Friday 17th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

प्रचण्ड भन्छन्- राष्ट्रिय सहमतिका साथ अघि बढ्छौं, ओलीसँग पनि सम्वाद हुन्छ

Wednesday, February 24, 2021 National Power

काठमाडौं – संसद पुनर्स्थापनासँगै दलहरु आन्तरिक रणनीतिमा जुटेका छन् । प्रमुख प्रतिपक्षी दल कांग्रेसले केन्द्रीय समितिको बैठक आह्वान गर्ने तयारी गरेको छ भने नेकपा प्रचण्ड-माधव नेपाल समूहले संसदीय दलको बैठक बोलाएको छ । यस्तै नेकपा ओली समूहले स्थायी कमिटी बैठकमा पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल गर्दैछ ।

सर्वोच्च अदालतले संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई असंवैधानिक ठहर गर्दै १३ दिनभित्र संसद बैठक आह्वान गर्न आदेश दिएपछि नयाँ सत्ता समीकरणबारे चासो बढेको छ ।

यसैक्रममा नेकपा अध्यक्ष प्रचण्ड र नेपालले कांग्रेस सभापति शेरबहादुर देउवासँग टेलिफोनमा कुराकानी गरेका छन् । यद्यपि टेलिफोन सम्वादमा बधाई साटासाट मात्र भएको देउवाका प्रमुख स्वकीय सचिव भानु देउवा बताउँछन् ।

प्रचण्डले यसअघि नै संसद पुनर्स्थापना भए देउवालाई प्रधानमन्त्री स्वीकार्न आफूलाई कुनै आपत्ती नभएको बताइसकेका छन् । त्यसअघि प्रचण्ड र नेपालले देउवालाई भेटेर केन्द्रदेखि प्रदेशसम्म सत्ता साझेदारीको प्रस्तावसमेत गरेका थिए । त्यसैले प्रचण्ड र देउवाबीच अहिले भएको वार्तालाई चासोका साथ हेरिएको छ ।

नेकपा अध्यक्ष प्रचण्डले नयाँ सरकार गठनका लागि राष्ट्रिय सहमतिका साथ अघि बढ्ने अभिव्यक्ति दिएका छन् । नेपाली कांग्रेस, जनता समाजवादी पार्टीलगायतसँग छलफल गरी समझदारीका साथ अघि बढ्ने प्रचण्डको भनाइ छ ।

प्रचण्डले बीबीसी नेपाली सेवासँग भनेका छन्, ‘राष्ट्रिय सहमति बनाउनेतिर मेरो जोड हुन्छ । राष्ट्रिय सहमतिबाट अगाडि नगइकन यो देशले शान्ति, स्थीरता र प्रगति नपाउने देखिइसक्यो । सबै राजनीतिक दलहरुको सहमतिबाट जे हुन्छ, त्यही हुन्छ ।’ उनले आफूले भने प्रधानमन्त्रीमा दाबी नगर्ने बताए ।

चितवनबाट आज काठमाडौं फर्किएलगत्तै दलहरुसँग राष्ट्रिय सहमति बनाउनका लागि छलफल चलाउने प्रचण्डको भनाइ छ । नेकपाको अर्को खेमाको नेतृत्व गरेका कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओलीसँगसमेत छलफल गर्ने प्रचण्डले बताए । यद्यपि ओलीसँग पार्टी एकता भने नहुने प्रचण्डको भनाइ छ ।