा लिन आएका थिए । गैरआवासीय नेपाली संघ (NRNA) अमेरिका क्यालिफोर्निया च्याप्टरका अध्यक्ष हरि ओझाले नेपाली समुदायको सुविधाका लागि यस्ता शिविरको आयोजना आवश्यक रहेको बताउँदै आगामी दिनमा पनि निरन्तर पहल गरिने जानकारी दिए ।

क्यालिफोर्नियामा रहेका नेपाली समुदायका संस्थाहरूले लामो समयदेखि यस्तो सेवा सञ्चालन गर्न पहल गर्दै आएका थिए । यो शिविर गैरआवासीय नेपाली संघ (NRNA) अमेरिका क्यालिफोर्निया च्याप्टर र नेपाली एशोसिएशन अफ नर्दन क्यालिफोर्निया (NANC) को सहयोगमा सम्पन्न भएको हो ।

दूतावासको प्रयास र नेपाल सरकारको नीति
शिविरको समापन समारोहमा दूतावासका कार्यवाहक राजदूत एवं डिपुटी चिफ अफ मिसन शरदराज आरणले नेपाली समुदायलाई घरआँगनमै सेवा प्रदान गर्ने नेपाल सरकारको नीतिअनुसार शिविर सञ्चालन गर्दै आएको बताए ।

उनले भने, ‘अमेरिका भौगोलिकरूपमा अत्यन्त ठूलो देश भएकाले नेपाली दूतावासको सेवा सबै ठाउँमा सहजै उपलब्ध गराउन कठिनाइ छ । त्यसैले नेपाल सरकारले सान फ्रान्सिस्को (क्यालिफोर्निया) र ड्यालस (टेक्सास) मा स्थायी कन्सुलर सेवा कार्यालय स्थापना गर्ने अन्तिम तयारी गरिरहेको छ । यी कार्यालय सञ्चालनमा आएपछि नेपालीहरूलाई अझ छिटो, सहज र प्रभावकारीरूपमा सेवा प्रदान गर्न सकिनेछ ।’

नेपाली समुदायका लागि ठूलो राहत
अमेरिकामा बसोबास गर्ने नेपालीहरूका लागि राहदानी नवीकरण, नागरिकता प्रमाणीकरण, जन्म प्रमाणपत्र, विवाह प्रमाणपत्र, अधिकृत वारेसनामा जस्ता कन्सुलर सेवाहरू अत्यावश्यक हुन्छन् । वासिङटन डिसीमा रहेको नेपाली दूतावास टाढा भएकाले धेरै नेपालीलाई यात्रा गर्न कठिनाइ पर्ने हुँदा यस्ता शिविरहरूले ठूलो राहत प्रदान गर्ने अमेरिकाका स्थानीय नेपालीहरूले बताएका छन् ।

उनीहरूले नेपाल सरकारको यो प्रयासको स्वागत गर्दै आगामी दिनमा यस्ता सेवाहरूलाई अझ सहज र प्रविधिमैत्री बनाउनुपर्नेमा जोड दिएका छन् । नयाँ राहदानी सेवाको प्रक्रियालाई डिजिटल प्रविधिको प्रयोगमार्फत अझ सरल बनाउनुपर्ने स्थानीय जनकराज ढुङ्गानाले बताए ।

ढुङ्गानाले एनआरएन क्यालिफोर्निया च्याप्टरको पटकपटकको आग्रहपछि नेपाल सरकारले क्यालिफोर्नियामा कन्सुलर कार्यालय खोल्ने निर्णय गरेको पनि जानकारी दिए ।