Sunday 26th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

अमेरिकाले युरोपमा थप २ हजार सैनिक खटाउने

Thursday, February 3, 2022 National Power

काठमाडौं – युक्रेनमा रुसले आक्रमण गर्न सक्ने भन्दै अमेरिकाले यसै हप्ता युरोपमा अतिरिक्त सेना पठाउने निर्णय गरेको छ ।अमेरिकी राष्ट्रपति जो बाइडनले करीब दुई हजार सैनिक युरोपको सीमा क्षेत्रमा पठाउने निर्णय गरेका ह्वाइट हाउसका अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । यी सैनिकहरु फोर्ट ब्राग, नर्थ क्यारोलिनाबाट पोल्याण्ड र जर्मनी पठाइने छ । यसैगरी जर्मनीमा पहिलेदेखि नै तैनाथ एक हजार सैनिकलाई रोमानिया तैनाथ गरिने बीबीसीले जनाएको छ ।

युरोप पठाइने अमेरिकी सैनिक युद्धमा सामेल हुने छैनन् । यी सैनिकहरु अमेरिकाको सहयोगी देशको रक्षाका लागि हुन् । यसअघि अमेरिकाले साढे आठ हजार सैनिकलाई उच्च सतर्कताका साथ राख्ने निर्णय गरेको थियो । रुसले युक्रेनमा आक्रमण गर्ने योजनाको खण्डन गर्दै, अमेरिकाले जबरजस्ती युद्धमा धकेल्न खोजेको बताउँदै आएको छ । यद्यपि रुसले युक्रेनको सीमा क्षेत्रमा करीब एक लाख सैनिक तैनाथ गरेको छ । युक्रेनले भने आक्रमणको आतंकले अर्थव्यवस्था चौपट हुनसक्ने भन्दै डर नदेखाउन पश्चिमा देशहरुलाई आग्रह गर्दै आएको छ ।

रुसले युक्रेनको दक्षिणी क्षेत्र क्राइमिया कब्जा गरेको आठ वर्षपछि पछिल्लो संकट सिर्जना भएको छ । रुसले युक्रेनमाथि पूर्वमा शान्ति कायम गर्न भएको अन्तर्राष्ट्रिय सम्झौता लागू गर्न विफल भएको आरोप लगाउँदै आएको छ । अमेरिका नेतृत्वको सैन्य गठबन्धन नेटोमा युक्रेन सहभागी नहोस् भन्ने रुस चाहन्छ । रुसले युक्रेनको पूर्वी डोनबास क्षेत्रमा सक्रिय सरकार विरोधी समूहलाई साथ पनि दिंदै आएको छ ।रुस समर्थित विद्रोही समूहको युक्रेनको पूर्वी क्षेत्रमा वर्चस्व छ । सन् २०१४ देखि हालसम्म त्यहाँ भएको आक्रमणबाट करीब १४ हजार जनाको ज्यान गइसकेको छ ।