Friday 13th March 2026

    नेशन्स गट ट्यालेन्ट सिजन २ भव्यताका साथ सम्पन्न    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee

समयमै उपचार नपाउँदा बढी मृत्यु

Thursday, May 20, 2021 National Power

काठमाडौ कोभिड–१९ ले वैशाख लागेयता ३६ दिनमा २ हजार ५ सय ९९ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार अपराह्न सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घण्टामा अहिलेसम्मकै बढी २ सय ४६ जना संक्रमितले ज्यान गुमाएका छन् ।

समयमै अक्सिजन, आईसीयू र भेन्टिलेटर नपाएकाले संक्रमणले बढी मृत्यु भएको विज्ञहरूले दाबी गरेका छन् । ‘आधाजसोको मृत्यु समयमै उपयुक्त चिकित्सा सेवा सुविधा नपाएर भएको देखिन्छ,’ इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा ९ईडीसीडी० का पूर्वनिर्देशक डा। जीडी ठाकुरले भने ।
संक्रमणले वैशाख १ गते ३ जनाको मृत्यु हुँदा मृतकको कुल संख्या ३ हजार ६१ थियो । वैशाखको पहिलो साता नै एक दिनमा ज्यान गुमाउनेको संख्या दुई अंक अर्थात् १० माथि पुग्यो, वैशाख २७ पछि तीन अंक अर्थात् सयभन्दा बढीको मृत्यु हुन थाल्यो । ‘दोस्रो लहरमा कोभिडले मृत्यु हुनेको संख्या हरेक साता अप्रत्याशित रूपमा दोब्बरभन्दा बढी भएको छ,’ वरिष्ठ जनस्वास्थ्यविद् डा। राजेन्द्र बीसीले भने, ‘गत वर्ष कोभिडको पहिलो लहरमा यस्तो अवस्था थिएन ।’

ईडीसीडीका पूर्वनिर्देशक डा। ठाकुरले चिकित्सा सेवा सुविधा बेलैमा नपाउँदा धेरै संक्रमितको मृत्यु भएको बताए । ‘उपयुक्त सेवा बेलैमा पाएको भए कोभिडले मृत्यु भएको भनिएकामध्ये करिब आधा जतिलाई बचाउन सकिन्थ्यो,’ उनले भने । डा। ठाकुरले रोग पहिचान नभएर कतिपय संक्रमितको घरमै मृत्यु भएको हुन सक्ने पनि बताए । ‘देशभरिका पालिकामा डेढ महिनायता दर्ता भएको मृत्युको विश्लेषण आवश्यक छ । करिब ९० प्रतिशतसम्म मृत्यु कोभिडसँग सम्बन्धित हुन सक्छ,’ उनले भने ।

कोभिडको दोस्रो लहरअन्तर्गत वैशाख २ देखि ८ गतेसम्म एक सातामा ५१ जनाको संक्रमणले मृत्यु भएको थियो । वैशाख ९ देखि १५ गतेसम्म ९९, वैशाख १६ देखि २२ सम्म २ सय ६४, वैशाख २३ देखि २९ सम्म ७ सय ७७ र वैशाख ३० देखि जेठ ५ सम्म १ हजार ४ सय ५ जनाको मृत्यु भएको छ । कोभिडको पहिलो लहरमा अधिक संक्रमित देखिएका बेला सातामा अधिकतम १ सय ६८ जनाको मृत्यु भएको थियो । पहिलो लहरमा गत कात्तिक १९ गते एक दिनमा सबैभन्दा बढी ३० जनाको मृत्यु भएको थियो ।

विगत दुई सातामा संक्रमितको संख्या लगभग उस्तै रहे पनि मृत्यु हुनेको संख्या तीन गुणाभन्दा बढी देखिएको छ । गत वैशाख २२ गते ८ हजार ६ सय ५ जना संक्रमित देखिएका बेला ५८ जनाको मृत्यु भएको थियो भने जेठ ५ गते बुधबार ८ हजार ६४ जना संक्रमित देखिँदा मृतकको संख्या भने २ सय ४६ पुगेको छ । सक्रिय संक्रमितको संख्या १ लाख १४ हजार ३ सय ६८ पुगेको छ । कोरोनाले हालसम्म ५ हजार ६ सय ५७ जनाको ज्यान लिइसकेको छ ।

आईसीयू र भेन्टिलेटरमा रहेकाहरूको संख्यामा समेत पछिल्ला पाँच सातामा अप्रत्याशित वृद्घि देखिएको छ । नयाँ वर्षकै दिन २० जना भेन्टिलेटरमा सहित ९७ जना आईसीयूमा थिए । ३६ दिनपछि जेठ ५ गते बुधबार ३ सय ८१ जना भेन्टिलेटरमा सहित १ हजार ६ सय १८ जना आईसीयूमा छन् । डा। ठाकुरका अनुसार भेन्टिलेटरमा भएकामध्ये ६० देखि ८० प्रतिशतसम्मको मृत्यु हुने गरेको देखिएको छ ।                       :- साभार : ईकान्तिपुर डट कम