स–साना समस्याहरु बेलैमा समाधान गर्न सके अहिले सहकारीमा देखिएको समस्या समाधान गर्न धेरै समय लाग्दैन । हाल सहकारी क्षेत्रमा देखिएका समस्या समाधानका लागि सहकारी अभियान, राज्यका विभिन्न निकाय तथा सरोकारवालाहरुसँग दैनिक जसो शेयर सदस्यहरुको गुनासो आउने गरेको छ । सहकारी क्षेत्र त्यस्तो क्षेत्र हो जहाँ स–साना फजुल खर्च कटाएर आफ्नो अनि परिवारको भविस्य सुनिश्चित गर्नका लागि बचत जम्मा गर्दै सुनौलो भविस्यको कल्पना गरिन्छ । सहकारीको मूल्य मान्यता दर्शन अनुसार सामाजिक, आर्थिक, साँस्कृतिक रुपमा समुदायमा रहेका आम नागरिक जो सहकारी संस्थाका शेयर सदस्य छन् उनिहरुको जीवन यापन, रोजगारी र जीविकोपार्जन गराउन सकिने क्षेत्र भएकाले आम सर्व साधारणको आँखामा सजाएर राखेको क्षेत्र हो । कुनैपनि क्षेत्र आफु अनुकुल हुनेगरी सञ्चालन हुदैन, चल्दैनन अनि चलाउन सकिदैन त्यहाँ समस्या उत्पन्न हुन्छ नै । हाल सहकारी क्षेत्रमा देखिएका केहि समस्याहरु यी र यस्तै खालका गतिविधिहरुका कारण आएको हो भन्ने लागेको छ । संस्था नीति, विधि अनुरुप नै चल्नुपर्दछ । कानूनी रुपमा यसका अधिकार र क्षेत्रहरु हुन्छन । आफु अनुकुल ब्याख्या, टिप्पणी गर्दै संस्था सञ्चालन हुनु नै प्रमुख समस्या हो भन्न सकिन्छ । जे जस्तो अवस्थामा सञ्चालनमा रहे पनि हालको सहकारी क्षेत्रमा समस्या आयो यसको समाधानको उपायहरु के हुन सक्छ भन्ने बिषयहरुमा सैद्धान्तिक छलफल, बहस अनि पैरवीहरु समय समयमा भइरहेको देखिन्छ । तर त्यसले सार्थकता पाउन सकिरहेको देखिदैन ।
अव सहकारी क्षेत्रमा पनि आफ्नो अर्को केहि नभनी वास्तवीकतामा आधारित भएर बोल्न, कुरा गर्न पर्ने बेला आइसकेको छ । नीति अनुसार संस्था सञ्चालन गर्न हिजै देखि आनाकानी गर्ने, परिवार बादमा संस्था लैजाने अनि अहिले आएर अन्य पक्षहरुलाई दोषी ठान्नु गैह् जिम्मेवारीपन हो । आफ्ना नाता गोताले भरिएका सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति अनि कर्मचारी राखेर संस्था सञ्चालन भएको देख्न सकिन्छ । सजिलो बेलामा कसैले पनि वास्ता गरेन जव असहज हुन थाल्यो सबैतिर यी र यस्ता बिषयहरु बाहिर आउन थाल्यो । सहकारीमा सेवा गर्ने कि मेवा(मुनाफा) प्राप्त गर्ने ? यी बिषयहरुको समिक्षा नगरी नेतृत्वमा रहेका कारण कतिपय समस्याहरु झेल्नु परेको छ । एक दुई सहकारी संस्थाका कारण समुदायस्तरमा सञ्चालन भएका, नीति, विधि अनि प्रविधिलाई आत्मसात गरेका सहकारी संस्थाहरु सबै जसोलाई आरोप खेप्नु परिरहेको छ । बजार क्षेत्रमा रहेका पसल, कवलहरुमा गएर हेर्दा ४० वटा भन्दा बढी सहकारी संस्थाका पासबुकहरु देखिन्छन् । उक्त संस्था कसले सञ्चालन गरेको छ ? कसरी सञ्चालन भइरहेको छ ? समिति भित्र को को रहेका छन् ? समय समयमा सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, विभिन्न उप समितिहरुको बैठक बस्छ कि बस्दैन? नीति विधिहरु छन् कि छैनन भन्ने बिषय अनि लेखा परिक्षण समेत भएका र साधारणसभा भएका छन् वा छैनन भन्ने बिषय आम संस्थामा आवद्ध शेयर सदस्यहरुले बुझेर मात्र कारोबार गर्ने परिपाटिको विकास हुनुपर्ने हो तर जहाँ समस्या देखियो त्यसमा भनेजस्तो सहजता देखिएन, यो कुरा हामीले स्विकार गर्नुपर्दछ । अर्कोलाई दोष थोपरेर आफु उम्किने प्रयास गर्दा समस्या बल्झियो । यी वास्तवीक अभियान भित्रका कुराहरु हुन । कसैलाई यी र यस्ता बिषयहरु पच्न सक्दैन ।
खासै धेरै समस्याहरु नदेखिएता पनि सहकारी क्षेत्रलाई चौतर्फी प्रहार भइरहेको तर्फ हामी अभियानमा जोडिएका अभियानकर्मीहरु चनाखो हुनपर्ने समय आइसकेको छ । हाम्रा पनि केहि समस्याहरु रहे होलान, हामीले सच्चिन पाउनुपर्छ भन्ने अभियानको बिषय पक्कै छ । जानेर वा अन्जानमा हामी संस्था सञ्चालन गर्दै गर्दा केहि छुटपुट घटनाले अभियानको ध्यान अवस्य पनि तानेको छ । यस्ता समस्या समाधानका लागि हाम्रो भूमिका के हुन सक्छ ? उपायहरु कस्तो निकाल्ने र यसबाट निराकरण के हुन सक्छ भन्नेमा आम शेयर सदस्य, सञ्चालक समिति, कर्मचारीहरु मिलेर यसका निकास खोज्नु नै आजको प्रमुख बिषय हो । मलाई परेको होइन भन्ने बिषयहरु राखेर सिंगो अभियानकर्मीहरु एक ठाउँमा नबस्ने हो भने हामीहरु अर्को ठूलो समस्यामा पर्ने निश्चित देखिन्छ । जिल्लामा रहेका सहकारी संस्थाहरुका छाता संघहरु सहकारी बैंकको शाखा कार्यालय, नेफ्सकुन, प्रोस्कुन, बिषयगत संघ लगायत जिल्ला सहकारी संघमा रहनुभएका नेतृत्वगणहरु एकै ठाउँमा उभिएर हाल शेयर सदस्य, बचतकर्ता, ऋणीहरुमा आइपरेका विविध समस्या निराकरणका लागि आवश्यक पहल गर्नुपर्ने देखिन्छ । एक्लैले यत्रो समस्या हल गर्न सकिदैन र गर्ने पनि होइन सबै मिल्दा गर्न नसकिने बिषयहरु पनि होइन आउनुहोस सबै जना हातेमालो गर्दै सहकार्य गरौं, एउटै साझा मञ्च निर्माण गरा,ैं बहस, पैरवी गरौं, अन्तरक्रिया गरौं, आत्म आलोचना गरौं, गल्ति कमीकमजोरी भए सुधार गर्दै जाने प्रतिबद्धता गरौं, अनि यो र यस्ता समस्या समाधान गरौं संस्थाका सञ्चालक समिति, कर्मचारी, लेखा सुपरिवेक्षण समिति, शेयर सदस्यहरु एकै थलोमा बसौं निर्धक्क सकारात्मक रुपमा आफ्ना बारेमा कुरा राखौं अवस्य निकास निस्कन्छ । यदि यस्ता खालका गतिविधिहरुमा सहभागि हुन सकेनौ भने आज त भागिएला तर एक दिन यसबाट अवस्य चुकचुकाउनुको बिकल्प हुन्न । भर्खर देखिएको समस्या समाधान गर्न एकै ठाउँमा अभियानमा जोडिएका सबैजना उभिन सके समस्या समाधान अवस्य हुनेछ ।