Saturday 11th April 2026

    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक 

अमेरिकामा पाँचौ एभरेष्ट ग्लोबल नेपाली फिल्म अवार्ड सम्पन्न

Sunday, October 23, 2022 National Power

काठमाडौं – ‘‘आफ्नै नाम, आफ्नै शान, आफ्नै पहिचान, नेपाली सिनेमा भिलेज टु ग्लोब’ भन्ने नारासहित सन् २०१६ बाट सुरु भएको नेपाली डायस्पोराको प्रतिष्ठित अवार्ड मानिने ‘पाँचौ एटिए एभरेष्ट ग्लोबल नेपाली फिल्म अवार्ड एण्ड फिल्म फेष्टिवल (२०२२’ अमेरिकाको कोलोराडोस्थित डेनभर शहरमा सम्पन्न भएको छ । अवार्ड कार्यक्रममा सन् २०२२ मा रिलिज भएका नेपाली फिल्ममध्येबाट अवार्ड प्रदान गरिएको थियो।

चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी, बिशिष्ठ चलचित्रकर्मी नीर शाह, नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रबिन्द्र खड्का, बरिष्ठ अभिनेताहरु शिब श्रेष्ठ, सुनिल थापा, बरिष्ठ अभिनेत्री शर्मिला मल्ल, बरिष्ठ लोकगायक राम प्रशाद खनाल लगायत दर्जनौ नयाँ पुराना कलाकारहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।

अवार्डमा चलचित्र ‘ए मेरो हजुर ३’ले सर्वोत्कृष्ट फिल्मको अवार्ड जितेको छ । सोही फिल्मबाट सुहाना थापाले डेब्यु अभिनेत्रीको अवार्ड जितिन् भने निर्देशक झरना थापाले उक्त फिल्मबाट उत्कृष्ट निर्देशकको अवार्ड जित्न सफल भएकी थिइन्। त्यसैगरी जुरी अवार्डमा चलचित्र मारुनीले बाजी मार्न सफल भएको थियो।

‘रातो टीका निधारमा’ फिल्मबाट अंकित शर्मा सर्वोत्कृष्ट डेब्यु अभिनेता घोषित भए भने वर्षकै सर्वोत्कृष्ट अभिनेत्रीकोतर्फको अवार्ड ‘आमा’बाट सुरक्षा पन्तले जितिन् । ‘छ माया छपक्कै’बाट दीपकराज गिरी सर्वोत्कृष्ट अभिनेता घोषित भए । अभिनेत्री नम्रता श्रेष्ठ स्टार अफ दी इयर घोषित भइन् । डायस्पोरा अवार्डतर्फ उत्कृष्ट डेब्यु अभिनेता शक्ति श्रेष्ठ अवार्ड चुम्न सफल भएका थिए भने सुधांशु जोशी उत्कृष्ट अभिनेता बन्दा उत्कृष्ट फिल्मको उपाधि ‘हेलो जिन्दगी’ले प्राप्त गर्‍यो ।

बिशिष्ठ संगीतकार शम्भुजीत बासकोटालाई संगीत रत्न ‘पाँचौ एटिए एभरेष्ट ग्लोबल नेपाली फिल्म लाइफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गरियो । रामकेशर बोगटी स्मृति सम्मान अभिनेत्री सरिता लामिछाने र गेहेन्द्र धिमाल स्मृति सम्मान नाट्यकर्मी हरिबहादुर थापालाई प्रदान गरिएको थियो । समारोहमा अभियानश्री सम्मान प्रकाश श्रेष्ठ र हिरण्य भोजपुरेलाई प्रदान गरियो । भुटानी कला सम्मान सिद्धार्थ विश्व र लक्षु शर्मालाई प्रदान गरियो । त्यसैगरी बिशेष सम्मान सुनिल पाठकलाइ गरिएको थियो भने कृष्ण सुनार, मिस नेपाल नर्थ अमेरिका प्रत्युषा बोहरा र रनरअप आन्या थापालाई पनि सम्मान गरिएको थियो ।

ग्लोबल नेपाली फिल्म अवार्ड एलएलसीका अध्यक्ष नवराज श्रेष्ठले ग्लोबल नेपाली फिल्म अवार्डको बारेमा प्रकाश पार्दै फिल्म फेष्टिवल तथा अवार्ड कार्यक्रम भव्यताको सम्पन्न भएकोमा सम्पूर्ण चलचित्रकर्मी, कलाकार, प्रायोजक, सह(प्रायोजक, सहयोगी संघ संस्था तथा व्यक्तिहरुलाई धन्यबाद ज्ञापन दिएका थिए । नेपाल फिल्म सोसाइटीका अध्यक्ष कृष्ण मल्लले आगामी बर्षहरुमा निरन्तर भब्य अवार्ड कार्यक्रम गर्दै लैजाने र अवार्डको गरिमालाइ उच्च बनाउने बताए । ग्लोबल नेपाली फिल्म अवार्ड एलएलसी, नेपाल फिल्म सोसाइटी र गोल्डेन स्टेट मुभी मेकर एलएलसीको आयोजना तथा ८८४८ मिडिया हाउस एलएलसीले अवार्ड कार्यक्रम संयुक्त रुपमा आयोजना गरेको थियो।