Thursday 13th March 2025

    होली पर्वको अवसरमा KTMडाउनटाउनको म्युजिक भिडियो सार्वजनिक    एनआरएनए: उद्देश्यविहीन दौडधूपले संस्थालाई सङ्कटमा धकेल्दै    ललितपुरस्थित अनल ज्योति स्कूलको वार्षिक कार्यक्रम भव्य रूपमा सम्पन्न    ‘आयो रे आयो हाप्पी होली’ को भिडियो सार्वजनिक    महिला चलचित्र महोत्सव, महिला सशक्तिकरण समितिको पहलमा समापन

संगीत उद्योग संघको चौथो अवार्ड कार्यक्रमको घोषणा

Friday, January 24, 2025 National Power

काठमाडौं –  नेपाल संगीत उद्योग संघले चौथो संस्करणको अवार्ड कार्यक्रम आयोजना गर्ने भएको छ । बिहीबार संघले पत्रकार सम्मेलनको आयोजना गरी ‘अथक शान्त साधक विश्वनाथ केडिया अमिन नेशनल म्युजिक अवार्ड–२०२५’ को आयोजना गर्न लागिएको जानकारी दिएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै संघका अध्यक्ष सुर्यबहादुर मगरले कैयौं चुनौतीका बावजुद पनि चौथो संस्करणको अवार्ड कार्यक्रम आयोजना गर्न लागिएको जानकारी दिए । अध्यक्ष मगरले अवार्ड कार्यक्रमको गरिमालाई घटाउने गरी हाल साप्ताहिक रुपमै तीन–चारवटा यस्ता कार्यक्रम आयोजना भइरहेको गुनासो गरे । यद्यपी, यस्तो अवस्थामा पनि संघले यसअघिका तीनवटा संस्करण भव्य, सभ्य र सर्वोत्कृष्ट अवार्डका रुपमा सम्पन्न गरेकोले चौथो संस्करण पनि अझ भव्य रुपमा सम्पन्न गर्ने प्रतिवद्धता जाहेर गरे ।

संघ आफैंमा नेपाल उद्योग वाणिज्य महासंघमा आवद्ध संस्था भएकोले गर्दा पनि त्यसको ओज घट्न नदिने भनाइ अध्यक्ष मगरको रहेको थियो । अध्यक्ष मगरले २० विधामा ३० श्रेणीका अवार्ड वितरण गरिने जानकारी दिए । अध्यक्ष मगरका अनुसार उक्त अवार्डका लागि बिहीबारबाटै फारम खुला गरिएको छ । अवार्डमा भाग लिनका लागि डिजिटल प्रविधिको विकास गरिएकोले क्यूआर स्क्यान गरेर फारम भर्न सकिने उनले बताए ।

संघले अवार्ड कार्यक्रम आयोजना गर्दा सल्लाहकारहरुको समूह बनाइएको र त्यस समूहको छनोट र सिफारिसमा विभिन्न वरिष्ठ गायक गायिका तथा बरिष्ठ पत्रकारहरुलाई सम्मानित गर्ने गरिएको जानकारी पनि अध्यक्ष मगरले दिए । त्यस्तो सम्मान पाउनेहरुले भने फारम भर्न नपर्ने उनले बताए ।

उनका अनुसार केही समय भित्रै उत्कृष्ट पाँच मनोनयनको सूची सार्वजनिक गरी प्रमाणपत्र वितरण गर्ने र बैशाखको पहिलो हप्ता अवार्ड कार्यक्रम आयोजना गर्ने तयारीमा संघ रहेको छ । कार्यक्रममा संगीत तथा सञ्चार क्षेत्रका संघ संस्थाका नेतृत्वकर्ताहरुले अवार्ड सफलताको शुभकामना दिएका थिए ।