Saturday 11th April 2026

    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक 

न्यौपानेको दुई कृति लोकार्पण तथा गीत सार्वजनिक

Monday, June 20, 2022 National Power

बहुमुखी प्रतिभा निरु न्यौपानेको दुई कृति लोकार्पण गरिएको छ।
सोमबार काठमाडौँको लेखनकुञ्जमा आयोजना गरिएको कार्यक्रममा उपन्यास ‘अर्को अध्याय’ र गजल ‘सिरानीको तस्बिर’ लोकार्पण गरिएको हो।
कार्यक्रममा प्रा.डा. सावित्री कक्षपति, साहित्यकार रेणुका सोलु, वरिष्ठ गजलकार ललिजन रावल, समालोचक ज्ञानु अधिकारी, कवि तथा गीतकार रमेश पौडेल, कविता प्रोल्लास सिन्धुलीय, गायक तथा संगीतकार राज सिग्देल लगायत उपस्थित थिए।
कवि तथा गीतकार रमेश पौडेलले निरु न्यौपाने एउटा राम्रो कलमका रुपमा चिनेको बताए।
‘उपन्यासमा नेपालदेखि विदेशीएको अनुभव छ। लेखक आफै पनि विभिन्न देश पुगेर संघर्ष गरेका कारण गहकिलो र पठनयोग्य किताब पाएका छौँ हामीले,’ उनले भने।
उनले एक पाठकका रुपमा उपन्यास पठनयोग्य रहेको बताए।
समालोचक ज्ञानु अधिकारीले उपन्यास पारिवारिक, मानव सम्वेदनाको कृति भएको बताइन्।
‘उपन्यासमा माया, विश्वास, सम्बन्ध मुख्य छ। एकपटक पढ्न बसेपछि उठ्न मन लाग्दैन,’ उनले भनिन्।
उपन्यासमा महिला सम्वेदनालाई मिहिन ढंगले प्रस्तुत गरिनु तथा सबै पुरुष गलत नदेखाउनु लेखकको सबल पक्ष भएको उनले बताइन। समालोचक अधिकारीले ‘अर्को अध्याय’ आधुनिक नेपाली उपन्यास भएको पनि बताइन्।
उपन्यास नेपाली महिलाको यथार्थ भएको साहित्यकार तथा समीक्षक रेणुका सोलुले बताइन्।
‘अर्को अध्याय नेपाली महिलाले दुलही भएर भित्रिएबाट सुरु भएको विभेददेखिको कथा हो। यसले नेपाली समाज र महिलालाई प्रस्तुत गरेको छ,’ उनले भनिन्, ‘पढ्दै गर्दा परिवारको सकारात्मक भूमिकाले नेपाली समाज त्यस्तै भए हुने नि लाग्छ।’
यौनमात्रै ठूलो कुरा नभएको, विदेशको भोगाइ, पितृसत्तामाथि उठाएको प्रश्न, बिहे आफैमा नराम्रो हैन, छोरालाई नैतिक शिक्षा दिनुपर्छ लगायतका कुराहरू उपन्यासको राम्रो पक्ष रहेको रेणुले बताइन्।
यसैगरी ‘सिरानीको तस्बिर’ गजल धेरै राम्रो गजल भएको वरिष्ठ गजलकार ललिजन रावलले बताए।
‘उपन्यास लेख्नु जोखिम कुरा हो, लेखकले राम्रो काम गरेकी छन्,’ उनले भने, ‘गजल पढेँ, यसमा विषयक विविधता धेरै छ। एउटा गजलकारको लागि राम्रो कुरा हो।’
उनले पाठकले गजलमा नौलोपन पनि भेट्ने बताए।प्रा.डा. सबित्री कक्षपतीले गीत राम्रो बनेको बताइन्। ‘लेखन उत्पादन हो, उत्पादन निर्माण हो। यसरी नै गीत, भिडियो निर्माण हुन्छ। भिडियो राम्रो छ,’ उनले भनिन्। उनले नयाँ लेखकलाई प्रोत्साहन गर्नुपर्ने पनि बताइन्। ‘गजल, उपन्यास, कविता लेख्नु पर्छ। लेख्न खोज्नेलाई रोक्नु हुन्न, प्रोत्साहन गर्नुपर्छ, लेखकको अझ कलम चलोस्,’ उनले भनिन्। कार्यक्रममा पेशल ढकालको ‘हिसाब किताब’ बोलको गीत पनि सार्वजनिक गरिएको थियो।
गीतको लेखन सर्जक निरु न्यौपानेले नै गरेकी हुन् भने राज सिग्देलले गाएका हुन्। राज सिग्देलले नै निर्देशन गरेको भिडियोमा गरिमा शर्मा र जीवन भट्टराई फिचर्ड छन्।