Thursday 23rd April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

राइफलको गोली लागेर सेनाका जवान गम्भीर घाइते

Monday, June 21, 2021 National Power

वीरगञ्ज – पर्साको वीरगञ्ज– ८ स्थित नेपाली सेनाको चण्डीप्रसाद गणका एक जना सिपाही गोली लागेर घाइते भएका छन् । पोखरिया नगरपालिका–५ सतवरिया घर भएका २२ वर्षीय श्यामबाबु प्रसाद चौहान घाइते भएका हुन् ।

उनको बायाँ चिउँडोको मुनि (घाँटीको भाग) र दाहिने आँखाको मुनि (अनुहारको भाग) मा एन–१६ राइफलको गोली लागेको घाउ छ । उनको घाउ हेर्दा गोली छेडेर बाहिर निस्किएको जस्तो देखिन्छ । आफैंले बोकेको राइफल पड्किएर उनी घाइते भएको सैनिक स्रोत बताउँछ ।

गणको कार्यालय भवन पछाडिको पोष्टमा सिपाही नरेश गुरुङसहित आइतबार साँझ ६ बजेदेखि ९ बजेसम्मको पोष्ट ड्युटीमा चौहान खटिएका थिए । ड्युटीमै रहेको बेला गएराति ८ः३५ बजे गोली पड्किएको आवाज आएको थियो । त्यतिखेर नरेश गुरुङ ट्वाइलेट गएका थिए । ब्यारेकभित्र रहेका सैनिकहरू गई पोष्टमा चढी हेर्दा श्यामबाबुले कोतबाट आफ्नै नाममा बुझेको एम १६ हतियारबाट एक राउण्ड फायर भएर घाइते अवस्थामा देखिएको थियो ।

उनलाई तत्काल उपचारको लागि नारायणी अस्पताल वीरगञ्जमा लगिएको थियो । त्यहाँबाट थप उपचारको लागि नेशनल मेडिकल कलेज वीरगञ्जमा रिफर गरिएको थियो । घाइते चौहानको गम्भीर अवस्थामा नेशनल मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

लापरबाहीले घटना घटेको हो वा आत्महत्या प्रयास हो भन्ने बारेमा पछि अनुसन्धान गरिने गणका गणपति कर्णेल मदनजंग राणाले बताए ।

‘पहिला उपचारलाई प्राथमिकता दिएका छौं, बिरामीको होस आएको छ, थप उपचारका लागि काठमाण्डुस्थित आर्मी अस्पताल लैजान हेलिकप्टर आउँदैछ,’ उनले भने, ‘उपचारबाट अलि राम्रो भएपछि उसले घटना कसरी भयो रु भनेर आफैं बताउँछ, घटनाको सेनाले नै अनुसन्धान गर्छ । आवश्यक पर्‍यो भने प्रहरीको पनि मद्दत लिन्छौं ।’