Monday 6th April 2026

    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक     Lyricist Reema Shrestha Collaborates with Renowned Singer Pramod Kharel    अमेरिकामा बसोबास गर्ने गीतकार श्रेष्ठका सिर्जनाहरूले नेपाली संगीतमा योगदान पुर्‍याउँदै    १६औँ बिन्ध्यवासिनी म्युजिक अवार्ड चैत २७ मा, शम्भुजीत बास्कोटालाई लाइफटाइम अचिभमेन्ट

आज महाशिवरात्रि पशुपति नाथ मन्दिरमा पूजा गर्नका लागि भक्तजनहरुको घुईचो

Tuesday, March 1, 2022 National Power

काठमाडौं – महाशिवरात्रिको अवसरमा पशुपति नाथ मन्दिरमा भक्तजनहरुलाई सहज र छिटो दर्शन गर्ने व्यवस्था मिलाइएको पशुपति क्षेत्र विकास कोषले दाबी गरेको छ । तर पशुपतिनाथमा पूजा गर्न गएकाहरुले भने घण्टौंसम्म लाइनमा बस्नु परेको गुनासो गरेका छन् । पशुपति नाथ मन्दिरमा पूजा गर्नका लागि आज बिहान तीन बजेदेखि नै चारवटै ढोका खुला गरिएको थियो । पूजा गर्नेहरुका लागि चार वटा लाइनको व्यवस्था मिलाइएको छ ।
उनीहरूलाई सहज, छिटो र व्यवस्थित तरिकाले दर्शन गर्ने व्यवस्था मिलाइएको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा। घनश्याम खतिवडाले जानकारी दिए ।
हालसम्म करिब एक लाख दर्शनार्थीहरुले पशुपति मन्दिरमा पूजा गरिसकेको अनुमान गरिएको उनले बताए । यस वर्ष ६ लाख दर्शनार्थीले पशुपतिको पूजा गर्ने अनुमान गरिएको छ । गृहमन्त्री बालकृष्ण खाँण पनि पशुपति दर्शन गर्न गएका थिए । साँझ राष्ट्रपति विद्यादेवी भण्डारी पशुपति दर्शन गर्न जाने कार्यक्रम छ । अशक्तरअपाङ्ग र ज्येष्ठ नागरिकहरुलाई भने लाइन नलागी दर्शन गर्न पाउने व्यवस्था मिलाइएको छ । उनीहरुलाई स्वयंसेवामा खटिएका स्काउटका सदस्यले सिधै मन्दिर परिसरमा लैजाने व्यवस्था गरिएको छ ।

पशुपति क्षेत्रको भिड व्यवस्थापन गर्न र सुरक्षा प्रवन्ध मिलाउन प्रहरी, स्काउटका स्वयंसेवक, सादा पोशाकका सुरक्षाकर्मी लगायतका टोली परिचालन गरिएको छ । प्रहरी उपरीक्षकको कमाण्डमा ११ स्थानमा सब- कमाण्ड पोष्ट स्थापना गरी तीर्थयात्रीको सुरक्षा व्यवस्थापन मिलाइएको कोषले जनाएको छ ।

पशुपतिमा शिवरात्रिलाई लक्षित गरी पशुपति मन्दिर क्षेत्रलाई फूलमालाले सिंगारेर आकर्षक बनाएको छ । देशका बिभिन्न स्थानदेखि भारतबाट समेत दर्शनार्थीहरु पशुपति आएका छन् । करिब ३५ सय साधुसन्त र नागाबाबाहरु पनि पशुपतिमा आएका कोषले जनाएको छ । पशुपतिमा आएका दर्शनार्थीहरुलाई हात धुने र स्यानिटाइजरको व्यवस्था मिलाइएको छ ।

भिडभाड व्यवस्थापनका लागि पुरानो बानेश्वर, चाबहिल, तिलगंगादेखि कालोपुलसम्मको क्षेत्रबाट सवारी साधन प्रवेश निषेध गरिएको छ । यसैगरी पुरानो बानेश्वर, भिमसेनगोला, सिनामंगलसम्मको बाटोबाट पनि प्रवेश निषेध गरिएको छ । धोबिखोलातर्फ रातोपुल, कालोपुल, सिफलसम्म र चाबहिल, गौरीघाट लगायत क्षेत्रबाट पनि पशुपति क्षेत्र प्रवेशमा रोक लगाइएको छ ।