Wednesday 15th April 2026

    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक 

नेपाल–चीन सीमा विवाद :५८ वर्षपछि भेटियो ११ नम्बर पिलर

Thursday, September 24, 2020 National Power

सुर्खेत – उत्तरी छिमेकी मुलुक चीन र नेपाल बीचको सिमानामा राखेको ११ नम्बरको सीमास्तम्भ ५८ वर्षपछि फेला परेको छ । हुम्लाका प्रमुख जिल्ला अधिकारी चिरिञ्जिवी गिरी नेतृत्वको टोलीले बुधबार उक्त सीमास्तभ फेला पारेको हो ।

सीमास्तम्भ नाम्खा गाउँपालिका ६ टाकुलेमा भेटिएको जिल्लाका सुरक्षा अधिकारीलाई उद्धृत गर्दै नाम्खा गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर तामाङले जानकारी दिए । उनका अनुसार ११ नम्बर सीमास्तम्भ सीमा प्रहरी चौकी, हिल्साभन्दा माथि करिब ५२ सय मिटर उचाइमा भेटिएको छ ।

सीमास्तम्भ भेटिए पनि चीनले बनाएका भवन कसको भूभागमा पर्छ भन्ने अझै यकिन हुन नसकेको नाम्खा गाउँपालिका अध्यक्ष विष्णुबहादुर तामाङ बताउँछन्
‘प्रमुख जिल्ला अधिकारीसहितको सुरक्षाकर्मीको टोलीसँग मेरो कुरा भएको छ,’ गाउँपालिका अध्यक्ष तामाङले  भने, ‘टाकुले लेकको खोचमा हिउँसँगै दबेर रहेको ढुंगाजस्तो बस्तु देखेपछि सुरक्षाकर्मीले माटो र हिउँ पन्छाएर हेर्दा ११ नम्बर सीमास्तम्भ रहेछ ।’

नाम्खा गाउँपालिका–६ लाप्चाको लोलुङजोङ क्षेत्रमा चीनले निर्माण गरेका भवनको विषयमा हुम्लाका प्रमुख जिल्ला अधिकारी चिरिञ्जिवी गिरी नेतृत्वको टोली स्थलगत अध्ययन गर्न गएको थियो । लोलुङजोङमा चिनियाँ अधिकारीसँगको वार्ता सफल नभएपछि प्रजिअ गिरी नेतृत्वको टोली त्यहाँबाट हिल्सा गएको थियो ।

११ नम्बर सीमास्तम्भ हराएकाले नेपाल र चीनसँगको सिमाना पटक–पटक विवाद हुने गरेको थियो । सुरक्षाकर्मीको टोलीले त्यसको खोजीलाई अन्तिम लक्ष्य मान्दै नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका सुरक्षाकर्मीलाई सिमानामा दुई टोली बनाएर खटाएको थियो ।

सुरक्षाकर्मी र केही स्थानीयहरुको अथक प्रयासमा तीन दिनको खोजबिनले हराएको पिल्लर फेला परेको अध्यक्ष तामाङले बताए । प्रमुख जिल्ला अधिकारीसहितको सुरक्षाकर्मीको टोली अझै सीमा क्षेत्रबाट फर्किएको छैन । सीमास्तम्भ भेटिए पनि चीनले निर्माण गरेका सीमा क्षेत्रका भवन कसको भूभागमा पर्छ भन्ने अझै यकिन हुन नसकेको अध्यक्ष तामाङ बताउँछन् ।

‘सीमास्तम्भ त भेटिएको छ । तर चीनले भवन बनाएको भूभाग कसको हो भन्ने अझै यकिन हुन सकेको छैन,’ अध्यक्ष तामाङले भने, ‘तर अव बर्षौंदेखिको विवाद भने सुल्झिने हामीले अपेक्षा गरेका छौं ।’

चीनले नेपाली भूमिमा भवनहरु बनाएको समाचार सार्वजनिक भएलगत्तै नेपाल सरकार र काठमाडौंस्थित चिनियाँ दूतावास दुवैले चीनले नेपाली भूमि अतिक्रमण नगरेको प्रष्टीकरण दिएका छन् ।

अनलाईन खबरबाट साभार