Friday 24th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

सुदूरपश्चिममा ओरालो लाग्यो कोरोना सङ्क्रमण दर

Monday, January 31, 2022 National Power

धनगढी- सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमण दर घटेको छ । एक हप्ता अगाडि उच्च विन्दुमा पुगेको सङ्क्रमण दर केही दिनदेखि ओरालो लागेको देखिएको छ । प्रादेशिक स्वास्थ्य निर्देशनालयको तथ्याङ्कअनुसार यो प्रदेशमा माघ १० गते कोरोना सङ्क्रमण दर उच्च देखिएको थियो । त्यो दिन प्रदेशभरि एक हजार ५४७ जनाको परीक्षण गर्दा ५५० जनामा सङ्क्रमण पुष्टि भई सङ्क्रमण दर ३५.५५ प्रतिशत पुगेको थियो ।

यसैगरी, सङ्क्रमित हुनेको सङ्ख्या भने सबैभन्दा बढी माघ ११ गते रहेको थियो । सो दिन एक हजार ९७३ जनाको परीक्षण गर्दा ६५२ जनामा सङ्क्रमण पुष्टि भएको थियो । यद्यपि, सङ्क्रमण दर भने ३३.३८ प्रतिशत रहेको थियो । यस्तै, माघ १२ गते सङ्क्रमण ३३.१७ प्रतिशत, १३ गते २९.१६ प्रतिशत, १४ गते २८.७ प्रतिशत र माघ १५ गते सङ्क्रमण दर २३ प्रतिशतमा झरेको छ । माघ १२ देखि १५ गतेसम्म क्रमशः ६१४, ५५८, ४८६ र २६९ जनामा सङ्क्रमण पुष्टि भएको निर्देशनालयको तथ्याङ्कमा उल्लेख छ । ती दिनमा क्रमशः एक हजार ८५०, एक हजार ९१३, एक हजार ६९३ र एक हजार १६९ जनाको परीक्षण गरिएको थियो ।

प्रदेशको यो तथ्याङ्कले सङ्क्रमण दर विस्तारै ओरालो लागेको पुष्टि गरेको छ । कैलालीमा भने परीक्षण सङ्ख्या घटेको तर संक्रमित दर पहिलेकोजस्तै रहेको सेती प्रादेशिक अस्पतालले जनाएको छ । यहाँ अझै पनि पोजिटिभिटी दर ६० देखि ६५ प्रतिशत रहेको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताउनुभयो । कैलालीको हकमा यो अस्पतालको प्रयोगशालामा पीसीआर विधिबाट परीक्षण हुनेगरेको छ । ‘कैलालीमा सङ्क्रमण दर घटेको होइन, परीक्षण सङ्ख्या मात्रै घटेको हो’, सूचना अधिकारी श्रेष्ठले भन्नुभयो । ‘अझै पोजेटिभ आउने दर कम भइसकेको छैन ।’

पछिल्लो सयम पीसीआर चेकजाँचको शुल्क लिने व्यवस्था भए्पछि परीक्षण सङ्ख्या घटेको सेती प्रादेशिक अस्पतालले जानकारी दिएको छ । ‘लक्षण नभएका तर, स्वेच्छिक रुपमा चेकजाँच गराउने व्यक्तिको ८०० रुपियाँ शुल्क तोकिएको छ’, सूचना अधिकारी श्रेष्ठले भन्नुभयो । ‘शुल्क लिन थालेपछि परीक्षण गराउनेको सङ्ख्या घटेको हो ।’ लक्षण देखिएका बिरामीहरुको भने निःशुल्क परीक्षण हुनेगरेको श्रेष्ठले बताउनुभयो ।

सेती प्रादेशिक अस्पतालको आइसीयुमा पछिल्लो २४ घण्टामा तीन जना सङ्क्रमितलाई भर्ना गरिएको छ । अहिले अस्पतालमा १८ जना सङ्क्रमित उपचाररत रहेका छन् । जसमध्ये ६ जनालाई आइसीयु र एक जनालाई भेन्टिलेटरमा राखेर उपचार गरिरहेको अस्पतालका सूचना अधिकारी श्रेष्ठले जानकारी दिनुभयो । पछिल्लो २४ घण्टामा अस्पतालबाट चार जना बिरामी निको भएर घर फर्केका छन् ।