Saturday 18th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

ओलीले फाल्लान् हिन्दुराष्ट्रको कार्ड ?

Monday, February 1, 2021 National Power

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले पशुपतिनाथमा संकल्प पूजा गरेपछि राजनीतिक तरंग आएको छ । गत हप्ताको सोमबार पशुपतिनाथको पूजा गरेका ओलीले चितवन पुगेर अयोध्यापुरीमा राम मन्दिर बनाउने घोषणा गरेर फर्किए । यसबीच उनी अध्यात्मिक विषयमा केन्द्रित रहेर अभिव्यक्ति दिइरहेछन् ।
ओलीले प्रतिनिधि सभा विघटन गराएपछि धर्मको विषयमा निरन्तर बोल्दै आएका छन् । यसले धर्मनीरपेक्ष जोखिममा परेको विषय उठ्न थालेको छ । आइतबार माइतीघर मण्डलाको विरोध कार्यक्रममा नेकपा प्रचण्ड नेपाल पक्षका नेता सुरेन्द्र पाण्डेले ओली हिन्दुराष्ट्र घोषणा गर्नेतर्फ लागेको अनुमान गरे । प्रचण्डले ओली धर्मनीरपेक्ष विरोधी भएको टिप्पणी गरिसकेका छन् ।

प्रधानमन्त्री ओलीको पछिल्ला गतिविधिहरु धर्मसँग जोडिएको देखिदैछ । उनले हिन्दु राष्ट्रको अस्त्र प्रयोग गर्न लागेको हुनसक्ने अनुमान हुनु स्वाभाविक पनि हो । पछिल्लो समय ओलीलाई राजावादीको समर्थन बढेर गएको छ । कमल थापासँग उनले १६ माघमा महत्वपूर्ण भेटवार्ता गरेका छन् । हिन्दुवादी र राजावादीले ओलीको कदमको खुलेर समर्थन गर्दै आएका छन् । यसलाई अर्थपूर्ण मान्नुपर्छ ।

२३ माघमा नेकपाको ओली पक्षले आयोजना गर्न लागेको सभामा विशेष घोषणा हुने शिक्षामन्त्री कृष्ण गोपालले बताइसकेका छन् । उक्त दिने ओलीले विशेष घोषणा गर्ने भएकाले ऐतिहासिक घटनाको अवसर गुमाउनुपर्ने हुनसक्ने समेत बताए ।

ओलीले हिन्दुराष्ट्रको मुद्दा उठाउनसक्ने अनुमान हुन थालेपछि नेपालस्थित पश्चिमा नियोगका अधिकारीहरुको सक्रियता बढेको छ । अमेरिकी राजदूत रेण्डी डब्लु बेरीले प्रचण्ड र माधवकुमार नेपाललाई भेटेका छन् । पश्चिमा राष्ट्रहरु धर्मनीरपेक्षको पक्षमा छन् ।

भारतको सत्तारुढ भारतीय जनता पार्टीले नेपाललाई हिन्दुराष्ट्र बनाउन चाहेको विगत देखि नै उठ्दै आएको थियो । नेताहरुसँगको अनौपचारिक भेटमा यो विषय भाजपा नेताहरुले उठाउने गर्थे । अहिले ओलीले यो विषय उठाउने संकेतहरु गर्नुलाई अर्थपूर्ण मानिएको छ ।

भारतको सत्तापक्षको साथ पाउन र नेपालभित्रको जनमतलाई आफ्नो पक्षमा ढाल्न पनि ओलीले हिन्दु राष्ट्रको अस्त्र फाल्न सक्ने सम्भावना बलियो बन्दै गएको छ ।