Friday 1st May 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

खप्तडमा छायांकन गरिएका तीन म्युजिक भिडियो सार्वजनिक

Thursday, January 4, 2024 National Power

काठमाडौं – खप्तडमा छायांकन गरिएका तीन गीत सार्वजनिक भएका छन्। परराष्ट्र मन्त्री एनपी साउदले पर्यटन बोर्डमा आयोजित एक कार्यक्रमबाट उक्त गीतहरु सार्वजनिक गरेका हुन्। उक्त कार्यक्रममा प्रमुख अतिथि रहेका साउदले सुदूरपश्चिमको पर्यटन प्रबर्द्धनका लागि सिर्जनशील शैली अपनाएको बताए। उनले यसले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा पर्यटन प्रबर्द्धनका लागि सघाउ पुग्ने उल्लेख गरे। ‘दृष्यमा खप्तड, शृंखला – २’ मा तीनटा गीतको म्युजिक भिडियो छन् । शिव परियार र नीता आचार्यको स्वरमा रहेको ‘जिन्दगी त सँगै जिउने हो’ सीडी विजय अधिकारी र नीता आचार्यको स्वरमा रहेको ‘गरिदेऊ बिदा’, यसैगरी सीडी विजय अधिकारी र अस्मिता अधिकारीको स्वरमा रहेको ‘मन्द मन्द’ सार्वजनिक गरिएका हुन्।

‘जिन्दगी त सँगै जिउने हो’ को शब्द र संगीत नै दिपक शर्माको रहेको छ। यसैगरी ‘गरिदेऊ बिदा’मा शब्द सागर बास्तोलाको रहेको छ भने संगीत ऋषी खड्काले गरेका हुन् भने ‘मन्द मन्द’मा शब्द पद्म लिखामगरको रहेको छ भने संगीत राजकुमार बगरको रहेको छ।

तीनवटै गीतमा पुरुष मोडलका रुपमा अभिनय सनम कठायतले गरेका छन् । यसैगरी महिला मोडलका रुपमा स्मारिका ढकाल र सोफिया धरेलले गरेका छन्। म्युजिक भिडियोको निर्देशन जनक सिंहले गरेका हुन् भने सिनेमाटोग्राफी दिपक गिरी एन्ड टिमको रहेको छ। भिडियोको सम्पादन भने विकास दाहाल र अमृत चापागाईंले गरेका हुन्।

सुदूरपश्चिमको अन्य पर्यटकीय क्षेत्रलाई पनि क्रमश: यसैगरी देखाउँदै जानेगरी ‘दृष्यमा सुदूरपश्चिम’ अभियान घोषणा गरिएको छ। डकुमेन्ट्री, म्युजिक भिडियो, फिल्मलगायतका माध्यमबाट सुदूरपश्चिमको पर्यटन प्रबर्द्धन गरिने उक्त अभियानको नेतृत्व गरिरहेका सनम कठायत र डिबी खड्काले बताएका छन्। कार्यक्रममा कठायतले, ‘हामीले दृष्यमा खप्तड ‘पाइल प्रोजेक्ट’का रुपमा अघि सारेका थियौं । सफल भएको छ। अब यसलाई दृष्यमा सुदूरपश्चिम अभियानका रुपमा अघि बढाउनेछौं।’ अभियानको अग्रभागमा रहेको एभरेस्ट ग्यालरी टिममा कठायत र खड्काका साथै निर्देशक जनक सिंह र सिनेमाटोग्राफर दिपक गिरी रहेका छन्।

कार्यक्रममा पूर्व पर्यटन मन्त्री तथा संघीय सांसद प्रेम आले, सुदूरपश्चिम प्रदेश सदस्य शिवसिंह ओली, पूर्व संविधानसभा अध्यक्ष भरत खड्का, बडिमालिका नगरपालिका प्रमुख अमर खड्का, वरिष्ठ देउडा गायक नन्दकृष्ण जोशी, कांग्रेसका युवा नेता भुपेन्द्रजङ्ग शाही, उद्योग वाणिज्य महासंघ कैलालीका उपाध्यक्ष पुष्कर ओझालगायतले उक्त अभियानलाई शुभकामना दिँदै आफूले सकेको सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।