Monday 27th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

बन्यजन्तुको छाला सहित एक युवक पक्राउ

Wednesday, September 23, 2020 National Power

पोखरा –  कास्कीको पोखरा महानगरपालिका–३१ बनपोखरीबाट अवैध बाघको छाला, सालकको खपेटा र आखेटोपहारसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङ गल्छी गाउँपालिका–४ घर भएका २८ वर्षीय सन्तोष लामिछाने रहेका छन् ।

वन्यजन्तुको आखेटोपहार अवैध रुपमा ओसारपोसार तथा कारोवार हुँदैछ भन्ने गोप्य सूचनाको आधारमा लामिछानेलाई जिल्ला प्रहरी कार्यालय कास्की र इलाका प्रहरी कार्यालय शिसुवाको संयुक्त टोलीले पक्राउ गरेको हो ।

शिसुवाबाट बनपोखरीतर्फ जाँदै गरेको प्रदेश नं। ३–०२–०११ प ७८०६ नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा पछाडी जेब्रा झोलामा लुकाईछिपाई ल्याएको अवैध वन्यजन्तुको आखेटोपहारसहित लामिछाने पक्राउ परेको कास्कीका एसपी जीवन श्रेष्ठले बताए ।

अनलाइन सर्भिसको काम गर्दै आएका लामिछानेको साथबाट अवैध बाघको छाला १ थान, सालकको खपेटा १ थान, वन्यजन्तुको जस्तो देखिने हाड, खुट्टा तथा पञ्जा गरी अन्दाजी ३ केजी ७५० ग्राम बरामद भएको एसपी श्रेष्ठले जानकारी दिए ।

लामिछाने अवैध रुपमा बाघको छाला, सालकको खपेटा र आखेटोपहार बेच्नकै लागि काठमाडौँबाट पोखरा आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको एसपी श्रेष्ठले जानकारी दिए ।

लामिछानेलाई बरामद सामानसहित थप अनुसन्धान र आवश्यक कारवाहीको लागि डिभिजन वन कार्यालय, कास्की पठाइएको एसपी श्रेष्ठले बताए ।

बाघको छालाको लम्बाई ८ फिट लामो र चौडाई ३ फिट रहेको प्रहरीले जनाएको छ । यस्तै सालकको खपेटाको लम्बाई २ फिट ५ इन्च र चौडाई ११ इन्च छ ।