Tuesday 28th April 2026

    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न

‘सतीदेवी’को दमौलीमा विशेष प्रदर्शन

Sunday, March 10, 2024 National Power

काठमाण्डौ – फिल्म ‘सतीदेवी’को विशेष प्रदर्शन दमौलीको क्यूएफएक्स सिनेमामा गरिएको छ । लक्ष्मण सुवेदीको लेखन, निर्माण तथा निर्देशनमा तयार भएको यो फिल्म हेरेपछि दर्शकले उत्कृष्ट प्रतिक्रिया दिएका छन् । मध्य नेपाल नगरपालिका, लम्जुङका नगर प्रमुख रमेशकुमार पाण्डेले यो फिल्म हेरेपछि  पूर्ण रुपमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

उनले, सार्वजनिक प्रदर्शन अगाडि नै चर्चामा रहेको फिल्मलाई सबैले साथ दिनुपर्ने बताए । उनले फिल्म हेरेपछि भने–‘हाम्रो मध्य नेपाल नगरपालिकाको विभिन्न स्थानमा छायांकन गरिएको यो फिल्मले निकै तारिफ पाइरहेको छ । देशको मौलिक कला, संकृती तथा कथालाई फिल्मको माध्यमबाट विश्वसामु पुर्याउने कामको म प्रशंसा गर्न चाहन्छु ।’

कार्यक्रममा ‘सतीदेवी’को तर्फबाट निर्देशक सुवेदीले मेयर पाण्डे, वडा नं ५ का अध्यक्ष ओमवीर गुरुङ, स्थानीय श्री सृजनशील एकता मगर समाज, लाफा गाउँ होमस्टे, कलाकार इभन श्रेष्ठ, क्यूएफएक्स दमौलीलगायतलाई आभार पत्र प्रदान गरेका थिए ।

अधिकांश दृश्य मध्यनेपाल नगरपालिकाका वडा नं ५ लगायत विभिन्न स्थानमा खिचिएको र छायांकन तथा प्रबर्द्धनमा आफूहरूलाई निकै सहयोग मिलेकाले धन्यवाद स्वरूप शो आयोजना गरिएको निर्देशक सुवेदीले बताए ।

फिल्म हेरेपछि सतप्रतिशत दर्शकले उत्कृष्ट प्रतिक्रिया दिएका थिए । वडा नं ५ का अध्यक्ष गुरुङले ‘सतीदेवी’ आफूलाई अत्यन्तै राम्रो लागेको बताउँदै यसप्रकारका मौलिक, वास्तविक स्थिति छर्लङ्ग पार्ने विषयका फिल्म अझै धेरै बन्नुपर्ने धारणा राखे । खैरिनीटारका स्थानीय मिनबहादुरले ‘सतीदेवी’ अहिलेसम्म निर्माण भएका नेपाली फिल्म मध्ये सबैभन्दा उत्कृष्ट लागेको प्रतिक्रिया दिए ।

एक युवती दर्शकले ‘सतीदेवी’ हेर्दा आफू २०–२२ ठाउँमा भक्कानिएर रोएको बताउँदै अबका दिनमा आफू छोरी मान्छे हुँ भनेर कमजोर मानसिकता नराख्ने र आफ्नो परिवारका लागि जस्तोसुकै संघर्ष गर्न पनि पछि नहट्ने प्रतिबद्धता व्यक्त गरिन् ।

यो फिल्मले माघको तेस्रो साता सौराहामा सम्पन्न ‘सौराहा दक्षिण एसियाली चलचित्र महोत्सव’मा सर्वोत्कृष्ट फिल्म र शिव रेग्मी सर्वोत्कृष्ट फिल्म निर्देशक अवार्ड जितेको ‘सतीदेवी’ को चर्चाप्रति केही दिन अघि सूचना तथा संचारमन्त्री रेखा शर्माले चासो देखाएकी थिइन् ।

दिलासा क्रियसनले गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्नियासँगको सहकार्यमा निर्माण गरेको चलचित्र पछिल्लो समय निकै चर्चामा छ । दिलासा, सारा र श्रीदेवी सुवेदी निर्माता रहेको फिल्ममा मलिका महत, हर्षिका वली, मञ्जिला बानियाँ, कुलबहादुर अधिकारी, रमेश बुढाथोकी, सृजना अधिकारी, सन्दीपबाबु लोहनी, सुजीता शिवाकोटी, भोला सापकोटा, मनीषा सापकोटा, सन्देश लिम्बूलगायतका कलाकारले अभिनय गरेका छन् । फिल्मको प्रदर्शन मिति चाँडै नै तोकिने निर्माणपक्षले बताएको छ ।