Tuesday 28th April 2026

    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न

चर्चित संगीतकार एवं गायक सन्तोष श्रेष्ठले ल्याए महाकविको ‘आकाशमा शशी छन्’ (भिडियोसहित)

Sunday, January 28, 2024 National Power

काठमाडौं- महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल, सङ्गीतकार गायक सन्तोष श्रेष्ठले बजारमा ल्याउनुभएको छ । देवकोटाको नाटक ‘सावित्री सत्यवान्’मा रहेको ‘आकाशमा शशी छन्’ गजललाई श्रेष्ठ स्वयंले लय भरेर स्वर दिनुभएको छ । शुक्रबार मैतीदेवीमा रहेको देवकोटा सङ्ग्रहालयमा आयोजित कार्यक्रममा प्रा.डा. कृष्णहरि बरालले उक्त गजलको भिडियो लोकार्पण गर्नुभएको हो ।

सार्वजनिक गजलबारे कवि, समालोचक घनेन्द्र ओझाले टिप्पणी गर्नुभएको थियो । ओझाले महाकवि देवकोटाले गजल भनेर रचना नगरे पनि उक्त रचना गजलको संरचनामा रहेको बताउनुभयो । झण्डै सय वर्षअघि लेखिएको देवकोटाको गजल पूर्णतः शास्त्रीय संरचनामा रहेको बताउँदै ओझाले महाकविको गजल रेकर्ड भएर आउनु समग्र गजल प्रेमीका लागि खुशीको कुरा भएको उल्लेख गर्नुभयो । नयाँ र कीर्ति रहने खालका काम गर्न रुचाउने सङ्गीतकार तथा गायक सन्तोष श्रेष्ठले यस्ता अन्य कामहरू पनि गरिरहेको भन्दै ओझाले नेपाली गजल लेखनमा शास्त्रीयताको खोजी व्यापक बनिरहेका बेला सङ्गीत र गायनमा पनि शास्त्रीय गजलहरूलाई ल्याउने श्रेष्ठको कदमको सराहना गर्नुभयो ।

महाकवि देवकोटाका सुपुत्र प्रा.डा. पद्मप्रसाद देवकोटाले आफ्ना पिताको सिर्जनालाई सङ्गीतबद्ध र स्वरबद्ध गरेर बाहिर ल्याएकामा खुशी व्यक्त गर्नुभयो । सङ्गीतकार श्रेष्ठले आफूले अग्रज स्रष्टालाई सम्मान गर्न तथा गजललाई गायनमा ल्याउने प्रयासमा महाकविको गजललाई रेकर्ड गरेको बताउनुभयो । सङ्गीतमै समर्पित हुनुका कारण पनि स्रष्टा र सङ्गीतलाई जोड्नुपर्ने उहाँको भनाइ थियो ।

प्रमुख अतिथि प्रा.डा. कृष्णहरि बरालले आफूले विद्यावारिधि गर्ने क्रममा फेलापारेको देवकोटाको उक्त गजल श्रेष्ठले रेकर्ड गरेर सार्वजनिक गरेकामा प्रसन्नता जनाउनुभयो । अरबदेखि भारत हुँदै नेपाल छिरेको गजलले नयाँ बाटो पनि बनाउँदै गएको उल्लेख गर्दै बरालले देवकोटाको कृतित्वबारे चर्चासमेत गर्नुभयो । कार्यक्रममा महाकवि देवकोटाकी सुपुत्री अम्बिकादेवी रिमालको समेत उपस्थिति थियो । हेम प्रभास अधिकारीले निर्देशन गरेको तथा वीरेन्द्र भाट ‘विपिन’ले छायाङ्कन र सम्पादन गरेको भिडियोमा श्रेष्ठ स्वयंले अभिनय गर्नुभएको छ । गजल गोल्डेन क्रियसन युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको हो ।