नेपाल चेम्बर अफ कमर्शका उपाध्यक्ष कमलेश अग्रवालले कोभिड-१९ पश्चात ॠणको दबाबले उद्योगी व्यवसायीमा मनोबल घटेको बताउनुभएको छ । नेपाल महिला चेम्बरद्वारा आईतबार आयोजित नेपालको अर्थतन्त्रमा कोभिड-१९ को असर, चुनौती र अवसर विषयक अन्तक्रिया कार्यक्रम माझ उहाँले सो कुरा बताउनुभएको हो ।

वेमिनार कार्यक्रम माझ प्रमुख वक्ताका रुपमा प्रस्तुति दिने क्रममा उपाध्यक्ष अग्रवालले लामो समयसम्म जारी बन्दाबन्दीले नेपालको उद्योग व्यापारको क्षेत्र नराम्रोसँग प्रभावित बनेको उल्लेख गर्दै खाद्यान्न, स्वास्थ्य सामाग्री वाहेकका अन्य क्षेत्रले ठुलो घाटा व्यहोर्नु परेको बताउनुभयो । उहाँले निजी क्षेत्रले अप्ठयारो परिस्थितीको सामना गर्नु परेकोले देशको कुल गर्हास्थ उत्पादनमा ह्रास आएको बताउदै अर्थतन्त्रमा परेको विविध असर बारे चर्चा समेत गर्नुभयो ।

निजी क्षेत्र साथै अनौपचारिक अर्थतन्त्रलाई जोगाउने दायित्व सरकारको भएको कुरा राख्दै उहाँले बजेटबाट निराश बनेको निजी क्षेत्र मौद्रिक नितीबाट उत्साहित बनेको तर राहत वितरणमा ढिलाई भएको भन्दै कटाक्षसमेत गर्नुभयो । उहाँले आर्थिक पुनरुत्थानका मोडल बारे चर्चा गर्दै सरकारले निजी क्षेत्रलाई त्राण दिन चुक्न नहुने राय पेश गर्नुभयो । कार्यक्रम माझ उठेका प्रश्नहरूको जवाफ दिने क्रममा उपाध्यक्ष अग्रवालले ई कमर्श प्लेटफर्मको उपयोगीता, बीमा क्षेत्रको महत्व, कृषि क्षेत्रको सम्भावना, महिला उद्यमीलाई राज्यबाट प्राप्त हुन सक्ने सुविधा बारे भए गरेको प्रतिबद्धता र सेवा प्रवाह बारे वर्णन गर्दै विकसित परिस्थितीलाई मध्यनजर गर्दै दृढतापुर्वक अघि बढनुपर्ने जिकिर गर्नुभयो ।

कार्यक्रममा नेपाल महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठले कोभिड-१९बाट बढी जसो महिला उद्यमीहरू प्रभावित बनेको बताउदै बिना धितो पाँच लाखसम्म र व्यक्तिगत वा सामूहिकरुपमा व्यवसाय गर्न चाहेमा १५ लाख रुपैयाँसम्म परियोजना धितोमा राखेर ऋण पाउने सुविधा उपयोग कसरी गर्न सकिन्छ भन्ने बारे प्रकाश पार्दै सहुलियतपुर्ण कर्जाका लागि एकिकृत ब्याज अनुदान कार्यविधिले महिला उद्यमीलाई दिइने ऋण, धितो र ब्याज अनुदानको व्यवस्था गरेको उल्लेख गर्नुभयो । साथै, उहाँले महिला उद्यमीहरूले भोगेका समस्यालाई हल गर्न नेपाल चेम्बरको साथमा महिला उद्यमीहरू आपसी समन्वयका आधारमा अघी बढनुपर्ने बताउनुभयो । यसअघि उहाँले कार्यक्रका प्रमुख वक्ता चेम्बर उपाध्यक्ष अग्रवालको व्यक्तित्व र योगदान बारे प्रकाश पार्ने क्रममा उहाँमा आर्थिक क्षेत्रको बिषयगत ज्ञान प्रबल रहेको उल्लेख गर्दै प्रस्तुति निकै फलदायी हुने विश्वास व्यक्त गर्नुभएको थियो ।

त्यसैगरी नेपाल महिला चेम्बरकी पूर्व अध्यक्षसमेत रहनसभएकी इजरायलका लागि नेपाली राजदुत डा. अन्जन शाक्यले ईजरायलमा कोभिड-१९ले पारेको प्रभाव र नेपाल एवम् इजरायल बीचका विविध आयाम बारे प्रकाश पार्दै नेपालमा लगानी भित्र्याउन कानुन बाधक रहेको औंल्याउनु भएको थियो ।

कार्यक्रमलाई सहजीकरणसमेत गर्नुभएकी नेपाल महिला चेम्बरकी उपाध्यक्ष सुष्मा शर्माले स्वागत मन्तब्य व्यक्त गर्दै कोभिड–१९बाट व्यापारको क्षेत्रमा परेको असर, चुनौती र अनुभव आदान प्रदान कार्यक्रमले महिला उद्यमशीलताको क्षेत्रमा देखिएको समस्या समाधान गर्न धेरै हद सघाउ पुग्ने धारणा राख्नुभएको थियो ।

सो अवसरमा महिला चेम्बरकी महासचिव लिमा अधिकारीले सहभागिताका लागि सबैमा धन्यवाद ज्ञापन गर्दै महिला उद्यमशीलतामा देखिएको चुनौतीलाई सामना गर्दै अघी बढन आपसी समन्वय आवश्यक रहने बताउनुभयो । कार्यक्रममा महिला चेम्बरका सल्लाहकार त्रय शान्ती शाक्य, अन्जना ताम्राकार, निलम ताम्राकार, राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जन, नेपाल चेम्बरका महानिर्देशक कैलाशकुमार वजिमय, उपनिर्देशक सृष्टि त्रिपाठीसमेतको उपस्थिती रहेको थियो ।