Friday 17th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

लागूऔषध कारोवारमा संलग्न एग्रोभेट सञ्चालकसहित सात पक्राउ

Sunday, September 13, 2020 National Power

झापा – प्रहरीले प्रतिबन्धित लागूऔषधसहित एकै दिन सात जनालाई पक्राउ गरेको छ । दमक नगरपालिकाबाट चार केजी गाँजासहित शनिबार इलाम, माङ्सेबुङ–६ घर भई दमकमा डेरा गरी बस्ने २६ वर्षीय अर्पण राईलाई प्रहरीले पक्राउ गरेको हो । उनलाई प्रहरीको विशेष टोलीले चार केजी २५ ग्राम गाँजासहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिए ।

त्यस्तै विर्तामोड नगरपालिकाबाट एग्रोभेट सञ्चालकलाई पनि लागु औषधसहित प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालका अनुसार विर्तामोड–३ मा सञ्चालनमा रहेको गोपाल एग्रोभेटका सञ्चालक ३० वर्षीय गोपाल गौतमलाई २२ ग्राम लागू औषध ९ब्राउनसुगर० सहित नियन्त्रणमा लिएको हो ।

त्यस्तै मेचीनगरपालिका–१३ स्थित इलाम रोडबाट आठ दशमलव पाँच ग्राम ब्राउनसुगरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मेचीनगर–१० निवासी १८ वर्षीय विशाल लिम्बू र वडा नं १२ निवासी २३ वर्षीय राजन श्रेष्ठ रहेको इलाका प्रहरी कार्यालय काँकरभिट्टाले जनाएको छ । लागू औषध कारोबारमा संलग्न उनीहरुले चलाएको मे ४ प ७७२६ नंको मोटरसाइकलसमेत प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ ।

विर्तामोड नगरपालिका–१ अदुवा खोला छेउबाट लागू औषधको कारोबार गरिरहेका तीन जनालाई शनिबार साँझ इलाका प्रहरी कार्यालय अनारमनीले पक्राउ गरेको छ । विशेष सुराकीको आधारमा प्रहरीले लागू औषध (ब्राउनसुगर) बिक्री गर्दागर्दै तीन जनालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायव उपरीक्षक रिजालले जानकारी दिए । पक्राउ पर्नेमा सन्दीप धिमाल, आकाश राई र आशिष राई रहेका छन् । उनीहरुलाई इलाका प्रहरी कार्यालय अनारमनीमा राखेर अनुसन्धान भइरहेको बताइएको छ ।

पछिल्लो समय झापामा लागू औषध कारोबार हुने गरेको सूचनाका आधारमा प्रहरीले विशेष अभियान सञ्चालन गरेको छ । सोही क्रममा प्रहरीले एकै दिन जिल्लाका विभिन्न स्थानबाट सात जनालाई पक्राउ गरेको हो ।