Sunday 26th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

महोत्तरीबाट बेपत्ता भएकाहरु भारतमा फेला परे : नगरप्रमुख साह

Wednesday, March 31, 2021 National Power

जनकपुरधाम – महोत्तरीको भंगहा नगरपालिकाबाट मंगलबारदेखि बेपत्ता भएका ७ जना किशोरीहरु भारतको सितामढीमा फेला परेको सूचना आएपछि नेपाल प्रहरीको एक टोली त्यसतर्फ प्रस्थान गरेको छ । बेपत्ता भएकाहरू भारतको सितामढीस्थित रेल्वे लाइन नजिकै फेला परेको भन्दै भंगहा नगरपालिकाका प्रमुख सन्जीवकुमार साहले प्रहरीलाई जानकारी दिएका थिए ।
सो सूचना पाएपछि प्रहरीको एक टोली ती किशोरी तथा बालिकाहरुको फोटोसहित सितामढी प्रस्थान गरेको हो । प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराईले अनलाइनखबरसँग भने, ‘नेपाली किशोरीहरु सितामढीमा भेटिएको सूचना पाएपछि प्रहरीको टोलीलाई उनीहरुको फोटोसहित पठाइएको छ । ती किशोरीहरु भँगाहा नगरपालिकाबाट हराएकैहरु हुन् कि होइनन् भन्ने कुरा केहीबेरमा थाहा हुन्छ ।’

घाँस काट्न सँगै गएका भंगहा नगरपालिका ७ धर्मपुरकी ७ की १८ वर्षीया अस्मिता पासवान, सोही उमेरकी नगिना पासवान, १५ वर्षीया रिया पासवान, सोही उमेरकी अर्चना पासवान, १३ वर्षीया ज्योती पासवान, १० वर्षीय रन्जना पासवान र सोही उमेरकी सीमा पासवान बेपत्ता भएका थिए ।

सशस्त्र प्रहरीको समन्वयमा भारतीय प्रहरीले ती बालिका तथा किशोरीहरुलाई फेला पारेको भंगाहा नगरपालिकाका प्रमुख साहले बताए । ‘बालिका बेपत्ता भएको खबर सशस्त्र प्रहरी समेतलाई दिएपछि उनीहरुले भारतीय प्रहरीसँग तत्कालै समन्वय गर्दा बालिका फेला परे,’ उनले भने, ‘सातै जनाको नाम पनि मिलिसकेको छ ।’ उनीहरु अहिले भारतीय प्रहरीको निगरानीमा रहेको उनले बताए ।

प्रमुख साहले सितामढीमा फेला परेका बालिकालाई ल्याउन आफैं त्यसतर्फ गइरहेको बताए । ‘उनीहरुलाई ल्याउन मेरै नेतृत्वमा टोली गइरहेको छ,’ उनले भने ।

बालिका किन र कसरी त्यहाँसम्म पुगे भन्ने कुरा खुल्न सकेको छैन । प्रमुख जिल्ला अधिकारी भट्टराईले भने, ‘भारतसम्म पुर्याउन कसले समन्वय गर्यो भन्ने कुराको अनुसन्धान भइरहेको छ ।’