Friday 7th November 2025

    रमिताको पिरती’मा आनाको जोडी धिरज कि समीर रु माघ २३ गतेबाट रिलिज हुने    गायिका अञ्जनालाई ‘स्वरमाधुरी’ सम्मान    नौ वटा पार्टीहरूबीच आज एकता घोषणा हुने    कवि रूपक र संगीतकार सन्तोषको सहकार्यमा ‘रारा तिमी स्वर्गकी अप्सरा’ सार्वजनिक    फूल फुल्यो केशरीको म्युजिक भिडियो सार्वजनिक

भारतबाट फर्किएकामा कोरोना सङ्क्रमण देखिन थाल्यो

Wednesday, December 27, 2023 National Power

काठमाडौँ  – सुदूरपश्चिम प्रदेशमा भारतबाट फर्किनेमा फेरि कोरोना सङ्क्रमण देखिन थालेको छ । पढाई तथा रोजगारीको खोजीमा भारतका विभिन्न ठाउँ पुगेर स्वदेश फर्किनेहरूमा फेरि कोरोना भाइरस देखिन थालेको हो । पछिल्लो डेढ सातायता नियमित रूपमा एकदेखि तीन जनासम्ममा दैनिक रूपमा कोरोना भाइरस पुष्टि हुन थालेको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए ।

भारतका विभिन्न ठाउँहरूबाट सुदूरपश्चिम प्रवेश गर्नेहरूमध्ये केहीमा कोभिड सङ्क्रमण देखा पर्न थालेको उनले बताए । कोभिड–१९ सङ्क्रमण सुरु भएयता सुदूरपश्चिममा ६ लाख ७१ हजार पाँच सय १० जनाको परीक्षण गरिएकोमा ६२ हजार चार सय ८४ व्यक्तिमा सङ्क्रमण देखा परेको थियो । अहिलेसम्म सुदूरपश्चिममा कोभिडबाट ६ सय ३७ जनाको मृत्यु भइसकेको  छ । बुधबार पनि गौरीफन्टा नाकामा भारतबाट सुदूरपश्चिम आएका एक जनामा कोरोना देखिएको छ ।

यस्तै, आइतबार मात्र गौरीफन्टा नाकाबाट भित्रिएका ३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यस अगाडि गत हाप्ता बुधवार र बिहीबार पनि ४ जनामा कोरोना सङ्क्रमण देखिएको थियो । भारतमा कोरोनाको नयाँ भेरियन्ट देखा परेपछि भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाकामा उच्च सतर्कता अपनाइएको छ । सीमा नाकामा रहेको हेल्थ डेस्कबाट नियमित रूपमा कोरोना परीक्षण भइरहेको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताए ।

सीमानाकामा हेल्थ डेस्क स्थापना गरेर भारतबाट भित्रिने सबैमा एन्टीजेन विधिमार्फत कोरोना परीक्षण भइरहेको भट्टले जानकारी दिए । भारतमा अझै पनि सङ्क्रमित भेटिरहेका र त्यसबाट नेपालमा पनि जोखिम बढ्नसक्ने भएकाले सीमामै परीक्षण जारी राखिएको उनको भनाइ छ ।