Friday 27th February 2026

    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट

हमासका प्रमुख याह्या सिन्वरको इसराइली आक्रमणमा मृत्यु

Friday, October 18, 2024 National Power

काठमाण्डौ – गजापट्टिमा इसराइल डिफेन्स फोर्सले हमासका प्रमुख याह्या सिन्वरको हत्या गरेको इसराइलले दाबी गरेको छ। अन्तर्राष्ट्रिय समाचार संस्था एसोसिएटेड प्रेस (एपी) का अनुसार इसराइली विदेश मन्त्रीले सिन्वरको हत्या भएको पुष्टि गरेका हुन्। बिहीबार इसराइलको परराष्ट्र मन्त्रालयले एक्स (ट्विटर) मा पोस्ट गर्दै इसराइल डिफेन्स फोर्सले अपरेसनका क्रममा गजापट्टिमा तीनजना आतंककारी मारिएको र तीमध्ये एक हमास प्रमुख सिन्वर हुन सक्ने सम्भावना रहेको बताएको थियो।

यसपछि सिन्वरको भनिएको शवको डिएनए परीक्षण गरिएको थियो। परीक्षणको प्रारम्भिक नतिजामा उक्त शव सिन्वरकै भएको पाइएको अमेरिकी सञ्चारमाध्यम सिएनएनले जनाएको छ। इसराइलका दुई सञ्चारमाध्यम केएएन र एन१२ ले यसअघि नै दुई इसराइली अधिकारीहरूलाई उद्धृत गर्दै सिन्वरको मृत्यु भएको उल्लेख गरेका थिए।सिन्वरको मृत्यु उनैलाई निशाना बनाएर गरिएको कुनै विशेष सैनिक कारबाहीमा भएको होइन। उनी गजापट्टिमा इसराइली सेनाले गरेको नियमित कारबाहीमा मारिएका हुन्।

एउटा भवनमा हमासका लडाकुहरू भएको आशंकामा सेनाले त्यहाँ ट्यांकले आक्रमण गरेको थियो। पछि सैनिक भित्र पसेर हेर्दा सिन्वरजस्तै देखिने व्यक्तिको शव भेटिएको हो।दुई दशकभन्दा बढी इसराइली जेलमा रहेका सिन्वरको डिएनए रेकर्डसँग उक्त शवको डिएनए मिलेको पाइएपछि उनी मारिएको पुष्टि इसराइलले गरेको हो।

इसराइलमाथि गत वर्ष हमासले आक्रमण गर्दा सिन्वर गजाका प्रमुख थिए। इसराइलले इस्माइल हनियेको हत्या गरेपछि सिन्वर हमास प्रमुख चुनिएका थिए। ६१ वर्षीय हनियेको इरानी राष्ट्रपति मसुद पेजेस्कियानको शपथ ग्रहण समारोहमा सरिक हुन इरानको राजधानी तेहरान पुगेका बेला जुलाई ३१ मा हत्या भएको थियो।

यस्तै, जुलाई १३ मा इसराइलले गजाको खान युनिस सहरबाहिर हवाइ आक्रमण गर्दा हमासका सैन्य कमान्डर मोहम्मद देइफको मृत्यु भएको थियो। देइफको मृत्युपछि सिन्वर हमासका सैन्य कमान्डर बनेका थिए। इसराइलमाथि आक्रमण गर्ने योजना देइफ र सिन्वर दुई जनाले सँगै मिलेर बनाएका थिए। आतंकवादीहरू मारिएको भनिएको भवनमा अरू कोही नरहेको र उक्त क्षेत्रमा सेनाले सतर्कताका साथ काम गरिरहेको इसराइली परराष्ट्र मन्त्रालयले उल्लेख गरेको छ।