Wednesday 15th April 2026

    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक 

दूध आयात अनुमति अनिर्णीत

Tuesday, January 4, 2022 National Power

काठमाडौँ- सरकारले विदेशबाट दूध तथा दुग्धजन्य पदार्थ आयात गर्न दिने कि नदिने निर्णयलाई डेरी उद्योगीले केही दिन पर्खिनुपर्ने भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतको राष्ट्रिय दुग्ध विकास बोर्डले दूध तथा दुग्धजन्य पदार्थ आयात गर्ने विषयमा आइतबार सरोकारवालासँग छलफल गर्दा दूधको मूल्य निर्धारण भएपछि मात्र त्यस विषयमा छलफल गरेर टुङ्ग्याउने निष्कर्ष निकालेको छ ।
बोर्डका प्रमुख डा। राजेन्द्र यादवले दूध तथा दुग्धजन्य पदार्थ आयात गर्ने कि नगर्ने विषयमा सरोकारवालासँग भएको छलफलमा दूधको मूल्य वृद्धि गर्ने तयारी भइरहेको र त्यतिबेलासम्म यो निर्णयलाई कुर्ने सहमति भएको बताउनुभयो ।

सबैको धारणा आएपछि बोर्डका प्रमुख यादवले पुसको अन्तिमसम्ममा दूधको मूल्य निर्धारण हुने र निर्धारण भइसकेको एक महिनापछि पुनः दूध तथा दुग्धजन्य पदार्थको अवस्थाबारे छलफल गरेर आयात गर्ने कि नगर्ने विषयमा निर्णय लिने बताउनुभयो ।
डेरी उद्योगी सङ्घले दूधको अभाव भएकाले दैनिक एक लाख लिटर दूध भारतबाट आयात गर्न अनुमति माग्दै कृषि मन्त्रालयमा निवेदन दिएको छ । सोही क्षेत्रको अर्को सङ्गठन नेपाल डेरी एसोसिएसनले भारतबाट कच्चा दूध आयात गर्न नहुने बरु आवश्यकताअनुसार धुलो दूध आयातका लागि अनुमति दिनुपर्ने भन्दै कृषि मन्त्रालयमा निवेदन दर्ता गराएको छ ।

दुवै पक्षको निवेदन परेपछि मन्त्रालयले त्यस विषयमा छलफल गरेर प्रतिवेदन बुझाउन बोर्डलाई निर्देशन दिएको थियो । सोही निर्देशनका आधारमा बोर्डले सङ्घ, एसोसिएसन, दुग्ध विकास संस्थान ९डीडीसी०, केन्द्रीय दुग्ध सहकारी सङ्घ लिमिटेडलगायतका सरोकारवालासँग छलफल गरेको छ ।

छलफलमा सङ्घका अध्यक्ष राजकुमार दाहालले सुक्खा सिजनका लागि दूधको अभाव हुने देखिएकाले अहिले भारतबाट झोल दूध मगाएर धुलो दूध बनाएर राख्नुपर्ने अवस्था रहेको धारणा राख्नुभएको थियो । एसोसिएसनका महासचिव प्रह्लाद दाहालले झोल दूध, धुलो दूध, बटरलगायतका दुग्धजन्य पदार्थको आवश्यकता कति छ, त्यसको अध्ययन गरेर मात्र आयात गर्न दिनुपर्ने धारणा राख्नुभएको थियो । वास्तवमा यहाँ आवश्यकता छ कि छैन, त्यसको यकिन गरेर आयातको अनुमति दिनुपर्ने धारणा उहाँले राख्नुभएको थियो भने केन्द्रीय दुग्ध सहकारी सङ्घ लिमिटेडका अध्यक्ष नारायण देवकोटाले दूधको अभाव नरहेको धारणा राख्नुभएको थियो ।

“यहाँ किसानको दूध बिक्री नभएर हैरान छन् । डेरी उद्योगी भने बाहिरबाट दूध ल्याउन खोजिरहेका छन्, यो गलत हो,” छलफलमा उहाँले प्रस्ट्याउनुभयो । उहाँले आवश्यकताअनुसार दूध भएको तर यसलाई कसरी व्यवस्थित गर्ने भन्नेबारे छलफल गरेर अगाडि बढ्नुपर्ने सुझाव दिनुभएको थियो ।

केन्द्रीय पशुपन्छी सहकारी सङ्घका अध्यक्ष बाबुराम अधिकारीको कुरा पनि त्यस्तै थियो । उहाँले पनि नेपालमा दूधको अभाव नरहेको धारणा राख्नुभएको थियो । उहाँले अहिले दूध तथा दुग्धजन्य पदार्थको अभाव रहेको तर त्यसको समाधान कसरी गर्ने भन्नेबारे छलफल गर्नुपर्ने धारणा राख्नुभएको थियो ।