Monday 20th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

पत्रकार उमा सिंहको स्मृति दिवस आज, १३ वर्ष अघि यसरी भएको थियो हत्या

Tuesday, January 11, 2022 National Power

धनुषा -पत्रकार उमा सिंहको हत्या भएको १३ वर्ष पूरा भएको छ । २०६५ साल पुस २७ गते जनकपुरधामको रजौलस्थित आफ्नै डेरामा उनको हत्या भएको थियो । पत्रकार सिंहकै भाउजू ललिता सिंहले धनको लोभमा हत्या गराएको ठहर भइसकेको छ । धनुषा जिल्ला अदालतले पत्रकार उमा सिंह हत्या प्रकरणका मुख्य अभियुक्त स्वामीजी भनिने उमेश यादवलाई जन्मकैदको सजाय सुनाइसकेको छ । यादवले उमाकी भाउजू ललिता सिंहसँग मिलेर हत्याको योजना बनाएका थिए ।

उमा सिंह हत्याको अभियोगमा उमाकी भाउजू ललिता सिंह, ललिताको छोरा अभिषेक सिंह, सिरहा रामपुरका श्रवण कुमार यादव, धनुषा लक्कडका नेमलाल पासवान, बल्हा सघाराका स्वामीजी भनिने उमेश यादव, सिरहा महेशपुरका चन्देश्वर साह, सिरहा सिमराका धनेश्वर साह, सिरहा सितापुरका विजय यादव, विन्दु यादव, भारत सीतामढीको नरहा कटरहियाका वैद्यनाथ सिंह र उनका छोराहरू धनञ्जय सिंह र अजय सिंह, राजपुरका सुभाष यादव भन्ने सुमेश्वर यादव, महोत्तरी खुट्टा पिपराढीका विमलेश झा भनिने विमलेश विमलविरुद्ध धनुषा जिल्ला अदालतमा अभियोग पत्र दायर गरिएको थियो ।

२०६८ जेठ २६ मा धनुषा जिल्ला अदालतका न्यायाधीश विमलप्रसाद ढुङ्गेलले उमा सिंहकी भाउजू ललिता सिंहलाई जन्म कैद र नेमलाल पासवानलाई सर्वस्वसहित जन्म कैद सजायको फैसला गरेका थिए । उमा सिंहकी भाउजू ललिताले राष्ट्रपति विद्यादेवी भण्डारीबाट २ वर्ष अगाडि आम माफी पाइसकेकी छिन् भने पासवान अहिले पनि जेलमै छन् ।

यस्तो छ हत्याको कारण

उमाको आमा सुशिला सिंहले केही जग्गा उनको नाममा गरेर विवाह गरिदिने योजना बनाएकी थिइन् । यो विषयमा उनकी आमाले भाउजू ललिता सिंहसँग चर्चा गरिन् । तर ललिताले यो प्रस्तावको विरोध गरिन् । ललिताले सम्पूर्ण सम्पत्ति एकलौटी पाउनका लागि स्वामी यादव भनिने उमेश यादव, नेमलाल पासवान, चन्देश्वर साह, धनेश्वर साह, विजय यादव, विन्दु यादवसँग मिलेर हत्या गराएको तत्कालीन अनुसन्धान अधिकृत प्रहरी नायव उपरीक्षक रामकृष्ण कार्कीको प्रतिवेदनमा उल्लेख छ ।

उमा सिंहलाई जनकपुरधाममा मात्रै नभई पूरै नेपालमा पत्रकारिता जगतमा साहसको प्रतीकका रुपमा चिनिन्छ । पत्रिका र एफएममा समाचार संकलन गर्ने, सम्पादन गर्ने, अन्तर्वार्ता गर्ने, कार्यक्रम चलाउने तथा राजनीतिक भ्रष्टाचार, महिला हिंसाजस्ता विषयमा समेत टिप्पणी गर्न सक्ने क्षमता रहेकी उमाले मधेसमा पत्रकारिता क्षेत्रका नवप्रवेशीहरुका लागि एउटा उदाहरण प्रस्तुत गरेर यो संसारबाट बिदा लिइन् ।

सिरहाको महेशपुर गाउँकी उमाले लहानस्थित दृष्टिकोण टाइम्स साप्ताहिकबाट पत्रकारिता सुरु गरेकी थिइन् भने उनी पछिल्लो समय जनकपुरस्थित रेडियो टुडेमा कार्यरत थिइन् । सिरहाकै पहिलो महिला पत्रकार समेत बन्न पुगेकी उनी जनकपुरधाम आउनु पूर्व लहानमा डेढ वर्षसम्म पत्रकारिता गरेकी थिइन् ।