Monday 20th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

प्रारम्भ र आनी छोइङ डोल्मा फाउण्डेशनद्वारा नमोबुद्ध र रोशीलाई स्वास्थ्य सामग्री सहयोग

Sunday, May 30, 2021 National Power

भकुण्डेबेशी  – नेपाल पत्रकार महासंघ काभ्रे शाखाको समन्वयमा नमोबुद्ध नगरपालिका र रोशी गाउँपालिकालाई स्वास्थ्य सामग्री प्रदान गरिएको छ ।
दुईवटा पालिकाले संयुक्तरुपमा नमोबुद्ध ४ मा सञ्चालन गरेको आइसोलेसन केन्द्रका लागि प्रारम्भ (सामाजिक संस्था) र आनी छोइङ डोल्मा फाउण्डेशनले अत्यावश्यक स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन् । आइसोलेसन केन्द्रका लागि दुई थान अक्सिजन कन्सन्ट्रेटर, २० थान पिपिई र पाँच थान पल्स अक्सीमिटर प्रदान गरिएको छ ।
आइतबार सुप्रसिद्ध गायिाका एवं सामाजसेवी आनी छोइङ डोल्मा प्रारम्भ सामाजिक संस्थाकी अध्यक्ष एवं सिंगापुर रेडक्रसका नेपाल प्रतिनिधि कल्पना क्षेत्रीले नमोबुद्ध नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेल र रोशी गाउँपालिका उपाध्यक्ष लक्ष्मी उप्रेती (बर्तौला)लाई संयुक्तरुपमा स्वास्थ्य सामग्री हस्तान्तरण गरे ।
स्वास्थ्य सामग्री हस्तान्तरण गर्दै गायिका आनी छोइङ डोल्माले महामारीको यो समयमा सांकेतिकरुपमै भए पनि केही सहयोग गरेर फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मी र कोरोनाबाट प्रभावित व्यक्तिहरुका लागि हौसला बढाउन खोजिएको बताइन् । आफूहरुले गरेको सहयोगले केही व्यक्तिको जीवन जोगियो भने त्यो नै ठूलो कुरा भएको भन्दै उनले समस्या पर्दा विदेशी दाता गुहार्ने भन्दा आफ्नाहरुको लागि आफ्नैले सहयोग गर्नुपर्छ भन्ने भावना विकसित गर्न खोजेको बताइन् । आफूहरु महामारी रोकथाम र नियन्त्रणको अभियानमा स्थानीय तहसँग साथै रहेको अनुभूति गराउन सहयोगको अभियान थालिएको उनको भनाई थियो ।
प्रारम्भका अध्यक्ष एवं सिंगापुर रेडक्रसका नेपाल प्रतिनिधि कल्पना क्षेत्रीले विपद र महामारीको बेला रेडक्रसले सहयोगको कार्य गरिरहेको स्मरण गराउँदै नेपालको सन्दर्भमा सिंगापुर रेडक्रस पनि दुःखमा सारथी बन्ने प्रयत्न स्वरूप स्वास्थ्य सामग्री सहित आएको बताइन् । यस्तै नमोबुद्ध नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले सीमित स्रोत र साधनका बाबजुद नमोबुद्ध नगरपालिका र रोशी गाउँपालिका मिलेर संयुक्तरुपमा आइसोलेसन केन्द्र सञ्चालन गरेको र यसमा दाताहरुको सहयोगले ठूलो हौसला मिलेको बताए । दाताहरुबाट प्राप्त स्वास्थ्य सामग्रीको भरपुर उपयोग गरेर जनताको जीवन रक्षाका लागि लागिपर्ने पनि पौडेलले बताए ।
यस्तै रोशी गाउँपालिका उपाध्यष लक्ष्मी उप्रेती बर्तौलाले जनताको जीवन रक्षाका लागि वितगदेखि नै नमोबुद्ध र रोशीबीच सहकार्य हुँदै आएको र यसपटक पनि त्यसैको निरन्तरतास्वरुप संयुक्त आइसोलेसन सञ्चालन गरिएको बताइन् । उनले आइसोलेसनका लागि प्राप्त स्वास्थ्य सामग्रीले कोभिड महामारी नियन्त्रण र रोकथामका लागि थप मद्दत पुगेको बताइन् ।
नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष बद्रीराज तिमल्सिनाले पत्रकार महासंघ काभ्रे शाखाको समन्वयमा यसअघि पाँचखाल र भुम्लुको संयुक्त आइसोलेसन तथा बनेपा, धुलिखेल र पनौती नगरपालिकाको आइसोलेसनका लागि आवश्यक स्वास्थ्य सामग्री सहयोग गरिएको बताए । उनले प्रारम्भ (सामाजिक संस्था) र आनी छोइङ डोल्मा फाउण्डेसनबाट धुलिखेल अस्पताल, शिर मेमोरियल अस्पताल र मेथिनकोट अस्पतालका लागि स्वास्थ्य उपकरणहरु सहयोग गर्न लागिएको जानकारी पनि दिएका छन् ।
–२०७८ जेठ १६ गते