Tuesday 13th May 2025

    २० वटा विधामा ३५ जनालाई अवार्ड प्रदान गर्दै राष्ट्रिय संगीत अवार्ड – २०८२ सम्पन्न    कोशी प्रदेशका रमणीय स्थलमा छायांकन गरिएको प्रेमिल गीतको " तिमि मेरो प्राण हौ " सार्वजनिक    राष्ट्रिय दोहोरीगीत आइडल हुने, विजेताले नगद र मोटरसाइकल पाउने    निम अवार्ड २०२५ को सफल समापन पछि धन्यवाद तथा आभार कार्यक्रम सम्पन्न    १६ औं संस्करणको प्रिज्माडि सिने अवार्ड मनोनयनमा सार्वजनिक

कोरोना जितेका ‘हाइप्रोफाइल’ को यस्तो सुझाव

Monday, September 7, 2020 National Power

काठमाडौं- कोरोना भाइरस संक्रमण जितेकाले इच्छाशक्ति र आत्मबल बलियो भए कोरोनामुक्त हुन सकिने बताएका छन् । संक्रमण जितेकाले आत्मबल बलियो बनाउनुपर्ने तर सतर्क रहन सुझाव दिएका छन् । आफूहरू संक्रमण भएको बेला नआत्तिएको तर दृढ आत्मविश्वास कायम गरेर बसेको अनुभव साटेका छन् ।

संवैधानिक निकायका प्रमुखदेखि सांसदसम्मलाई कोरोना संक्रमण देखिएको छ । यस्तै, न्यायाधीशदेखि, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी पत्रकारसम्मलाई कोरोना संक्रमण भएको छ ।

सांसद प्रदीप यादवले कोरोना संक्रमण भइहाले इच्छाशक्ति र आत्मबल बलियो बनाउन सके केही नहुने बताए । उनले भने, ‘इच्छाशक्ति बलियो बनाउने हो भने कोरोना परास्त गरिन्छ । सबैभन्दा ठूलो कुरा आत्मबल बलियो बनाउनुपर्छ । चिकित्सकको सल्लाह सुझावलाई मनन गर्नुपर्छ ।’

उनले संक्रमण हुन नदिन स्वयं व्यक्ति सचेत हुनुपर्ने बताए । सांसद यादव १२ दिन आइसोलेसनमा बसेका थिए ।

विराट मेडिकल कलेजका सञ्चालक चिकित्सक डा. ज्ञानेन्द्रमानसिंह कार्कीले कोरोनासँगै बाँचेर हिँड्नुपर्ने बताए । डा. कार्की ११ दिन आइसोलेसनमा बसेका थिए ।

सांसद यज्ञबहादुर बोगटीले आफू संक्रमित भए पनि संक्रमण भएको कुनै अनुभूति नभएको बताए । उनले भने, ‘तातोपानी, गुर्जोको रस र बेसारपानी खाएर कोरोना भगाएँ । कोरोना भइहाले डराउनुपर्ने र आत्तिहाल्नुपर्ने अवस्था रहिरहन्छ भन्ने महसुस गरें ।’ रिपोर्ट नेगेटिभ आए पनि उनी आइसोलेसनमा छन् ।

उद्योगपति विनोद चौधरीले १० दिनसम्म एकान्तवासमा बसेको बताए । उनले ट्वीट गर्दै भनेका छन्, ‘तपाईंहरूको उत्कृष्ट माया र प्रेरणाले मलाई १० दिनसम्मको एकान्तवासमा ठूलो ऊर्जा दियो । त्यही ऊर्जाकै कारण म कोरोना संक्रमणबाट मुक्त भएको छु ।’