Monday 20th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

मन्त्रीमण्डल पुर्नगठन बालुवाटारले अलमल्याउदै

Friday, September 18, 2020 National Power

काठमाडौं- हेर्दा हेर्दै दशैं नजिकिइसकेको छ । चाँडबाँडको बेलामा मन्त्री फेरिहाल्न नहुने तर्क हुनसक्छ । यसरी अबको एक दुई महिना कट्न सक्छ । मन्त्रिमण्डल पुर्नगठनमा बालुवाटारले यसरी नै अलमलाउने रणनीति लिन थालेको छ । आफूले मनपराएको व्यक्तिको नियुक्ति गर्नुपरे प्रधानमन्त्री केपी शर्मा ओलीले चुट्कीको भरमा गर्छन् । निवर्तमान अर्थमन्त्री डा.युवराज खटिवडालाई आर्थिक सल्लाहकार बनाउँदा क्याबिनेटका धेरै मन्त्रीले चालै पाएनन् । एकैपटक मन्त्रिपरिषदको निर्णय मङ्गलबार सार्वजनिक गर्दा पो चाल पाए ।

अर्थमा युवराजलाई नै अघोषित जिम्मा दिएर ओलीले अरुको बाटो रोकिदिएका छन् । अर्थमा बामदेव गौतम, विष्णु पौडेल र सुरेन्द्र पाण्डेको दाबी थियो । तर, युवराज आर्थिक सल्लाहकार नियुक्त हुनु भनेको उनी नै छायाँ अर्थमन्त्री हुनु हो । अब कुनै पात्रलाई अर्थराज्यमन्त्री बनाएर अर्थ मन्त्रालय युवराजबाट चलाउने रणनीति बन्न सक्छ ।

गृहमा रामबहादुर थापा बादल छन् । बामदेवको मन्त्री बन्ने चाहनामा बादल र युवराज नै बाधक भइसके । यी दुई मन्त्रालयबाहेक बामदेवको राजनीतिक उचाईलाई सुहाउँदो मन्त्रालय पनि छैन । कि त भने सभामुख भइसकेका रामचन्द्र पौडेलले गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुँदा शान्तिमन्त्री बनेको जस्तै गरी झनुपर्यो । शहरी विकासमा मन्त्री छैनन् । सञ्चारमा प्रदीप ज्ञवालीलाई लाने चर्चा छ ।

तर, प्रधानमन्त्री ओलीले मन्त्रीमण्डल पुर्नगठनमा अर्को असन्तुष्टि थपिने बुझेका छन् । बामदेवको व्यवस्थापन सजिलो छैन । उनलाई व्यवस्थापन गर्दा ईश्वर पोखरेल र बादललगायत असन्तुष्ट हुनसक्छन् । त्यो भन्दा अहिलेलाई आलटाल गर्दै मन्त्रीमण्डल पुर्नगठनको समय धकेल्दै लाने रणनीति बालुवाटारको देखिदैछ ।

बामदेवलाई सरकारमा नलाँदा आउने समस्याबारे पनि ओली जानकार छन् । हिजो बामदेवको सपथमा प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठ पुग्नु अर्थपूर्ण छ । हुनत विष्णु पौडेल र सुवासचन्द्र नेम्वाङ पति पुगे । तर, प्रचण्ड र माधव नेपालको उपस्थितिले केही सन्देश दिएको छ । बामदेवलाई चिढ्याए अब चाहिं ओलीका लागि भारी पर्न सक्ने सन्देश थियो त्यो ।