Sunday 14th December 2025

    लोकगायिका रीता थापा कांग्रेस धादिङ २ बाट उम्मेदवार सिफारिस    देशनिकाला प्रक्रियालाई थप तीव्र बनाउँदै अमेरिका, ६ वटा बोइङ विमान खरिद गर्ने तयारी    आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विविध कार्यक्रम गरी मनाइँदै    समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता    एनपीएल २०२५ : फाइनल प्रवेशका लागि सुदूरपश्चिम र विराटनगर खेल्दै

उपत्यका प्रशासनले पनि सवारीसाधन सञ्चालन गर्न दिने/नदिने बारे विज्ञसँग पनि छलफल गर्ने

Saturday, June 19, 2021 National Power

 काठमाडौं – स्थानीय प्रशासनले थप केही प्रावधानलाई खुकुलो बनाउँदै उपत्यकामा एक साता निषेधाज्ञा थप्ने तयारी गरेको छ । तर जोर बिजोरका आधारमा सवारी साधन चल्न दिने कि नदिने भन्ने टुंगो भइसकेको छैन ।

निषेधाज्ञाबारे छलफल गर्न आइतबार काठमाडौं, भक्तपुर र ललितपुरका कोभिड–१९ जिल्ला संकट व्यवस्थापन समिति (डिसीसीएमसी) को बैठक बस्दैछ । डिसीसीएमसीको बैठकपछि तीन प्रमुख जिल्ला अधिकारीबीच हुने छलफलले निषेधाज्ञाबारे निर्णय गर्नेछ ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुली भन्छन्, ‘भोलि वा पर्सि तीन प्रमुख जिल्ला अधिकारी बसेर निषेधाज्ञाको मोडालिटीबारे टुंगो लगाउँछौं ।’

कोभिड–१९ निर्देशक समिति बैठकले अबका दिनमा ‘स्मार्ट लकडाउन’ गर्ने निर्णय गरेको थियो । यसको मोडालिटी बनाउने जिम्मा कोभिड–१९ संकट व्यवस्थापन समिति(सीसीएमसी)लाई छ । तर सीसीएमसीले अन्तिम निर्णय गरिसकेको छैन ।

सीसीएमसीका एक अधिकारी भन्छन्, ‘जनजीवनलाई सहज बनाउँदै वैज्ञानिक लकडाउन गर्न भनेका हौं ।’ सीसीएमसीले ‘लकडाउन’ शब्द प्रयोग गरेको भए पनि यो हाल रहेको निषेधाज्ञालाई नै व्यवस्थित गर्ने विषय भएको उनी बताउँछन् ।

उनका अनुसार संक्रमण धेरै देखिएका क्षेत्रलाई मात्र सिल गरेर परीक्षण र कन्ट्रयाक ट्रेसिङलाई बढाउने प्रावधान ‘स्मार्ट लकडाउन’को प्रावधानमा राख्ने तयारी छ । यसको मोडालिटीमा स्वास्थ्य मापदण्ड पालना गराएर आर्थिक गतिविधिलाई अगाडि बढाउने विषय छ । सीसीएमसी स्रोत भन्छ, ‘कुल सवारी साधनको संख्यालाई विश्लेषण गरेर एक तिहाइ वा कति वैज्ञानिक हुन्छ, सञ्चालन गर्न दिने विषयमा पनि छलफल भइरहेको छ ।’

गत वर्ष लकडाउन खुकुलो पार्दै जाँदा प्रशासनले जोर–बिजोर प्रणालीमा सवारी साधन चल्न दिएको थियो । यद्यपि, त्यसो गर्दा भीड ह्वात्तै बढेको थियो ।

‘यसपालि चाहिं सवारीसाधनको अन्तिम नम्बरको आधारमा बार तोकेर निजी सवारी साधन चलाउन दिने कि भन्ने विषयमा छलफल भइरहेको छ,’ सीसीएमसीका एक पदाधिकारी भन्छन् । तर उपत्यकामा निषेधाज्ञाबारे थप निर्णय लिन दुई दिन बाँकी रहँदासम्म सीसीएमसीले यसबारे निर्णय गरिसकेको छैन ।

उपत्यका प्रशासनले पनि सवारीसाधन सञ्चालन गर्न दिने÷नदिनेबारे विज्ञसँग पनि छलफल गर्ने भएको छ ।

‘सुरुमा डीसीसीएमसीमा छलफल गर्छौं, त्यसपछि विज्ञसँग पनि परामर्श लिन्छौं,’ एक अधिकारीले भने, ‘संक्रमणको जोखिम अझै कम भइसकेको छैन, त्यसैले अझै एक हप्ता हेर्ने कि भन्ने पनि छ । सीसीएमसीले पनि के भन्छ, कुरिरहेका छौं ।’ प्रशासनले कोभिड–१९ भाइरसको दोस्रो लहरको ‘चेन ब्रेक’ गर्ने भन्दै १६ वैशाखदेखि उपत्यकामा निषेधाज्ञा लगाएको थियो । पछिल्लो सातामा चरणबद्धरुपमा प्रशासनले निषेधका क्षेत्रहरुलाई घटाउँदै आएको छ ।