
काठमाडौं- नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को आठौं संस्करण हुने भएको छ । नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा यो महोत्सव चैत ७ देखि ११ गतेसम्म हुन लागेको हो । महोत्सवमा ७० देशबाट प्राप्त ६०० भन्दा धेरै चलचित्रहरू आएको आयोजक टिमले जनाएको छ । जसबाट यसपटकको निफमा ४० देशका ८७ वटा चलचित्रहरू छानिएको विज्ञप्तिमा उल्लेख छ । छनोटमा परेका थुप्रै चलचित्रहरु बुसान, कान्स, लोकार्नो, बर्लिनालजस्ता प्रतिष्ठित फेस्टिभलमा पनि प्रदर्शन भइसकेका छन् ।
नेपाली पानोरमातर्फ चारवटा फिचर फिल्म छनोट भएका छन् । जसमा ‘क्रलिङ क्रोज’, ‘पूजार सार्की’, ‘भूठान’ र ‘सतीदेवी’ परेका छन् । अंगेजीमा ‘द वर्ल्ड्स ह्याप्पिएस्ट म्यान’ राखिएको हरिवंश आचार्यको मुख्य भूमिका रहेको यो चलचित्र हलभन्दा पहिल्यै स्क्रिनिङ हुँदैछ । नेपाली हलमा वैशाख १२ गतेबाट यो चलचित्र रिलिज हुने कुरा छ ।
चलचित्र प्रदर्शनीसँगै समसामयिक विषयमा स्वदेशी तथा विदेशी चलचित्रकर्मी, उच्चस्तरका राजनीतिज्ञ र समाजका प्रतिष्ठित व्यक्तित्वहरूको रोचक र अर्थपूर्ण छलफलका सत्रका साथै विभिन्न मास्टर क्लास र कार्यशालाहरु पनि सञ्चालन हुने बताइएको छ । फेस्टिभललाई राष्ट्रिय र अन्तर्राष्ट्रिय गरेर दुई किसिमले बर्गिकरण गरेर फिचर र लघु चलचित्रसहित वृत्तचित्र विधामा अवार्ड वितरण गरिनेछ जनाइएको छ ।
प्रविधिमा आएको विकासलाई आत्मासात गर्दै र दर्शकहरुलाई नयाँ स्वाद दिनको लागि यो बर्षबाट ए आई प्रविधिबाट वा सो सम्बन्धी बिषयमा बनेको चलचित्रको प्रतिस्पर्धा पनि थप गरिएको छ । यस वर्ष महोत्सवमा प्रदर्शन हुने चलचित्रहरू क्यूएफएक्स सिनेमाजका सिभिल मल र छायाँ सेन्टरका हलमा प्रदर्शन हुनेछन् । साथै पर्यटन बोर्डको हल र रस्ट्रिय सभागृहमा विभिन्न किसिमका बहस र संवादहरू सञ्चालन गरिने छ ।
महोत्सवमा अन्तर्राष्ट्रिय प्रतिस्पर्धा अन्तर्गत सर्वोत्कृष्ट फिचर फिल्मलाई १५ सय अमेरिकि डलर राशिसहित गौतमबुद्ध अवार्ड प्रदान गरिनेछ । त्यसैगरी, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फिचर फिल्महरूबाट कुनै एक चलचित्रलाई ‘अन्तर्राष्ट्रिय चलचित्र समाज महासंघ’ को तर्फबाट पनि अवार्ड दिइनेछ । महोत्सवमा सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय वृत्तचित्रलाई एक हजार डलर राशिको माउण्ट एभरेष्ट अवार्ड, र सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय लघु चलचित्रलाई पाँच सय डलरको बागमती अवार्ड प्रदान गरिनेछ छ । एआईबाट बनाएको चलचित्रलाई ५०० अमेरिकि डलर राशिको मन्जुश्री अवार्ड प्रदान गरिने छ ।
यसैगरी नेपाली प्रतिस्पर्धा अन्तर्गत उत्कृष्ट फिचर फिल्मलाई एक लाख नगद र ट्रफी, उत्कृष्ट सर्ट फिल्म र उत्कृष्ट वृत्तचित्रलाई ५०÷५० हजार नगद र ट्रफी प्रदान गरिनेछ । त्यसैगरी, सर्ट फिल्म मध्येबाट उत्कृष्ट निर्देशकलाई ट्रफी प्रदान गरिनेछ । राष्ट्रिय फिचर फिल्म तर्फका उत्कृष्ट निर्देशक, लेखक, छायांकार, अभिनेता र अभिनेत्रीलाई पनि ट्रफी द्वारा सम्मानित गरिने आयोजकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।