Saturday 20th December 2025

    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट    डिभी लटरी कार्यक्रम स्थगित गर्ने अमेरिकाको निर्णय    बक्स अफिस रिपोर्ट : ‘परान’ को कमाई १७ करोड, ‘हर्ष’ को २८ लाख    अभिनेता प्रदीप खड्काले जेलमै पुगेर भेटे रवि लामिछानेलाई    एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव

कार्यालय र पसलमा राखिएका अनधिकृत बोर्डहरु हटाइँदै

Monday, November 14, 2022 National Power

काठमाडौं – काठमाडौं महानगरपालिकाले आज सोमबारदेखि अनधिकृत परिचय पाटी (नेम बोर्ड, साइन बोर्ड) हटाउन सुरु गरेको छ । मापदण्ड रहेका तर शुल्क नबुझाएका र तोकिएको आकारभन्दा ठूलो साइजका बोर्ड हटाउन लागेको हो । महानगरले असोज ७ गते ३० दिने सार्वजनिक सूचना जारी गर्दै त्यस्ता बोर्ड राखेबापत कर तिर्न अनुरोध गरेको थियो । ‘तोकिएको समयसीमाभित्र नियमित नगर्नेहरुको परिचयपाटी आजबाट हटाउँदैछौं,’ राजस्व विभागका प्रमुख डा। शिवराज अधिकारी भने, ‘पाटी हटाउँदा ख्याल गर्नुपर्ने कुरा हामीले टोलीलाई सम्झाएका छौं । यो विषय सर्वसाधारणलाई पनि थाहा हुन आवश्यक छ ।’

‘३० वर्गफुटभन्दा धेरै आकार भएका सबै बोर्ड हटाइनेछ । प्रायोजकको वोर्ड पनि यही आकारभित्र हुनुपर्नेछ । मापदण्डभित्रका बोर्ड वडामा गएर राजस्व तिरेपछि राख्न सकिन्छ,’ उनले भने,’अहिलेसम्म पनि नियमित भएका छैनन् भने तुरुन्तै वडामा सम्पर्क राख्न सकिन्छ ।’ व्यवसायिक स्थलमा ३० वर्गफुटभित्र जुनसुकै आकारको भए पनि एउटाभन्दा धेरै बोर्ड हटाइने उनले बताए । यस्तै सार्वजनिक स्थलमा रहेका झ्याल, ढोका छोपिने गरी राखिएका, छतमा राखिएका सबै बोर्ड हटाइनेछ ।

३० वर्गफुटसम्मका परिचय पाटीको वडामा गएर दर्ता गराउन सकिने छ । यससँगै भित्तेलेखन, अनधिकृत पर्चा, पम्प्लेट र पोस्टर हटाइने महानगरले जनाएको छ । परिचय पाटी व्यवस्थापन सम्बन्धी सार्वजनिक सूचनामा पाटीको आकार र त्यसमा लाग्ने वाषिर्क शुल्कसमेत उल्लेख थियो । महानगरको आर्थिक ऐन २०७९ बमोजिम सूचनापाटीको लागि ६ वर्गफिटसम्मको लागि वार्षिक ५०० रुपैयाँ शुल्क लाग्ने महानगरले जनाएको छ । त्यस्तै १५ वर्गफिटसम्मको लागि १५०० रुपैयाँ १५ देखि ३० वर्गफिटसम्मको लागि प्रतिवर्गफीट १ हजारको दरले शुल्क लाग्ने जनाएको छ । ३० वर्गफिटभन्दा माथिको भने बोर्ड राख्न नपाइने महानगरपालिकाले जनाएको छ ।