Thursday 22nd May 2025

    २० वटा विधामा ३५ जनालाई अवार्ड प्रदान गर्दै राष्ट्रिय संगीत अवार्ड – २०८२ सम्पन्न    कोशी प्रदेशका रमणीय स्थलमा छायांकन गरिएको प्रेमिल गीतको " तिमि मेरो प्राण हौ " सार्वजनिक    राष्ट्रिय दोहोरीगीत आइडल हुने, विजेताले नगद र मोटरसाइकल पाउने    निम अवार्ड २०२५ को सफल समापन पछि धन्यवाद तथा आभार कार्यक्रम सम्पन्न    १६ औं संस्करणको प्रिज्माडि सिने अवार्ड मनोनयनमा सार्वजनिक

आज १०७ औं वीपी जयन्ती

Wednesday, September 9, 2020 National Power

काठमाडौं- आज १०७ औं वीपी जयन्ती । नेपालका प्रथम निर्वाचित प्रधानमन्त्री तथा नेपाली काँग्रेसका संस्थापक नेता विश्वेश्वरप्रसाद कोइरालाको सम्झनामा विविध कार्यक्रम गरी वीपी जयन्ती मनाइँदैछ ।

नेपालमा राणा शासन अन्त गरी प्रजातन्त्र स्थापनामा नेतृत्वदायी भूमिका निर्वाह गरेका कोइरालाले नेपाली राजनीति र समाजलाई दुरगामी महत्वको दर्शन प्रतिपादन गरेका थिए । वीपीको समाजवाद नेपाली राजनीतिलाई नयाँ दिशा दिने कोसेढुंगा हो । तर, उनकै दल नेपाली काँग्रेसले वीपीको आदर्श भुलेको विषय उठ्ने गरेको छ ।

वीपी राजनीतिमा भन्दा साहित्यमा अझ छाएका थिए । उनको सुम्निमा, तीन घुम्ती जस्ता उपन्यास लोकप्रीय मात्र नभई नेपाली समाजको तस्बिर बनेका छन् । साहित्य, इतिहास देखि दर्शनशास्त्रमा समेत वीपीको विशिष्ट योगदान छ ।

‘तपाईं आफूलाई पूर्व प्रधानमन्त्री या साहित्यकार के भनुन् भन्ने चाहनुहुन्छ रु’ वीपी कोइरालालाई सोधिएको प्रश्न थियो त्यो ।

‘रानी भिक्टोरियाको सिक्का बेलायतको म्युजियमा सिमित हुँदा शेक्सपियरका पुस्तक घर घरमा भइरहनेछ,’ वीपीले सटिक जवाफ दिए ।

वीपीको आशय थियो उनी आफूलाई साहित्यकार भन्दा गर्व गर्थे । शक्ति, पद र पैसा क्षणिक थियो भन्ने वीपीको बुझाई थियो । त्यसैले उनले जनताको हृदयमा बास गर्ने गरी जीवन्त पात्रहरु समेटेर कृतिहरु लेखे ।

वीपीले साहित्यलाई सामान्य र सजिलो विषय मानेका छैनन् । जेलको चारपर्खालभित्र कठोर जीवन बिताउँदा निस्केको पीडाको सुस्केका ठान्थे साहित्यलाई । जीवन र मृत्युको लागि छटपटाहट हुँदाको व्यथा थियो साहित्य ।

वीपीले साहित्यमा समाजको तस्वीर मात्र उतारेनन् मानिसको मनलाई पनि उतारे । मनोवैज्ञानिक कथा र उपन्यासले युगको भाषा मात्र बोलेन । ढोंगीहरुबारे खुलस्त पारे ।

कर्नेलको घोडामा अधवैशे कर्नेलको फूर्ति कर्नेलनीले घोडाबाट झर्दा उतारिदिइन् । अनमेल विवाहको परिणाम मात्र नभई पैसा र पावरको बलमा कम उमेरकी युवती विवाह गर्ने तत्कालिन समाजका उमेर काटेका संभ्रान्तहरुको अभ्यासप्रति व्यङ्ग्य गरेका छन् ।

सुम्निमामा वीपीले शरीर र मनबीचको सम्बन्ध र द्वन्द्वलाई दुई विपरित समुदायका पात्र खडा गरेर प्रस्तुत गरेका छन् । मानिसले यौन इच्छालाई जर्बजस्ती नियन्त्रणमा राख्दाको परिणामलाई उतारेका छन् । सुम्निमाको तन ब्राम्हण पतितिर र मन भिल्ल युवकतिर भएको विषयले मान्छे कसरी यौनबाट निर्देशित भइरहेको हुन्छ भन्ने सिग्मन्ड फ्रायडको सिद्धान्तलाई साहित्यमा लागू गरेका छन् ।

वीपीमा भूगोल, समाज र इतिहासको गहिरो जानकारी थियो । आफूले देखेको र भोगेको विषयलाई जसरी साहित्यमा उतारे त्यसले नेपाली समाजलाई आफ्नो विगत, वर्तमान र भविष्यबारे बुझ्ने ग्रन्थ मिल्यो । कोशीको भंगालो देखि चराहरु मानिससँग बोल्ने काल्पनिक युगसम्म उतारेका छन् । समाजको विगत र वर्तमानको अभ्यास मात्र नभई सयौं वर्ष पुरानो अभ्यासबारे दुरदर्शिता व्यक्त गरेका छन् ।

वीपीको कृति नेपाली समाजको विगतलाई हेर्ने भिडियो र तस्वीर मात्र नभई भविष्यको प्रक्षेपणबारे अनुमान लगाउन सक्ने मार्ग बनेको छ । घटना र परिघटनाले मानिसलाई बनाउने र बिगार्ने गर्छ । कसैलाई दिइएको श्राप कहिलेकाहीं उसैका लागि वरदान बन्छ ।

वीपी जेल नपर्दो हुन् त नेपाली साहित्यले कालजयी र अमूल्य कृति पाउँदैनथियो होला । वीपीको जेलजीवनले नेपाली राजनीतिले के पायो के गुमायो अध्ययनको विषय बन्दै आएको छ । तर, उनको जेल जीवनले नेपाली भाषा, समाज र साहित्यले महान् कृतिहरु पायो । जुन कृतिले भावी पुस्तालाई इतिहासप्रति उत्साही हुन सिकाएको छ । इतिहासबाट सिकेर अगाडि बढ्न प्रोत्साहित गरेको छ । सुन्दर भविष्यप्रति आशा जगाएको छ ।

वीपी भन्थे—मानिस ठूलो बन्न सजिलो छ, असल बन्न सजिलो छ । असल बन्नु आफैमा संघर्ष हो । जीवनमा लोकप्रीयताको भारी बोक्न रुचाएनन् । न त पुरस्कार र सम्मानको तक्मा थाम्न चाहे । वीपीको छातिमा कसैको निगाहाको तक्मा झुण्डिएन । पूर्व प्रधानमन्त्रीका रुपमा या राजनीतिज्ञका रुपमा उनलाई युग नायकका रुपमा देखाएर राजनीतिक लाभ लिन खोज्नेहरु आउने जाने क्रम चलिरहेको छ । तर, वीपी झन् झन् सार्थक र सान्दर्भिक बन्दै गएका छन् ।

वीपीको राजनीतिक विचार हाम्रो पनि हो भनेर कुनै बेला उनलाई फाँसी दिनुपर्छ भन्नेका चेलाहरुले दाबी गर्न थालिसके । यसैमा वीपीको विचारको प्रभाव र सान्दर्भिकता बुझ्न सकिन्छ । तैपनि, वीपीले आफूलाई राजनीतिज्ञका रुपमा चिनाउन नचाहेको देखिन्छ । वीपीको राजनीतिक विचार एउटा युगसम्म सान्दर्भिक होला तर उनको साहित्यिक सुगन्ध युग युगसम्म फैलिइरहनेछ ।

वीपीको कालजयी कृतिले जीवन र जगतसँग प्रत्यक्ष जोडिएको यौनलाई सभ्य ढंगले प्रस्तुत गरेको छ । यौन र मनोविज्ञानमार्फत् समाजको यथार्थ तस्वीर उतार्न सक्नु वीपीको साहित्यको सौन्दर्य हो । त्यसैले वीपीका कृति घर घरमा पुगेका छन् । उनका तस्वीर मानिसका मन मनमा टाँसिएका छन् । उनीभन्दा पछिका राजाहरुको सिक्का म्युजियममा सिमित भए तर वीपीका कृति मानिसका घर घरमा छन् ।